राजसंस्था पुनःस्थापना गर्न बृहत राष्ट्रिय मोर्चा निर्माणको सवाल – Nepal Press

राजसंस्था पुनःस्थापना गर्न बृहत राष्ट्रिय मोर्चा निर्माणको सवाल

मुलुक इतिहासकै सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको छ । आज मुलुकको राष्ट्रियता कमजोर भएको अवस्था छ । विदेशी प्रभाव, दबाब र हस्तक्षेप दिन प्रतिदिन बढेर गएको छ । आर्थिक रुपमा देश जर्जर बन्दै टाट पल्टिने दिशातर्फ उन्मुख छ । भ्रष्टाचारको आहालमा सिंगो देश चुर्लुम्म डुबेको छ, कुशासनले जरो गाडेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई राजनीतिकरण गरी प्रभावहीन बनाइएको छ । बेरोजगारी समस्या यति विकराल छ, देश युवाविहीन हुने क्रममा छ । मुलुकको गौरवशाली इतिहास भएको धर्म, संस्कृति र पहिचानलाई योजनाबद्ध र संगठित रुपमा नष्ट पारिएको छ । यस्तो अवस्थामा जनता अहिलेको राज्य प्रणाली र व्यवस्थासँग वाक्कदिक्क भएका छन् । अहिलेको भ्रष्ट व्यवस्था र नेतृत्वबाट मुलुकको समग्र हित हुन सक्दैन भन्ने आमनेपालीको निष्कर्ष रहेको छ । गत मंसिर ७ गते काठमाडौंमा भएको विरोध प्रदर्शन र त्यसमा जनताको सहभागितालाई हामीले एउटा सानो संकेत र प्रमाणको रुपमा लिन सक्छौं ।

मुलुकलाई यस्तो गम्भीर संकटको दलदलमा फसाएर केही ठूला भनिने राजनीतिक दलका मुठ्ठीभरका नेताहरुले विदेशीको संरक्षण र आशीर्वादमा जुन लुटतन्त्र मच्याइरहेका छन्, अब यसको अन्त्य गर्न जनताले विद्रोहको शंखनाद गर्नुपर्ने आवश्यक देखिएको छ । देश बचाउने र बनाउने अभियान नै आज सबै नेपाली जनताको प्रमुख विषय बन्नुपर्छ । देशभन्दा माथि केही हुनसक्दैन । मुलुक बचाउने अभियानको नेतृत्व अब हरेक राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रप्रेमी जनताले स्वःस्फुर्त रुपमा आफैं अघि बढेर गर्नुपर्ने आवश्यक देखिएको छ । यो देशलाई माया गर्ने, माटोलाई माया गर्ने, धर्म, संस्कृति र पहिचानको रक्षा गर्ने वास्तविक शक्ति को हो ? नेपाली जनताले खोजी गर्नुपर्ने समय आएको छ । मुलुकमाथि आइपरेको संकट र समाधानको बाटोको विषयमा राप्रपा नेपालले वैकल्पिक मार्गचित्र प्रस्तुत गरेको छ ।

अहिले मुलुकमा संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य गर्न राप्रपा नेपालले प्रस्तुत गरेको मार्गचित्र नै अहिलेको समस्या समाधानको निर्विकल्प उपाय हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबाट कुनै पनि हालतमा मुलुकको हित हुन सक्दैन । राजासहितको प्रजातन्त्र, सर्वधर्म समभावसहितको सनातन हिन्दू राष्ट्र, संघीयता खारेज गरी स्थानीय स्वायत्त शासनको आधारमा केन्द्रमा बलियो सरकार र अधिकार सम्पन्न स्थानीय तहबाट नै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ भन्नेमा राप्रपा नेपाल दृढ छ, यो नै नेपाल सुहाउँदो प्रणाली हुनेछ । राप्रपा नेपालको काठमाडौंमा सम्पन्न पछिल्लो केन्द्रीय समितिको बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको चाँडोभन्दा चाँडो अन्त्य आवश्यक छ, त्यसको लागि आन्दोलन आवश्यक छ र जनआन्दोलनलाई सफल पार्न सबै राष्ट्रवादी र देशभक्त, हिन्दूवादी र संघीयताविरोधी शक्तिहरुको बीचमा मोर्चा आवश्यक छ भन्ने निष्कर्ष निकाल्दै मोर्चा निर्माणको प्रस्ताव प्रस्तुत गरेको छ ।

कांग्रेस, कम्युनिष्ट, मधेशवादी दलहरुको असफलताको गीत गाएर वा धारे हात लगाएर सरापेरमात्र समस्याको समाधान हुन सक्दैन । राष्ट्रवादी शक्ति हौं भन्नेहरुले आफूहरुमा रहेको कमी-कमजोरी र त्रुटिहरुको पनि निर्मम र वस्तुनिष्ठ समीक्षा गर्न जरुरी छ । अब समीक्षाले मात्र पुग्दैन, सुधार्ने इच्छाशक्ति कार्यान्वयन गर्ने हिम्मत पनि जुटाउनुपर्ने हुन्छ ।

उक्त प्रस्तावले एजेण्डाका पक्षधरभित्रमा मात्र होइन सिंगो राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । यसको महत्व र आवश्यकताको औचित्य पछिल्लो समय अझै बढेर गएको छ भने अर्कोतर्फ अत्यन्तै कमजोर जगमा खडा भएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लड्खडाउन थालेको देखिन्छ । पार्टी नेतृत्वको अत्यन्तै फराकिलो चिन्तन र दूरदर्शी सोचबाट अघि बढाइएको यस मोर्चा निर्माणको कामलाई तार्किक निष्कर्षमा पु¥याउन पार्टीले आन्तरिक कामलाई तीब्रता दिइरहेको छ । यस मोर्चा निर्माणले जनआन्दोलनको वातावरण निर्माण गर्नेछ भने मुलुकभित्र राजनीतिक ध्रुवीकरणसमेत गराउने छ । हामीले आन्दोलनका लागि आन्दोलन भन्ने होइन, एउटा टुंगोमा पुग्ने आन्दोलन आजको अपरिहार्यता हो । त्यसको लागि उत्तिकै तयारी जरुरी छ । राप्रपा नेपालले एउटा चरण पार गरेको छ । धेरै भ्रम तोडिएका छन् । अफवाह, अस्पष्टता र षड्यन्त्रको जालोलाई पार गर्दै राप्रपा नेपाल अगाडि बढेको छ । राप्रपा नेपाललाई हेर्ने र बुझ्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन हुँदै गएको छ । असत्य सधैंभरि टिकिराख्दैन । पार्टी, नेतृत्व र सम्बद्ध सबैले धेरै धैर्य र मेहनत गरेका छन् ।

बृहत् राष्ट्रिय मोर्चा निर्माणको आवश्यकता प्रमुख चार कारणले गर्दा भएको हो:

१. अहिलेको भ्रष्ट व्यवस्था र प्रणालीको अन्त्य
२. अहिलेको प्रणालीको सट्टा राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र र संघीयताको खारेजी
३. जनआन्दोलन जरुरी
४. जनआन्दोलन सफल पार्न मोर्चा निर्माण ।

अहिले देशमा कायम विकृति, विसंगति, कुशासन, भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी र लुटतन्त्रको अन्त्य गर्न शान्तिपूर्ण विद्रोह आवश्यक छ भन्नेमा आमजनता सहमत छन् । यसको लागि कांग्रेस, कम्युनिष्ट, मधेशवादी दलहरुको असफलताको गीत गाएर वा धारे हात लगाएर सरापेरमात्र समस्याको समाधान हुन सक्दैन । राष्ट्रवादी शक्ति हौं भन्नेहरुले आफूहरुमा रहेको कमी-कमजोरी र त्रुटिहरुको पनि निर्मम र वस्तुनिष्ठ समीक्षा गर्न जरुरी छ । अब समीक्षाले मात्र पुग्दैन, सुधार्ने इच्छाशक्ति कार्यान्वयन गर्ने हिम्मत पनि जुटाउनुपर्ने हुन्छ । अत्यन्तै साँघुरो सोच र चिन्तनले मोर्चा निर्माण र जनआन्दोलनको आधारभुमि खडा हुन सक्दैन । अहंकार र दम्भले त झन् मोर्चा निर्माण हुनै सक्दैन । सत्ता र शक्तिको चास्नीमा भुल्न खोज्नेहरु त झन् मोर्चा भनेपछि नाक खुम्च्याउन सक्छन्, ओठ लेब्र्याउन सक्छन् । सत्ताको मायाजालमा फसेकाहरु र फस्न सक्नेहरुको मोर्चा निर्माणमा रुचि नहुनसक्छ ।

औंसीपूर्णेमा केही सय वा हजारको जुलुस प्रदर्शनले कोही अमुक व्यक्ति र समूहलाई खुशी पार्न त सकिएला अथवा आफैं आत्मरतिमा रमाउन सकिएला । तर, व्यवस्था परिवर्तन गर्न सकिँदैन । यो कटु सत्यलाई हृदयङ्गम गरेर देश, जनता र समृद्धिलाई केन्द्रमा राखेर मुलुक र जनताको आवश्यकतालाई परिपूर्ति गर्न एउटा बृहत राष्ट्रिय मोर्चा आवश्यक छ ।

औंसीपूर्णेमा केही सय वा हजारको जुलुस प्रदर्शनले कोही अमुक व्यक्ति र समूहलाई खुशी पार्न त सकिएला अथवा आफैं आत्मरतिमा रमाउन सकिएला । तर, व्यवस्था परिवर्तन गर्न सकिँदैन । यो कटु सत्यलाई हृदयङ्गम गरेर देश, जनता र समृद्धिलाई केन्द्रमा राखेर मुलुक र जनताको आवश्यकतालाई परिपूर्ति गर्न एउटा बृहत राष्ट्रिय मोर्चा आवश्यक छ । जुन मोर्चा पद, प्रतिष्ठा, अवसर र महत्वाकांक्षा प्राप्तिको लागि नभई देश बचाउन र बनाउन हुनुपर्छ । जनआन्दोलन आफैंमा एउटा उत्सर्ग हो, त्याग हो । यहाँ कोही नेता भएर भन्दा पनि एउटा आन्दोलनकारी भएर आउनुपर्ने हुन्छ । आसन र भाषणको मोह छोडेर आउनुपर्ने हुन्छ । जुन काम सबैले सजिलै गर्न सक्दैनन् । तर, अहिलेको मुलुकको प्रमुख आवश्यक अनि जनताको चाहना भनेको भ्रष्ट व्यवस्था र अवस्थाको अन्त्य हो । यो जनचाहनालाई पूरा गर्न राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रप्रेमी शक्तिहरुले नयाँ शिराबाट कुण्ठा, महत्वाकांक्षा, संकीर्णतालाई त्यागेर फराकिलो भई देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्न जरुरी छ ।

जनताले चाहे केही असम्भव छैन, विश्वसनीय वातावरण निर्माण गरौं, जनआन्दोलनको आधारभूमि खडा गरौं । सकिन्छ, सम्भव छ । समय सधैं अनुकूल रहँदैन । अवसरको सदुपयोग नगर्दा भोलि दुत्कारिने पात्र बन्ने कि पश्चातापमा डुबेर निवृत्त जीवन गुजार्ने वा देशले सधैं स्मरण गर्ने र भावी पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने ? आगे राष्ट्रवादीहरुको जो मर्जी ।

(लेखक राप्रपा नेपालका महामन्त्री हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *