लाइन काटिएपछि हिमाल आइरनले किस्ताबन्दीमा बुझायो महसुल, प्राधिकरणको बक्याैता तिर्न आएनन् २२ ठूला उद्योग – Nepal Press

लाइन काटिएपछि हिमाल आइरनले किस्ताबन्दीमा बुझायो महसुल, प्राधिकरणको बक्याैता तिर्न आएनन् २२ ठूला उद्योग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काट्न थालेपछि बक्यौता रहेका केही उद्योगले बाँकी महसुल तिर्न सुरु गरेका छन् । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत प्रयोग गरेर महसुल तिर्न बाँकी २३ वटा उद्योगको लाइन काटेको थियाे ।

जसमध्ये हिमाल आइरनले ८ करोड १२ लाख बक्यौतामध्ये २७ लाख १० हजार रुपैयाँ महसुल भुक्तानी गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार लाइन नकाटिए पनि बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुले पनि महसुल बुझाउन आएको बताए ।

प्राधिकरणका अनुसार रोल्पा सिमेन्टले आज ५० किस्ता गरेर बाँकी बक्यौता तिर्ने भनेर निवेदन दिएको छ । ‘आज लाइन नकाटिएको रोल्पा सिमेन्टले ५० किस्तामा बक्यौता तिर्छु भनेर निवेदन दिएको छ’, निर्देशनालय प्रमुख सिलवालले नेपाल प्रेससँग भने, ‘उसले करिब ५ करोड बक्यौता तिर्न बाँकी छ ।’

प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले ६० किस्तासम्म गरेर पैसा तिर्ने सुविधा दिने निर्णय गरेको थियो ।

विद्युत प्राधिकरणले ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको २४ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको दाबी गर्दै आएको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका २३ वटा उद्योगको लाइन काटेको छ ।

लाइन काटेकोमध्ये हिमाल आइरनबाहेक २२ वटा उद्योगले भने बक्यौता बुझाउने कुनै सुरसार गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर