माटोमा प्राङ्गारिक पदार्थको कमी, किसानलाई माटो सुधार गर्न विज्ञको सुझाव – Nepal Press

माटोमा प्राङ्गारिक पदार्थको कमी, किसानलाई माटो सुधार गर्न विज्ञको सुझाव

रुपन्देही । रुपन्देही र पाल्पा जिल्लाको माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम हुँदै गएको परीक्षणबाट भेटिएको छ ।

व्यावसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परीक्षण गर्दा प्राङ्गारिक पदार्थको मात्रा ज्यादै न्यून भएकाले अबको कृषि खेतीका लागि चुनौती थपिएको हो ।

पाल्पा तिनाउका पीताम्बर गाहा र रुपन्देही सैनामैनाका रामलाल पौडेलको मुख्य पेशा कृषि हो । बाउ बाजेको पेशा अङ्गालेका गाहा र पौडेल कृषिमा लागेको लामै समय भयो ।

कृषिबाट जीविका चलाउँदै आएका उनीहरूले कृषिमा निर्भर भएका उनीहरूले अहिले माटो परीक्षण गरेर कृषिमा भविष्य खोजेका छन् ।

आफूहरूले खेती गर्दै आएको माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून र अम्लीयपन बढी भेटिएपछि उनीहरूले माटोलाई सुधार गरेर खेतीपाती गर्ने अठोट गरेका छन् । गाहा र पौडेलजस्ता धेरै किसानले माटो परीक्षण गराएपछि त्यहाँको वास्तविकता खुलेको हो ।

उनीहरू सबैको खेतबारीको माटो परीक्षण गर्दा प्राङ्गारिक पदार्थको मात्रा न्यून र अम्लीयपन बढी भेटिएपछि माटो सुधार गरेर कृषि पेशालाई थप व्यवस्थित गर्ने योजना बनाएका छन् । माटोमा प्राङ्गारिक पदार्थको मात्रा वृद्धि गर्नको लागि एकीकृत कृषि पद्धति अवलम्बन प्राविधिक टोलीले किसानहरूलाई सुझाव दिएको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेबाट खटिएको प्राविधिक टोलीले गरेको माटोको नमुना परीक्षणमा माटोमा प्राङ्गारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो । किसानलाई माटो सुधार गरेर खेती प्रणाली अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

बुटवलमा रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८० मा कृषि विकास निर्देशनालय बुटवल र माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा गरिएको निःशुल्क माटो परीक्षण शिविरमा ती जिल्लाबाट ल्याएका अधिकांश नमुनामा माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको हो ।

माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेका प्राविधिक तिलक केसीका अनुसार नमुना परीक्षणमा रुपन्देहीका विभिन्न स्थान तथा पाल्पाबाट समेत किसानले आफ्नो खेतबारीको माटोको नमुना संकलन गरी ल्याएका थिए । ती नमुना जाँच गर्दा माटोमा अम्लीय र क्षारीयको जाँच गर्दा न्युट्रलको मात्रा पाइए पनि अधिकांशमा पनि अम्लीय माटो पाइएको हो ।

यस्तै माटोमा पाइने खाद्य तत्त्व, पोषक तत्त्वको जाँच गर्दा प्राङ्गारिक मात्रा ज्यादै कम भएको प्राविधिक केसीले जानकारी दिए । उनले भने, ‘अधिकांश नमुनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ, माटो सुधार गर्न प्राङ्गारिक पदार्थ बढाउन जरुरी रहेको छ ।’

परीक्षण गरिएका अधिकांश नमुनामा नाइट्रोजनको मात्रा पनि धेरै कम पाइएको छ । यस्तै फस्फोरसको मात्रा पनि कम पाइएको छ भने पोटासको मात्रा भने मध्यम रहेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेबाट ४ जना प्राविधिकसहितको ५ जनाको टोलीले बुटवलमा निःशुल्क माटो परीक्षण गरेका हुन् ।

माटोमा प्राङ्गारिक पदार्थको मात्रा वृद्धि गर्नको लागि एकीकृत कृषि पद्धति अवलम्बन गर्नमा जोड दिनुपर्दछ । यस अन्तर्गत दिगो माटो व्यवस्थापनको विज्ञहरूका अनुसार माटो सुधार गर्न कार्यक्रमहरूलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउनु पर्दछ ।

विगतमा विभिन्न जिल्लाहरूमा कार्यान्वयन भएका दिगो माटो माटो विज्ञ अश्विनीकुमार शर्माका अनुसार यस्तो समस्या कम गर्न घरघरमा गोठेमल, कम्पोष्ट बनाउनसाथै पशु मूत्र संकलन र प्रयोगमा जोड दिनुपर्दछ ।

दीर्घकालीन रूपमा प्राङ्गारिक पदार्थ बढाउने कृषि पद्धतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, बालीको जमिनमुनिको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवर्द्धन गर्नुपर्ने उनी बताउँछन् । व्यवस्थापनको कार्यक्रमको सिकाइहरूलाई र राम्रा अभ्यासहरूलाई देशव्यापी रूपमा सम्प्रेषण गर्नुपर्दछ ।

प्राङ्गारिक पदार्थले माटोलाई मलिलो र फरफराउँदो बनाउँदछ । साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहजरूपमा बिरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । त्यसैले प्राङ्गारिक पदार्थले कृषि उत्पादनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ ।

पानीको अभावले गर्दा माटो सुख्खा, कडा हुनुको साथै माटोको उत्पादकत्व पनि ह्रास हुँदै गइरहेको छ । पानी सोस्ने र पानीलाई प्रतिधारण गर्ने क्षमता पनि प्राङ्गारिक पदार्थमा निर्भर गर्दछ । प्राङ्गारिक पदार्थको राम्रो भएको माटोको पानी प्रतिधारण गर्ने क्षमता पनि निकै बढी हुन्छ ।

साथै माटोले जैविक कार्बनको ठूलो अंश भण्डार गर्न सक्ने क्षमता राख्दछ । कृषि क्षेत्र मात्र एक यस्तो क्षेत्र हो । जसमा दिगो कृषि विकास र माटो व्यवस्थापनका अभ्यासहरूले हरित गृह उत्सर्जनमा कमी र जैविक कार्बन व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ ।

बुटवलमा भएको एक्स्पोमा प्रदेशका सबै जिल्लाका किसान आउने अपेक्षा गरिए पनि आउन सकेनन् । ६ दिन गरिएको माटो परीक्षणमा जम्मा ५३० जना किसानले ल्याएको माटो परीक्षण गरिएको र अधिकांशमा समस्या देखिएकाले अब त्यसको विकल्प खोज्नुपर्ने विषय आएको कृषि उपसमिति सदस्य बाबुराम खनाल बताउँछन् ।

अब माटो परीक्षणदेखि कृषि उत्पादन र कृषि सामग्रीलाई प्राथमिकता दिन किसानले आग्रह गरेकाले पनि नियामक निकायले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर