जिल्ला अदालतको फैसलामा सन्दीपकाे असन्तुष्टि, उच्चमा पुनरावेदन गर्ने – Nepal Press

जिल्ला अदालतको फैसलामा सन्दीपकाे असन्तुष्टि, उच्चमा पुनरावेदन गर्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । बलात्कार मुद्दामा अदालतले हिजो उनलाई दोषी ठहर गरेको थियो ।

फैसलाबाट सन्दीप स्तब्ध बनेको पारिवारिक स्रोतले बताएको छ । उच्च अदालतले फैसला सच्याउने उनले आशा राखेका छन् ।

पारिवारिक स्रोतले फैसला अप्रत्याशित र अस्वभाविक रहेको प्रतिक्रिया दियो । सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् ।

`न्यायालयको हामी सम्मान गर्छौं तर फैसला चित्तबुझ्दो छैन,´ सन्दीपका एक कानून व्यवसायीले भने, `माथिल्लो अदालतबाट न्याय पाउने आशा छ ।´

सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको उनको भनाइ छ ।

`पूर्णपाठ प्राप्त हुनासाथ पुनरावेदनको प्रक्रियामा जाने तयारी भएको छ ।´ उनले भने ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्छन् । उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्दैन ।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानून व्यवसायीले बताएका छन् ।

सिसिटिभी फुटेज र मेडिकल रिपोर्ट समेतका आधारमा जिल्ला अदालतका न्यायाधीशले गौशाला २६ को आर्थिक नाजुक अवस्थाको फाइदा उठाएको आधारमा दोषी ठहर गरेकाले उच्चले यसको थप व्याख्या गर्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *