आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने – Nepal Press

आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही । बुटवल–पोखरा सडक खण्डमा रहेको सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन । सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर