सुदूरपश्चिममा खेलको बढ्दो क्रेज, संरचनाको समस्या उस्तै – Nepal Press

सुदूरपश्चिममा खेलको बढ्दो क्रेज, संरचनाको समस्या उस्तै

कैलाली । केही साता अघि मात्रै सकिएको आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग क्रिकेट प्रतियोगिताको लागि मैदान तयार गर्न लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले ३ लाख भन्दा बढी रकम खर्च गर्नु पर्‍यो ।

उनले खर्च गरेको रकमले केही दिन सम्म मात्रै त्यहाँ काम गर्‍यौँ । अब फेरी त्यहाँ क्रिकेट प्रतियोगिता आयोजना गर्दा आयोजकले त्यति नै रकम फेरी खर्च गर्नु पर्छ । त्यो पनि केही दिनका लागि मात्रै ।

अघिल्लो वर्ष खप्तड गोल्डकप खेलाउनको लागि मैदान तयार गर्न मात्रै करिब ९ लाख खर्च भएको सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले दाबी गरेका छन् । प्रतियोगिता हुनु भन्दा दुई दिन अघि सम्म उनी मैदान तयारीमा लागेका थिए ।

अहिले धनगढीमा जारी रहेको छैटौँ फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिता होस् या भर्खरै बर्दगोरियामा सम्पन्न भएको प्रथम मुख्यमन्त्री पालिकास्तरीय फुटबल प्रतियोगिता होस् आयोजकले प्रतियोगिता आयोजना गर्दा लगाउने लगानी भन्दा पहिले खेलकुद आयोजना गर्न आवश्यक पर्ने संरचना तयार गर्न लगानी लगाउनु पर्ने बाध्यता रहेको छ ।

धनगढीमा फुटबलको लागि एउटा रङ्गशाला तयार गरिए पनि त्यसको संरचनामा चासो नपुग्दा प्रत्येक पटक फुटबल आयोजना गर्दा आयोजकले त्यसको मर्मतमा थप रकम खर्च गर्नु पर्ने बाध्ययता रहेको बताउँछन् ।

अहिले धनगढीमा जारी फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको लागि करिब १ लाख भन्दा बढी रकम मैदान मर्मतमा सकिएको आयोजक क्लबका अध्यक्ष खेम रावतले बताए ।
‘हामीले मैदान मर्मतमा मात्रै १ लाख भन्दा बढी खर्च गरेका थियौँ’ उनले भने ‘मैदान सधैँ खेल्न उपयुक्त हुने भएको भए त्यो रकम बच्ने थियो । ’फुटबलमा भएको मैदानमा त आयोजकले थप लगानी गर्नु पर्छ भने क्रिकेटमा झन् मैदान नै छैन ।

यस अघि सम्म लिटिल फ्लावर प्रमियर लिग नेपाल प्रहरीको जग्गामा हुँदै आएको थियो । त्यहाँमा पनि लाखौँ खर्च गरेर मैदान तयारी हुने गरेको थियो । अहिले उक्त क्षेत्रमा पनि प्रहरीले संरचना निर्माण गरेपछि फाप्लामा क्रिकेट प्रतियोगिता हुने गरेको छ जसको लागि केही साता अघि मात्रै मैदान तयार गर्न रामचन्द्र शाहीले ३ लाख बढी रकम खर्च गरे ।

अहिले फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिले ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया सुरु गरेको जनाएको छ । यो रङ्गशाला निर्माण भए सुदूरपश्चिमको मुहार फेरिने अपेक्षा गरिएको छ । तर, कहिले निर्माण सुरु हुने हो त्यो भने अझै अनिश्चित छ ।

अहिले सम्म सुदूरपश्चिममै क्रिकेटको गति संरचना नहुँदा निकै समस्या परेको, पिच नहुँदा म्याट तयार गरेर क्रिकेट भइरहेका छन् । ‘खेलाडी र दर्शको उत्साह हुन्छ तर, संरचना अभावले हामीलाई खल्लो लाग्छ’ शाहीले सुनाए । उनले राम्रो संरचना भइदिए सधैँ खेलकुद आयोजन गर्न सक्ने र खेलाडी उत्पादनमा वृद्धि हुने शाहीले बताए ।

आठ वर्ष देखी क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका शाहीले विद्यालय स्तरीय फुटबल प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरेका छन् । तर, उनलाई फेरी खेलमैदानको समस्याले पिरोलेको छ । ‘एउटा मात्रै खेलमैदान छ त्यसलाई पनि मर्मत गर्नु पर्छ’ उनी भन्छिन्, ‘क्रिकेट भन्दा फुटबल आयोजना संरचना मार्फत केही सहज होला तर, समस्या उस्तै उस्तै हो ।’

नेपाल सुपर लिग भन्दा अघि सम्म सबै भन्दा ठुलो धनराशिको खप्तड गोल्ड कपले यस पटक पनि निरन्तरता पाउँदै छ । अघिल्लो पटक विजेतालाई २१ लाख दिने गरी आयोजना गरिएको गोल्डकप फागुनको अन्तिम साता आयोजना गर्न तयारी भइरहेको छ ।

क्लबका अध्यक्ष सुरेश हमाल अब एउटा मात्रै रङ्गशालाले धनगढीको खेलकुद क्रेज धान्न नसक्ने बताउँछन् । पछिल्लो समय फुटबलकै रौनक बढिरहेको भन्दै उनी जिल्लामा २्३ वटा राम्रा सुविधा सम्पन्न खेलमैदान आवश्यक रहेको बताउँछन् ।

‘सबै ठुला गतिविधि यही हुन्छन् । खेलकुदको लागि २/३ वटा राम्रा सुविधा सम्पन्न खेलमैदान आवश्यक पर्छ’ उनी भन्छन्,‘खेलमैदान गतिलो नहुँदा खेल स्तरीय बनाउन सकिँदैन ।’

करोडौँ खर्च गरेर गोल्डकप आयोजना गर्दा अन्तिममा खेल मैदान प्रति नै गुनासो आउने गरेको उनले पीडा पोखे ।

‘गाउँ तिर धेरै पर्याप्त खेल मैदान छन् त्यहाँ संरचना तयार गर्न सकिन्छ’ उनी भन्छन्, ‘अब धनगढीको रङ्गशालाको मात्रै भर मानेर हुँदैन गाउँ गाउँमा त्यस्ता रङ्गशाला बनाउन आवश्यक देखिएको छ ।’

कैलालीको गाउँ गाउँ सम्ममा पनि खेलकुदको क्रेज रहेको भन्दै उनले खेलकुदको क्रेज हुने तर खेल्न मैदान नहुने कुरा विडम्बना पूर्ण रहेको बताए ।

जारी फारवेष्ट पशुपति कपका अध्यक्ष खेम रावलकै कप्तानीमा २०६८ सालामा धनगढीमा आयोजना गरिएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल तर्फ सुदूरपश्चिमले स्वर्ण पदक जितेको थियो । विभागीय शसस्त्र प्रहरीको टोलीलाई पराजित गर्दै फाइन जितेको स्मरण गर्दै रावल भन्छन्, ‘छैटौँ खेलकुद प्रतियोगिताकै संरचना अहिले सम्म छन् १२ वर्ष सम्म पनि ठुला संरचनाहरू थप हुन सकेका छैनन् ।’

सुदूरपश्चिममा आयोजना हुने साना ठुला सबै प्रतियोगितामा दर्शकहरूको उपस्थित उत्साह जनक हुन्छ । खेलकुदको क्रेजले खेलाडीहरू पनि उत्साहित छन् । तर, खेलकुदका संरचनाहरूको अभावले भने उनीहरूलाई निकै समस्या दिने गरेको छ ।

कैलाली कञ्चनपुरमा सामान्य खेलमैदान भए पनि पहाडी जिल्लाको अवस्थामा त्यही पाउन पनि समस्या छ । बैतडी क्रिकेटको उर्वर भूमि हो । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द यहीँका हुन् । तर, यहाँ पनि गतिलो संरचना छैन । पहाडी सात जिल्ला मध्ये सबै भन्दा राम्रो क्रिकेट खेल मैदान यही छ तर, संरचना भने छैन । दशरत चन्द खेलमैदान सुन्दरखालीमा राम्रो संरचना तयार गर्न सके यहाँ ठुला प्रतियोगिता समेत आयोजना गर्न सकिन्छ ।

बाजुराको खप्तड छेडेदहमा सधैँ फुटबल प्रतियोगिता आयोजना भइरहन्छ । तर, गतिलो खेल मैदान छैन । विद्यालयको मैदानमा प्रतियोगिता आयोजना भइरहेको छ । यस पटकबाट यहाँ गोल्डकप आयोजना गर्ने तयारी भइरहेको छ तर, संरचना तयार नगरी यहाँ पनि ठुला प्रतियोगिता आयोजना गर्न समस्या हुने देखिन्छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा दीपक बहादुर सिंहले भने अहिले संरचना निर्माण भइरहेको र केही वर्ष भित्रै संरचनाको समस्या हल हुने दाबी गरे ।

उनले कञ्चनपुरमा नेपालकै ठुलो इन्डोर स्टेडियम निर्माण भइरहेको बताउँदै उक्त स्टेडियम निर्माण पछि धेरै समस्याको समाधान हुने बताए । टिकापुरमा स्मार्ट एकेडेमी भवन निर्माण पछि थप समस्या हल हुने उनले बताए ।

‘संरचनाको अभाव भएको कुरा सत्य हो तर,तीव्र गतिमा केही संरचना निर्माणको काम भइरहेको छ’ उनले भने ‘ती संरचना निर्माण पछि समस्या समाधान हुने अपेक्षा गरेका छौ ।’

भौतिक संरचनामा केही सुधार भए पनि प्राविधिक सामाग्रीहरूको अभाव भने अझै टार्न समय लाग्ने देखिएको छ । यहाँ पर्याप्त प्रशिक्षक छैनन् । स्विमिङ छैन । जिम सेन्टर छैन । यी संरचना नहुँदा पनि कैलालीमा सबै प्रकारका खेलाडीहरूले समान ढङ्गले प्रशिक्षण गर्न पाइरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर