मिटरब्याजीले पीडित कुटेपछि सिरहा प्रहरी कार्यालय अगाडि रातभर धर्ना, बिहान उजुरी दर्ता – Nepal Press

मिटरब्याजीले पीडित कुटेपछि सिरहा प्रहरी कार्यालय अगाडि रातभर धर्ना, बिहान उजुरी दर्ता

सिडिओ र सहायक सिडिओ सरुवाको माग

जनकपुरधाम । मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् ।

मिटरब्याजी निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए । घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू धर्ना बसे । उनीहरू कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी रात बिताए ।

धर्नामा मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवान पनि धर्नामा थिए । उनीहरू माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।

न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौला कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताए । उनले भने, ‘आज बिहान प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । त्यसपछि हामी धर्ना स्थगित गरेका छौँ ।’

निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।

निरौला छुटेपछि पीडितहरूलाई धाक धम्की दिएर प्रताडित गरेको संघर्ष समितिका संयोजक पासवानले बताए । उनले भने, ‘आफूमाथि किन मुद्दा लगाएको भन्दै पीडितहरूलाई अनेक खालको हिंसा गरिरहेका छन् । हिजो त अदालतमै पीडितलाई कुटे, जहाँ मान्छे न्यायका लागि पुग्छन् ।’

सिडिओ र सहायक सिडिओ सरुवाको माग

मिटर ब्याज विरुद्धको संघर्ष समितिले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवको सरुवाको माग गरेको छ ।

मिटर ब्याज सम्बन्धी परेको जाहेरी मिलापत्र गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले पाएको छ । तर छलफलबाट पीडितहरू न्याय नपाउने गरेको संघर्ष समितिको आरोप छ ।

समितिका संयोजक पासवानले सिडिओ र सहायक सिडिओकै भूमिका शंकास्पद रहेको आरोप लगाए । उनले भने, ‘यहाँका सिडिओ र सहायक सिडिओ रहेसम्म हामी छलफलमा बस्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर