सर्वोच्चका ‘श्रीमान’ विवादमा-महिलालाई ‘हनी ट्र्याप’ पारेर उच्चका न्यायाधीशविरुद्ध कीर्ते बयान (अडियोसहित) – Nepal Press

सर्वोच्चका ‘श्रीमान’ विवादमा-महिलालाई ‘हनी ट्र्याप’ पारेर उच्चका न्यायाधीशविरुद्ध कीर्ते बयान (अडियोसहित)

सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्याय परिषदका तत्कालीन प्रवक्ता मानवहादुर कार्कीले मुद्दा जिताइदिने आश्वासन दिएर उच्च अदालतका न्यायाधीश नवराज थपलियाविरुद्ध बोल्न लगाए, तर काम नभएपछि पीडित महिलाबाटै यसरी खुल्यो पोल

काठमाडौं । सर्वोच्च अदालतका एकजना बहालवाला न्यायाधीशले मुद्दा जिताइदिने भनेर झगडीयाको घरमै गई उच्च अदालतका वहालवाला न्यायाधीशविरुद्ध झूठो बयान रेकर्ड गराएको खुलासा भएको छ । मुद्दा जित्ने लोभमा झूठो बयान दिएकी ती झगडीया महिलाले आफूलाई दिइएको आश्वासन पूरा नभएपछि अदालती बयानमै सर्वोच्चका न्यायाधीशको पोल खोलेकी हुन् ।

उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियालाई जसरी पनि फसाउने योजनाअनुसार सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठले न्यायिक आचारसंहिता र मर्यादाविपरीत ती महिलाको सोह्रखुट्टेस्थित द यल्लो हाउस होटलमै गएर थपलियाविरुद्ध बोल्न लगाएको पाइएको छ ।

उनलाई यस काममा न्याय परिषदका तत्कालीन सहसचिव र हाल उच्च अदालत पाटनका रजिष्टार मानबहादुर कार्की र सर्वोच्च अदालतका आईटी अफिसर आदर्श श्रेष्ठले साथ दिएको समेत खुलेको छ । ९० को दशकका हिन्दी फिल्ममा देखिने षड्यन्त्रका अपराधिक कथालाई माथ खुवाउनेगरी तीलप्रसाद श्रेष्ठसहितको गिरोहले एक महिलालाई ‘हनी ट्र्याप’ मा पारेर उच्च अदालतका न्यायाधीशविरुद्ध नक्कली पात्रका रूपमा खडा गर्न खोजेको प्रमाणहरू भेटिएका छन् ।

सामान्यतःकुनै आकर्षक महिलाले पुरुषलाई मोहजालमा पारेर नियोजित अभिष्ठ पूरा गर्ने अर्थमा हनी ट्र्याप शब्दको प्रयोग हुने गरिन्छ । यद्यपि यसको अर्थ कुनै योजनाबद्ध षड्यन्त्रमा प्रयोग हुने व्यक्तिको रूपमा समेत यसलाई बुझिने भएकाले यो समाचारमा ती महिला न्यायाधीशको गिरोहको आकर्षक प्रस्तावमार्फत हनी ट्र्यापमा परेको हुनाले प्रयोग गरिएको हो ।

महिलालाई यसरी ‘हनी ट्र्याप’ मा पारियो

प्रिमियर फाइनान्स कम्पनीले लिलामी गरेको घरजग्गा २०६८ कात्तिकमा सकारेकी झापा स्थायी घर भई काठमाडौं पकनाजोलमा होटल व्यवसाय गर्ने महिला पदमा संग्रौलाले उच्च र सर्वोच्च अदालतबाट लिलाम बदर भई मुद्दा हारेपछि लिलामीका क्रममा आफूले लगानी गरेको पैसा फिर्ता पाउन फेरि अदालतकै ढोकामा पुगिन् ।

फाइनान्स कम्पनी र पदमाले जिल्ला अदालत र उच्चबाट मुद्दा हारेपछि घरजग्गा साबिककै ऋणीकोमा गयो भने पदमाले लिलाम सकारेबापतको रकम करिब १ करोड ६७ लाख रुपैया पाउन बाँकी थियो ।

उच्चमा तीलप्रसाद श्रेष्ठ न्यायाधीश भएकै बेला श्रेष्ठसहितको इजलासबाट उनले मुद्दा हारेकी थिइन् । न्यायाधीश तीलप्रसादले उनलाई नवराजविरुद्ध बयान दिएको खण्डमा विगतमा आफूले ‘बाध्यतामा परेर गरेको’ फैसलाको त्रुटि सच्याउन सघाउने आश्वासन दिए । जबकी यो मुद्दामा सर्वोच्चले पनि उच्चकै फैसलालाई सदर गरेको थियो ।

यसक्रममा पण्डित रुद्रनाथ अधिकारी भन्ने व्यक्तिले न्यायाधीशमार्फत मुद्दा जिताइदिने भनेर उनीसँग पटकपटक गरी २५ लाख रुपैया समेत लगेको उनले बताएकी छन् । उनको यो कुरा जिल्ला अदालत काठमाडौंमा लिखितरूपमा दर्ज भएको छ ।

यसैक्रममा एकदिन रुद्रनाथले आफूसँग घनिष्ट सम्बन्ध रहेका सर्वोच्च अदालतका आइटी अफिसर आदर्श श्रेष्ठमार्फत सर्वोच्च अदालतका न्यायाधीश,न्याय परिषदका प्रवक्तासहित तीनजना व्यक्तिलाई उनको होटलमै लगे । न्यायाधीश थिए तीलप्रसाद श्रेष्ठ जसको इजलासबाट पद्माले मुद्दा हारेकी थिइन् । उनले नचिन्ने कुरा भएन ।

न्यायाधीश श्रेष्ठले आफूले बाध्यतामा परेर मुद्दा हराउनु परेको र त्यसमा पश्चाताप रहेको भन्दै अब जिल्लाबाट मुद्दा जिताएर लिलाम सकार्दा फसेको पैसा उठाउन सघाउने भन्दै आफूलाई एउटा कुरामा सहयोग गर्न भने । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले पनि आफू न्यायाधीशलाई कारबाही गर्ने ठाउँमा रहेको भन्दै माथिबाटै मुद्दा जिताइदिने बताए ।

त्यसबापत पदमाले उच्च अदालतका न्यायाधीश नवराज थपलियाविरुद्ध बोल्नुपर्ने शर्त राखियो । मुद्दा जितेर पैसा फिर्ता हुने आशमा उनले न्यायाधीश नवराज थपलियाले मुद्दा जिताउने भनेर आफूसँग पैसा मागेको लगायत उनीहरूले जे जे भने सोहीबमोजिम रेकर्ड गरिदिइन् । यो सबै उनकै होटल यल्लो हाउसमा २०७९ असोज महिनामा भएको थियो ।

साजिसको लहरो

सत्ता गठबन्धनले चोलेन्द्रशमसेर जबरालाई महाअभियोग गलाएर दीपक कार्की कामु प्रधानन्यायाधीश बनेपछि उनले व्यक्तिगत रिसइबी साँध्न न्यायाधीश थपलियाविरुद्ध आफैंले उजुरी मगाएर छानबिन गर्न तीलप्रसाद श्रेष्ठको एकल समिति गठन गरेका थिए ।

यो सबै नियोजित साजिस थियो भन्ने के कुराले पनि पुष्टि हुन्छ भने, तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध संसदमा सत्ता गठबन्धनले महाअभियोग दर्ता गरेकै दिन अर्थात २०७८ फागुन १ गते नै उच्च अदालतका न्यायाधीश थपलियाविरुद्ध न्यायपरिषदमा बेनामे उजुरी दर्ता गराइएको थियो ।

हेर्नुस् बेनामे उजुरी

सो छानबिन समितिको सदस्य सचिव थिए न्याय परिषदका प्रवक्ता मानबहादुर कार्की । उनी पनि थपलियाको ‘जानी दुश्मन’ थिए । अनि यो छानबिनका क्रममा नक्कली पीडित‍ खडा गरेर ‘हनी ट्र्याप’ मा पार्ने गिरोहमा मिसिएका थिए सर्वोच्चका आईटी अफिसर आदर्श श्रेष्ठ । जो नाताले तीलप्रसादका ज्वाइँ हुन् ।

उनैले बिचौलिया रुद्रनाथमार्फत पदमा संग्रौलाको मुद्दाको समस्या थाहा पाएपछि, उनलाई प्रयोग गरेर नवराजविरुद्ध नक्कली बयान रेकर्ड गराउने तारतम्य मिलाए । न्यायाधीश श्रेष्ठ आफैं गएर पद्मालाई मुद्दा जिताइदिने भनेर नवराजविरुद्ध बोल्न लगाए । उनले अरु पनि यस्तै पात्र खडा गरेर न्यायपरिषदमा प्रतिवेदन पेश गरेका छन् ।

परिषदले प्रतिवेदन खोल्न नपाउँदै श्रेष्ठले बाहिर न्यायाधीश थपलियाविरुद्ध माहौल सिर्जना गर्न सर्बोच्च अदालत प्रशासनकै एक सहसचिवमार्फत आफ्नो जाली प्रतिवेदन चुहाएको आरोप छ । बयानका लागि खडा गरिएका पात्रहरुले आफूहरूलाई प्रलोभनमा पारेर न्यायाधीश श्रेष्ठको समूहले बयान गराएको भन्न थालेपछि उनले हतार हतार कथित प्रतिवेदन परिषदभन्दा पहिले सर्बोच्च अदालत प्रशासनकै  सहसचिवमार्फत लिक गराएको आरोप छ ।

प्रमाणका आधारमा कारवाही सिफारिस गर्नुपर्नेमा आफैं प्रमाण सिर्जना गर्दै फसाउने खेलमा लागेका न्यायाधीश श्रेष्ठको नियतमाथि कानून व्यवसायीले समेत प्रश्न उठाएका छन् । अझ उनैलाई थप तीन जिल्ला न्यायाधीशको बारे छानविन गर्ने समितिमा समेत सदस्य राखिएकोमा पनि सर्बोच्चमै असन्तुष्टि छ ।

अधिवक्ता दिपकराज जोशी भन्छन्–प्रमाण सिर्जना गरेर कारवाही गर्न भन्दा पनि प्रमाणको आधारमा कारवाही गरेको राम्रो हुन्छ । उल्लेखि ६० पात्र (पद्मा संग्रौला)ले बरिष्ठ अधिवक्ता धु्रबलाल श्रेष्ठको अभियानमा बोल्दा यस प्रकरणबारे थाहा पाएको थिएँ । सो कार्यक्रममा बोलेको भोलिपल्ट उनलाई पक्राउ गरिएको थियो,यसबाट कुरा प्रष्ट हुन्छ ।
पोल खुल्ने भएपछि यतिसम्म गरे

तीलप्रसादको समूहले आफूलाई दिएको आश्वासनबमोजिम मुद्दा नजिताएपछि ती महिलाले मानबहादुर कार्की र सर्वोच्चका आईटी अफिसर श्रेष्ठलाई फोन गरेर आफूमाथि धोका भएको भन्दै सबै कुरा पत्रकार सम्मेलनमार्फत खोलेर आत्महत्या गर्ने चेतावनी दिएको अडियो नेपाल प्रेसले प्राप्त गरेको छ ।

उक्त अडियो पद्माले काठमाडौं जिल्ला अदालतमा समेत प्रामणको रूपमा पेश गरेकी छन् ।

ती महिलालाई कार्की र श्रेष्ठले फकाउन खोज्दै अझै आदेश नआइसकेकाले नआत्तिन भनेका छन् । उनीहरुले तिलप्रसादले होटलमै गएर उनलाई आश्वासन दिएर बयान गराएको स्वीकार गरेका छन् । अडियो कुराकानीको केही अंश यस्तो छ ।

सुन्नुस् सर्वोच्च अदालतका आइटी अफिसर आदर्श श्रेष्ठ र पदमा संग्रौलबीचको फोन संवाद-

आदर्श श्रेष्ठ

दिदी गुड मर्निङ, नमस्ते

पदमा संग्रौला

गुड मर्निङ आदर्श भाइ

भाइ मेरो गुनासो छ । अस्ति हजुर, तीलप्रसाद श्रीमान् आउनु भएको, यस्तो यस्तो भनिस् भने काम गर्दिन्छौं भनेपछि अर्काको विरुद्ध बोल्देँ । मानहादुर दाइले आज आएर उसले (जिल्ला न्यायाधीश) टेरेन भने के गर्नु त ? भन्नुभयो ।

हजुर त तीलप्रसाद श्रीमानको साढुभाइ हुनुहुँदो रहेछ, हजुरकै अगाडि तीलप्रसाद श्रीमानले तिमीलाई अन्याय परेको छ । हिजो दबाबमा परेर फैसला गरेँ, अब तिमीलाई न्याय दिलाउँछु भनेपछि मैले उसको विरुद्ध (नवराज थपलिया) बोलेको हो कि होइन भाइ ? उहाँले न्याय दिलाउँछु भनेको हो कि होइन भाइ ? म हिजो झण्डै सुसाइड गरेको भाइ ।

आदर्शः मुद्दा सकिसकेको हो र दिदी ?

पद्माः सकिएको त छैन, तर पाइला पाइलामा उनीहरूले समाचार पाउँछन् । उनीहरूकै भइरहेको छ ।

आदर्शः अहिले खास के भयो दिदी ?

पद्माः उनीहरूले हिजो गएर छेके मलाई, जोडिए प्रतिवाद गर्न । खासमा मुल्तविमा राख्ने एकतर्फी हुन्छ होइन ? मैले निवेदन दिएको थिएँ । मानबहादुर कार्की दाइले म न्यायाधीशलाई भन्दिन्छु, क्षतिपूर्ति नदिएसम्म त्यही घरमा बस्न आदेश दिलाउँछु भन्नुभयो । तर, उनीहरू आएर प्रतिवाद गरे, न्यायाधीशले उनीहरूको कुरा सुने, मेरो कुरा सुनेन् भाइ ।

आखिर म यसै लुटिएँ, उसै मरेँ । हजुरालाई राम्रो थाहा छ, तीलप्रसाद श्रीमानले मेरो घरमै आए दबाब र बाध्यताले तेरोविरुद्ध फैसला गरेँ, जिल्लाबाट क्षतिपूर्तिको पहल गर्छु भनेको त हो नि ।

आदर्शः तपाईँ मेरो पनि आदरणीय दिदी हो, यस्तो कुरा गरेँ, यसरी बयान दिएँ नभन्नु । दाइ (तीलप्रसाद) ले फिल पनि गर्नुभएको छ । दाइ अहिले सर्वोच्चमा हुनुहुन्छ । खुद उहाँले भन्ने काम पनि गरिरहेको छ ।

पद्मा : मैले त्यो कुरा रेकर्ड गरेको छु भाइ । दबाबमा मलाई बोल्न लगाएको हो नि ।

आदर्शः दिदी तपाईँलाई हामीले गर्ने भनेको हो । मानबहादुर सर भनेको न्यायपरिषदको प्रवक्ता हो, उहाँभन्दा पावरफूल मान्छे कमै छन् अहिले । न्यायाधाीशलाई कारबाही गर्न ठाउँमा हुनुहुन्छ ।

पद्मा: भाइ मलाई न्याय खोइ भयो त ? तैंले यो बोलिस् भने तँलाईँ हामीले न्याय दिन्छौं भनेको रेकड छ मसँग । त्यो सुनाएर पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेर म सुसाइड गर्छु ।

आदर्शः त्यस्तो कुरा नगर्नु दिदी । यस्तो गरेर बयान दिएको भनेर तपाईँले रेकर्ड गरेको भन्न थाल्नुभयो भने उहाँहरूले पनि रेकर्ड गर्नुभएको होला, अप्ठेरो पर्ला ।

पद्माः मलाई त यसै तपाईँहरूले डुबाइदिनु भयो, न्यायाधीश अर्काको घरमा आउन मिल्छ भाइ ?

आदर्शः दिदी त्यो त हजुरको दाइलाई सोध्नुपरो नि दिदी ।

दाइहरूले लिएर गएको होइन र ?

पद्माः मलाई थाहै छैन, खाना बनाएर राख भन्नुभयो ।

आदर्श : ठीक छ दिदी भेटेको बेला जाहेर गरौंला तपाईँको कुरा ।

पद्माः भाइ मलाई कि न्याय दिलाउनुपरो, नत्र यसरी दबाबमा मलाई फलानोको विरुद्ध बोल् भनेर बोल्न लगाएर अहिले ..

आदर्शः दिदी अहिले यस्तो कुरा किन गर्दै हुनुहुन्छ ? तपाईँको लागि सहयोग गर्दै पनि हुनुहुन्छ होला । प्रक्रियामा जान होला, गर्दै होला, आफ्नै लागि सहयोग गर्छु भनेको मान्छेको बारे यस्तो बोलेपछि कसरी सहयोग गर्छ ? उसैको विरुद्ध बोल्छु भन्नुभयो भने तपाईँलाई सहयोग कसले गर्छ ? तपाईँको यस्तो कुराले आफैँलाई नोक्सान गर्छ ।

पद्माः म आत्महत्या गर्दिउँ सबैको नाम लिएर ? सबै कुरा बताएर ?

आदर्शः मानबहादुर सरलाई पनि फोन हान्नुस्, उहाँ नै हो मेन मान्छे मानबहादुर सरसँग कुरा गर्नुस् एकचोटि ।

सुन्नुहोस्- न्याय परिषदका तत्कालीन प्रवक्ता मानबहादुर कार्की र पीडित पदमा संग्रौलाबीचको टेलिफोन संवाद

पद्मा: न्यायाधीशले तीन तहमा हारेपछि घरबाट निस्कनै पर्छ भन्नुभयो । क्षतिपूर्ति कसले दिन्छ त भनेर सोध्दा सर्वोच्चले लेखिदिएन भने । मलाई चाहिँ हजुरसँग के गुनासो छ भने दाइ, मैले त्यत्रो हजुरहरूको सेवा गरेँ । तीलप्रसाद श्रीमान घरमै आएर त्यति मैले बोलेको कुराहरू (रेकर्ड) गरेर मलाई चाहिँ किन यस्तो भयो भन्नु त ।

तीलप्रसाद श्रीमान घरमा, हजुर घरमा आउनुभयो । नत्र म बोल्ने पनि थिइन नि दाइ, म मरे पनि बोल्ने थिइन । हजुरहरूले मलाई हामी गर्दिन्छौं, जिल्लामा हेर्दिन्छौं भन्नुभयो र पो मैले तपाईँहरूले भनेजस्तै गरेँ । नत्र मलाई नै अन्याय गर्नुभएको थियो तीलप्रसाद श्रीमानले मलाई मेरै घरमा आएर बोल्नुभयो मलाई साह्रै पीडा भयो दाइ आज त ।

मानबहादुर कार्कीः अँ हजुर..हामीले गर्दिउँला भनेको हो, बार्गेनिङ गरेको छैनौं नि तपाईँसँग ।

पद्माः दाइ उनीहरूले (विपक्षी) ले चाहिँ जे गरे पनि हुने । तीलप्रसाद श्रीमान्‌ले नै भनेपछि मैले बोलेँ । नबोलेको भए हुने रहेछ । मलाई तेस्ले पीडा भयो के दाइ । मलाई आश दिइयो नि त यो कुरामा ।

मानबहादुरः हामीले सक्नेजति त गरेका छौं नि तपाईँलाई ।

महिलाः तीलप्रसाद श्रीमान् विगतमा मलाई अन्याय गर्ने श्रीमान् घरमै आएर बोल भनेको हुनाले त मैले (नवराज थपलियाविरुद्ध) बोलेँ । अहिले त मलाई ब्ल्याकमेलजस्तो भइरहेको छ दाइ ।

मानबहादुरः हामीले सक्ने जति हेल्प गर्दिन्छौं भनेको छ त ।

पद्माः मैले दबाबमा आएर बोलेको नि दाइ (नवराजविरुद्ध), मलाई सेन्टिमेन्टल ब्ल्याक्मेल जस्तो भएर विष किनेर बसेको छु दाइ आज ।

मानवहादुरः तपाईँलाई हामीले ..त्यहाँ गएर भेट्नुस भनेको । …सरलाई भनेको छ हामीले ।

पद्माः म त सबैलाई भनेर मर्नुपरो नि दाइ । सबैले मलाई ब्ल्याकमेल गरे भनेर न्यापरिषदमा भएको मान्छे हजुर हो । तीलप्रसादले तिमीलाई अन्या गरेँ बाध्यतामा गएर भनेको छ । अर्कालाई (नवराज थपलिया) फसाउने मात्र खेल त होइन नि दाइ यो । म त सबै अगाडि सार्छु । पत्रकार सम्मेलनमा सबै खोल्छु । मैले न्याय पाउने रहेछु भनेरमात्र (नवराजविरुद्ध) बोलेको हो । तपाईँहरुले उसको विरुद्ध बोल भनेपछि बोलेको होइन ? तीलप्रसाद मेरो घरमा नआएको भए अर्कै बाटो लिन्थेँ नि दाइ । मेरो परेको पैसा उठ्छ भनेर पो बोलेको दाइ ।

मानबहादुरः मैले त्यहाँ भन्दा के गर्ने सक्छु ? मर्का परेको छ, हेरिदिनु भनेको हो ।

पद्माः तीलप्रसाद श्रीमान्‌ले यति बोल भनेको हो कि होइन ? हजुरको अगाडि बोल्नुभएको होइन दाइ ?

मानबहादुरः खै के के बोल्नुभयो बोल्न त । तपाईँको पैसा डुब्दैन, नआत्तिनु । त्यसरी पैसा डुब्दैन क्या । उतातिर फोन गर्नु न एकपटक ।

पद्माः मैले पनि मेरो काम हुन्छ कि भनेर तपाईँहरूले जे बोल भन्नुभयो त्यहि बोलेँ दाइ, नत्र मरे पनि बोल्ने थिइन ।

मानबहादुरः नआत्तिनु क्या नआत्तिनु । कहिले पेशी छ अब कुरा गरौंला नि । म भन्दिउँला, श्रीमानले पनि भन्नु हुन्छ । हामीले बोलाएरै भन्देको छ । आदेश नै भएको छैन किन आत्तिनु हुन्छ ? वादी प्रतिवादी दुवै पक्षको कुरा सुन्ने हुन्छ, न्यायाधीशको बोलि नै आदेश होइन नि त । न डराउनु, हामीले गरेको छ,कलिहे पेशी हुन्छ फेरि भन्नु होला नि ।

सुन्नुहोस् दुवै टेलिफोन संवादको अडियो

जिल्ला अदालतमा पोल खोलेपछि गलफत्ती

महिलाले नक्कली बयानको खुलासा गर्ने धम्की दिएपछि उनलाई उक्त गिरोहले बिचौलिया रुद्रनाथमार्फत जे पनि हुन सक्ने धम्की दिए । सोही क्रममा उनको होटलमा प्रतिवन्धित अखेटोपहार लगेर फसाइयो । उनले आफूलाई पसाउन अखेटोपहार राख्नेको भिडिओ खिचेको मोबाइल समेत प्रहरीले लगेको बयान जिल्ला अदालतमा दिएकी छन् ।

तीलप्रसादको गिरोहले नवराजविरुद्ध बयान गराइसकेपछि ती महिलालाई फसाउन अखेटोपहार राखेको पुष्टि भए पनि प्रहरीले सर्वोच्चका न्यायाधीशले भनेपछि दायाँबायाँ गर्न सकेन । जिल्ला अदालतमा ती महिलाले बयान दिने क्रममा तिलप्रसाद, मानबहादुरको नाम लिएपछि अदालतका कर्मचारी डराएका थिए ।

अखेटोपहारसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्लाका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पद्माले बयान दिने क्रममा तीलप्रसादले नवराजविरुद्ध बयान दिएमा मुद्दा जिताउने भनेर आश्वासन दिएको र आश्वासन पूरा नभएपछि आफूले उनीहरूको पोल खोल्छु भनेकाले अखेटोपहार राखेर फसाइएको बयान दिइन् ।

अदालतका कर्मचारीले उनको सो बयान लिखत गर्न मानेनन् । त्यसक्रममा ठूलै विवादसमेत भएको थियो । ती महिलाको पक्षमा कानून व्यवसायीहरू वरिष्ठ अधिवक्ता कुमार आचार्य, अधिवक्ता सोम सापकोटा, कल्पना शर्मा, कपिल ढकाल, स्वागत नेपाललगायत थिए ।

स्वागत नेपालले उनको बयानको लिखत समेत फेसबुकमा राखेर न्यायाधीशको नियतमाथि प्रश्न उठाएका छन् । त्यसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कोट गरेर ती न्यायाधीशको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

निकै गलफत्तीपछि न्यायाधीश र न्यायपरिषदका अधिकारीको नाम नराखी बयान रेकर्ड गरिएको थियो । उक्त बयानमा संग्रौलाले सर्वोच्चका बहालवाला एक न्यायाधीशले उच्च अदालतका एक न्यायाधीशविरुद्ध बोलेमा मुद्दामा हारेको घरजग्गाको पैसा उठाइदिन्छु भनेको उल्लेख गरेकी छन् ।

उनको बयानमा भनिएको छ- मैले लीलाको घरजग्गा सकारी लिएको विषयमा मउपर मुद्दा दायर भएकोमा सो मुद्दामा मेरो विपक्षमा फैसला भएको थियो । मुद्दा मामिलाको कारणबाट मलाई धेरै हैरानी र नोक्सानीसमेत भएको थियो । निज रुद्रनाथसँग मेरो दिदीको चिनजान रहेछ । …यसै क्रममा सर्वोच्चबाट समेत मैले मुद्दा हारेपछि एकदिन निजले सर्वोच्च अदालतका बहालवाला एक न्यायाधीश समेत लिएर मेरो हालटमा आएका थिए । निज न्यायाधीशले मैले कसेको दवाव र प्रभावमा परेर तपाईलाई हराउने गरी फैसला गरेकोमा मलाई खेद छ । बहालवाला उच्च अदालतका एक न्यायाधीश विरुद्ध बोल्नुहोस्,म तपाईको मुद्दमा हारेको घरजग्गाको पैसा उठाइदिन्छु भनेका थिए । त्यस्तै न्यायपरिषदको पदाधिकरी र सर्वोच्च अदालतको कर्मचारी र न्यायाधीशको आफन्त समेत मेरो घरमा आई मुद्दाको सम्बन्धमा जिल्ला अदालत र उच्च अदालतमा भनिदिएको छु भनेका थिए । सोको प्रमाण मसँग फोन वार्तालापको अडियो सुरक्षित छ । पछि मलाई सोही कुरालाई सार्वजनिक नगर्न धम्की दिँदै आउनुभएको थियो ।

ती महिलाको यो बयान सर्वोच्चका न्यायाधीशर कानून व्यवसायीहरुसम्म पुगिसकेको छ । पदीय आचरणविपरीत निकृष्ट हर्कतमा उत्रिने न्यायाधीश श्रेष्ठमाथि संसदीय छानविनको मागसहित सभामुखसमक्ष निवेदन लैजाने तयारीमा कानून व्यवसायी जुटेका छन् । श्रेष्ठ भने अनधिकृतरूपमा जाली प्रतिवेदन चुहाएर मिसन सफल बनाउन जुटेका छन् ।

के भन्छन् न्यायाधीश श्रेष्ठ ?

यसैबीच सर्वोच्च अदालतका न्यायाधीश तथा थपलियामाथि छानबिन गर्न गठित समितिका संयोजक तीलप्रसाद श्रेष्ठले प्रतिवेदनका अंश केही कानून व्यवसायी र निकट मिडियालाई वितरण गरेको बारे नेपाल प्रेसले प्रश्न गर्दा उनले प्रतिवेदन सार्वजनिक नभएको बताए ।

उनले भने, ‘प्रतिवेदन सार्वजनिक भएको छैन, परिषदमा बुझाएको कुरा हो, सार्वजनिक त कहाँ हुनु भएकै छैन नि !’

त्यसो भए तपाईँले होटलमै गएर पद्मा संग्रौलालाई नवराज थपलियाविरुद्ध बयान दिन लगाएको कुरा पनि आएको छ, त्यो चाहिँ के हो ? भन्ने प्रश्नमा उनले यतिमात्र भने-यो कुरा पछि आउला नि है, अहिले केही नभनौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर