लुम्बिनीबाट राष्ट्रिय सभाका उम्मेदवार छान्न कांग्रेस-माओवादीलाई सकस – Nepal Press

लुम्बिनीबाट राष्ट्रिय सभाका उम्मेदवार छान्न कांग्रेस-माओवादीलाई सकस

शीर्ष नेताहरु आकांक्षीमा लर्को लागेपछि सबै नाम केन्द्रमा पठाउने तयारी

रुपन्देही । कांग्रेस लुम्बिनीबाट राष्ट्रिय सभामा जाने आकांक्षीको लर्को लागेको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा जित निश्चित हुने देखिएकाले पनि अहिले राष्ट्रिय सभामा जानका लागि धेरैैले आकांक्षा देखाएपनि नेतृत्वलाई छनौटका लागि संकट परेको छ । लुम्बिनीबाट दुई सीटमा नेपाली कांग्रेसले उम्मेदावर बनाउने भएको छ । जसमा एक महिला र एक पुरुष रहने छन् ।

लुम्बिनीबाट राष्ट्रिय सभामा भएका एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको पदावधि फागुन २० गते सकिँदैछ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीका सबै जिल्लाबाट आकांक्षीको नाम प्रदेश समितिले माग गरेको थियो । अहिले पूर्वमन्त्रीसहित प्रतिनिधिसभा सदस्यमा पराजित नेताहरु समेत आकांक्षी देखिएपछि नेतृत्वलाई छनौटका लागि समस्या परेको हो । रुकुमपूर्वबाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको नाम कांग्रेस प्रदेश कार्यसमितिमा सिफारिस आएको जनाइएको छ ।

राष्ट्रिय सभामा उम्मेदार हुन अर्घाखाँचीबाट पुष्पा भुसाल, गुल्मीबाट चन्द्र केसी, प्युठानबाट डा. गोविन्द पोखरेल, रुपन्देहीबाट भरत शाहसहितका नेताहरुको नाम सिफारिस भएर आएको छ ।

यसअघि समानुपातिकबाट सांसद बनेर पूर्वउपसभामुखसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य भुसाल २०७९ को प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट पराजित भएकी थिइन् । शाह रुपन्देही निर्वाचन क्षेत्र–५ बाट पटक पटक सांसद बनेर मन्त्री, लेखा समिति सभापति तथा ०७९ को निर्वाचनमा उम्मेदवार बनेर पारजित भएका थिए ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भइ आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको र नाम छनौट गरेर पठाउने जिम्मेवारी सभापतिलाई दिएको कोषाध्यक्ष प्रकाश रानाले बताए । पार्टीमा सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिस गर्न दवाव छ ।

कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा संसदीय बोर्ड सदस्य विष्णु पोखरेलले बारम्बार अवसर लिएकालाई पार्टीले विचार गर्नुपर्ने र ‘यसअघि मन्त्री, सांसद भएका र पटकपटक अवसर पाएकालाई भन्दा नयाँलाई पार्टीले अवसर दिनुपर्ने बताए ।

माओवादीलाई सीटै छैन तर शीर्ष नेताहरु नै धेरै आकांक्षी

लुम्बिनी प्रदेशबाट माओवादीलाई कुनै सीट छुट्टाइएको छैन माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तर दुई दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । राष्ट्रियसभाको उम्मेदवारका लागि शुक्रवार माओवादी केन्द्रले तीन जनामा नाम सिफारिस गरी पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको थियो ।

लुम्बिनीबाट पार्टी केन्द्रमा पहुँच राख्ने नेताहरु गणेशमान पुन, हकिकुल्ला खान, दलजित सिर्पाली, जयपुरी घर्ती, कुवेर ओली लगायतका नेताहरूले नै उम्मेदवार बन्ने आकांक्षी देखाएका हुन् । यी मध्ये घर्ती, पुन र श्रीपाली पूर्वमन्त्री हुन् ।

यस्तै अर्घाखाँचीबाट ठाकुर विक, नवलपरासीबाट घनश्याम यादव, सीता पौडेल आकांक्षी छन् । त्यस्तै गुल्मीबाट मीनबहादुर पाण्डे, नारायणसिंह अधिकारी, कृष्ण अधिकारी, रुपन्देहीबाट रितु श्रेष्ठ रहेका छन् । दाङबाट श्रेषुराम भण्डारी, बर्दियाबाट भवन थारु आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अहिलेसम्म दुई दर्जन आकांक्षी उम्मेदारको नाम आएको र केन्द्रले तीन जनाको नाम सिफारिस गरेर पठाउन भनिए पनि त्यो सम्भव नभएकाले सबैको नाम पठाउने नेपाल प्रेसलाई बताए ।

अहिले माओवादीबाट यहाँको दुई उम्मेदारको कोटा नभएपनि केन्द्रले नाम पठाउन भनेकाले प्रकृयामा गएको उनको भनाइ छ । माओवादीले यसपटक गत निर्वाचनमा उम्मेदार भएकालाई भने सिफारिस नगर्ने नीति लिएको बरालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर