शाक्यहरुको सामूहिक वध गरिएको सगरहवामा हुँदै राष्ट्रिय मूर्ति कार्यशाला – Nepal Press

शाक्यहरुको सामूहिक वध गरिएको सगरहवामा हुँदै राष्ट्रिय मूर्ति कार्यशाला

रुपन्देही । प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक वध गरिएको बुद्धकालीन कपिलवस्तुको सगरहवामा पुस २३ देखि माघ ८ गतेसम्म राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषले कपिलवस्तु नगरपालिकासहित विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने गरी मूर्तिकला कार्यशाला गर्न लागेको हो ।

शाक्यमुनी बुद्धको जीवनको उत्तरार्द्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरुको वध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।

सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्वारा गरिएको उत्खनन् अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससाना स्तुपा र १७ वटा ठूला स्तुपा एवम् मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टललगायतका सामग्री भेटिएको थियो ।

यो विषयमा कोषसहित प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला उपसमितिका संयोजकसहितको बैठकले कार्यशालाको मितिसँगै तयारीका कामहरु गर्ने निर्णय गरेको छ । बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मूर्ति कार्यशालाले पुरातात्विक र ऐतिहासिक थलो कपिलवस्तुको सगरहवाको प्रवर्द्धन गर्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवम् मूर्ति कार्यशाला निर्देशक समितिका संयोजक सिद्धिचरण भट्टराईले सगरहवाको प्रवर्द्धन गर्न स्थानीयको अपनत्व हुने गरी कार्यशाला गर्न खोजिएको बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वडा न ९ का अध्यक्ष दीपक थापालगायतले मूर्ति कार्यशाला सम्पन्न गर्न स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *