बीपीका तत्कालीन उपकुलपति दासको मुद्दा फैसला गर्ने बेला झिकाइयो उजुरी तामेली निर्णय – Nepal Press

बीपीका तत्कालीन उपकुलपति दासको मुद्दा फैसला गर्ने बेला झिकाइयो उजुरी तामेली निर्णय

काठमाडौं। विशेष अदालतले बिहीबार बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्र दासमाथिकाे अंकुत सम्पत्ति आर्जन सम्बन्धि मुद्दामा फैसला गर्ने अनुमान गरिएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापासहितको इजलासमा दिँउसै बहस सकिएपनि साँझ साढे ६ बजेसम्म न्यायाधिश ‘फैसला’ लेखिरहेका थिए। यो मुद्दामा बुधबारदेखि नै बहस सुरु भएको थियो। तर इजलासले अन्त्यमा फैसला गरेन र आदेश मात्र गर्यो।

बकपत्रमा तत्कालिन उपकुलपति दासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको भनी बताएको विषयलाई टेकेर इजलासले बिहीबारको सम्भावित फैसलालाई टारेको छ।

अध्यक्ष कुँवर नेतृत्वको इजलासले दासले दावी गरेअनुसारको अख्तियारको तामेलीमा राख्ने निर्णय झिकाएर पेश गर्न आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ २४ पैसा बिगो दावी गर्दै २०७७ भदौ ३० गते विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो। यो मुद्धामा दासकी श्रीमती पुनमलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

२०५० साल असार २७ गते जुनियर रजिस्टर्ड पदबाट सार्वजनिक सेवा सुरु गरेका दासले २०७६ असार ३० गतेसम्म आर्जन गरेको सम्पत्तीका आधारमा बिगो तय गरिएको थियो। २०६८ पुस १७ गते उपकुलपति नियुक्त भएका उनी प्राध्यापक पदमा पनि कार्यरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *