पर्यटन व्यवसायीद्वारा नेपाली आकाशलाई कालो सूचीबाट हटाउन माग – Nepal Press

पर्यटन व्यवसायीद्वारा नेपाली आकाशलाई कालो सूचीबाट हटाउन माग

रुपन्देही । पर्यटन व्यवसायीहरूले नेपाली आकाशलाई कालोसूचीबाट हटाउन माग गरेका छन् । ठूला होटेल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानको कालोसूचीमा राखेकाले विदेशी पर्यटकमा नकारात्मक असर परेकाले त्यसलाई तत्काल हटाउन पहल गर्न पनि एशोसिएसनले माग गरेको छ ।

कोरोना महामारीयता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटेल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्नेलगायत माग राख्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।

आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने गाडीमा पनि भन्सार छुट दिन, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा यथाशीघ्र सञ्चालन गर्न पनि एशोसिएसनले माग गरेको छ ।

हवाई टिकट दर नेपाली सरह हुनुपर्ने,एशोसिएसनले भारतसँग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरू परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती बेहोर्नुपरेकाले ती कार्यालयहरूलाई आधुनिक सुविधायुक्त र पर्यटकमैत्री बनाउन माग गरेको छ ।

भारतीय र विदेशी पर्यटकलाई निश्चित रकम मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी मुद्रा आर्जन गर्न नसकेकाले पर्यटकले चाहे जति रकम ल्याउन दिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

भारतीय पर्यटकका सवारी साधनलाई सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी कम्तीमा चुरेको फेदीसम्म आउन दिनुपर्ने र सडकमा प्रहरीबाट अनावश्यक चेकजाँच नगरी सम्मानजनक व्यवहार गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

विदेशी पर्यटक बसजस्तै आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने पर्यटक गाडी खरिदमा भन्सार सहुलियत सुविधा दिन,बुटवल–नारायणगढ सडक निर्माणमा भएको चरम ढिलासुस्तीले रुपन्देही र आसपासका जिल्लाको होटेल व्यवसायमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यो सडक यथाशीघ्र पूरा गर्न,.पर्यटकको बसाई लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी र छिमेकी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा कनेक्टिभिटी सहज बनाउन र बजारीकरणमा सहयोग गर्न पनि एशोसिएसनले माग गरेको छ ।

यस्तै नेपालको पर्यटनको मुख्य बजार भारतको उत्तर प्रदेश, उत्तराखण्ड,बिहार लगायतका प्रदेश भएकाले त्यहाँका पर्यटक भित्राउन बजारीकरणका लागि बजेट उपलब्ध गराउन,प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउँ ठाउँमा पर्यटन सूचना केन्द्र स्थापना गर्न, होटेलमा कार्यरत कर्मचारी र कामदारको क्षमता वृद्धिका लागि एड्भान्स टुरिज्म तालिम र भारतीय तथा विदेशी पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न टुर गाइड तालिमको माग गरिएको छ ।

यस्तै रात्रिकालीन व्यवसाय सञ्चालनको नीतिगत व्यवस्था गरिदिन पनि एशोसिएसनको माग छ ।

ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री चौधरीले व्यवसायीका माग समयसापेक्ष र जायज रहेको भन्दै आफूले प्रदेश र संघीय सरकारबाट समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले आयात व्यापार भन्दा पर्यटन र कृषिबाट देशलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सकिने बताए ।

गृहमन्त्री सन्तोष पाण्डेले विभिन्न कारणले समस्यामा परेका व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउनु र व्यवसायीमैत्री वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए ।

एशोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले तीनै तहका सरकारले नेपालको समृद्धिको एउटा मुख्य आधार पर्यटन हो भन्दै आए पनि खरबौँ लगानी र हजारौँलाई रोजगारी दिएको होटेल व्यवसायलाई उद्योगको मान्यता नदिँदा विद्युत् महसुल र भन्सारमा छुट पाउन नसक्दा व्यवसायीले राहत महसुस गर्न नसकेको गुनासो गरे ।

एशोसिएसनका उपाध्यक्ष दिलीप गौचनले भारतीय पर्यटकलाई सरकारले प्राथमिकता दिन र सम्मान गर्न नसकेको औँल्याए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा एशोसिसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी,कार्यसमिति सदस्यहरू टेकनाथ बस्याल,लक्ष्मण भण्डारी लगायतले समस्या समाधान नभए विभागीय मन्त्रालय र सम्बन्धित कार्यालयहरूमा अनिश्चितकालीन धर्ना बस्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर