नारायणगढ-बुटबल सडकमा रास्वपाको दबाबयात्रा सम्पन्न, ११३ किलोमिटर पैदल हिँड्यो रविको टोली – Nepal Press

नारायणगढ-बुटबल सडकमा रास्वपाको दबाबयात्रा सम्पन्न, ११३ किलोमिटर पैदल हिँड्यो रविको टोली

रास्वपाले गरेको आन्दोलनको नौलो अभ्यास रवि लक्षित सहकारी विवादको ओझेलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विकासका काममा सरकारको ध्यानाकर्षण गराउन नयाँ स्वरुपको आन्दोलन अभ्यास गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लामो पैदल यात्रा गर्‍यो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदलयात्रा गरेको हो । २०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा पुग्न लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ ।

निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउने गरेको थियो । अहिले भने कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सकिने दाबी ठेकेदार कम्पनीले गर्दै आएको छ । यसकै लागि रास्वपाले दबा दिएको हो ।

रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा छिचोलेका छन् । उनीहरु हरेक दिन औसत करिब ३५ किलोमिटर हिँडेका थिए । यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत गरे । उनीहरुले राप्रपा सभापति लामिछानेसँग बाटो नबन्दा भोगिरहेको समस्याहरु पनि सुनाए ।

तेस्रो दिन आज बिहान ७ बजेबाट यात्रा थालेको रास्वपा टोली बेलुका करिब ६ बजे बुटबल आइपुगेको हो । बीचमा एक पटक चिया र एक पटक खानाका लागि मात्र रोकिएको पैदलयात्रामा रहेका सहकोषाध्यक्ष दीपक बोहोराले बताए ।

रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल तथा सांसदहरु निशा डाँगी, हरि ढकाललगायत पनि मिसिएका थिए ।
यात्रा समापनका क्रममा बुटबलमा लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । उनले यो कुनै राजनीतिक अभियान नभएको बताए ।

‘हामी पार्टीको झण्डासमेत नबोकी आमनागरिक भएर हिँडेका हौं । बाटो बनाउन दबाब दिएका हौं । यसलाई नै कसैले राजनीति गरेको भन्छ भने यस्तो राजनीति हामी गरिरहन्छौं’, उनले भने ।

बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर लडिरहने प्रतिबद्धता लामिछानेले व्यक्त गरे । यदि बाटोलाई यत्तिकै अलपत्र पारिएको खण्डमा अबको चुनावमा जनताले कसैलाई नछोड्ने उनको चेतावनी छ ।

‘कुनै पनि हालतमा समय निर्धारण गरेर गुणस्तरीय रुपमा बाटो बन्छ भने ठीक छ । यदि बाटो नबनाएर जनतालाई धूलो खुवाइरहने हो भने अब जनताले पनि तपाईंहरुलाई धूलो चटाउने छन्’, लामिछानेले भने ।

रविले नारायणगढ-बुटबल सडक खण्डमा दबाब यात्रा थालेकै बेला उनी सहकारीसम्बन्धी विवादमा मुछिएका थिए । यात्राका क्रममा पनि उनले पटक पटक स्पष्टीकरण दिनुपरेको थियो । पार्टीको पैदलयात्रालाई सहकारी विवादले गर्दा ओझेलमा पारिदिएको महसुस रास्वपाभित्र गरिएको छ ।

तर, रास्वपा सहकोषाध्यक्ष बोहोराले भने रविविरुद्ध भइरहेको नियोजित प्रचारबाजीले पैदलयात्रामा जनताको समर्थन र सहानूभुति झन् बढेको बताए ।

उनले भने, ‘सभापतिजीलाई घेराउमा पार्न खोजिएको सबैले महसुस गरेका छन् र यस्तो बेला उहाँलाई साथ दिनुपर्छ भन्ने भावना झन् बढेको पाएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर