समदायस्तरबाट संचालित गौतमबुद्ध मुटु अस्पतालमा उद्योगी र रोटरी क्लबहरुको साथ – Nepal Press

समदायस्तरबाट संचालित गौतमबुद्ध मुटु अस्पतालमा उद्योगी र रोटरी क्लबहरुको साथ

काठमाडौं बाहिर सबैभन्दा धेरै मुटु तथा मृगौला रोगीको उपचार

रुपन्देही । रुपन्देही क्षेत्रका उद्योगी, व्यवसायी तथा विभिन्न रोटरी क्लबहरुको साथमा बुटवलमा स्थापित गौतम बुद्ध सामुदायिक मुट अस्पतालले काठमाण्डौं बाहिर सबैभन्दा धेरै मुटु तथा मृगौला रोगीको उपचार गर्न थालेको छ ।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट हालसम्म क्याथ ल्याबबाट ४ हजार ८ जनाले एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसी सेवा लिएका छन् ।

मुटुरोगसँगै उपचारमा सबैभन्दा जटिल र झन्झटिलो मानिएको नियमित मृगौला डायलाइसिसको सेवामा पनि यसले सबैभन्दा धेरै संख्यालाई उपचार दिन सकेको छ । अस्पतालका निर्देशक डा. समीर गौतमका अनुसार यसक्षेत्रका ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाइसिस सेवा लिँदै आएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको बताएका छन् ।

मंगलबार बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको र प्रदेशले अधिकार प्राप्त नगर्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको जनाएका हुन् । उनले यो कारणले पनि जनतामा संरचना र व्यवस्थाप्रति निराशा बढाएको उल्लेख गरे ।

‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन ।’–मुख्यमन्त्री चौधरीले गुनासो गरे । उनले सरकारी ऐन नियमहरु विकासका बाधक हुन नहुने बताउँदै निजी क्षेत्रबाट पनि सहज र सर्वसुलभ स्वास्थ्यसेवामा महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए ।

पूर्व स्वास्थ्यमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संशोधन गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्यलाई निःशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनीकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने बताए । स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडि बढ्न नसकेको भन्दै सबैभन्दा पहिले कानुन संशोधन गर्नुपर्ने खांचो औंल्याए ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिइरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए । अध्यक्ष आलमले तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गरे ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहित एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवासमेत यसक्षेत्रमा मुटु अस्पतालमै पहिलो पटक शुरु भएको बताए ।

कार्यक्रममा १० वर्षभन्दा बढी सेवा गरेका झण्डै एक दर्जन कर्मचारी, अस्पतालको लागि १ लाख रुपैयाँभन्दा बढी चन्दा सहयोग गर्ने चन्दादाता लगायतलाई सम्मान गरिएको थियो । अस्पताल २०७० सालदेखि सञ्चालनमा आएको थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल समुदायस्तरबाट चलेको लुम्बिनी प्रदेशको एकमात्र मुटु अस्पताल हो । किड्नीका बिरामीलाई २४ सै घण्टा डायलासिस सेवा प्रदान गर्दै आइरहेको अस्पताल जग्गा अभावले ७ वटा भाडाका घरमा सञ्चालन गरेको छ ।

गैरनाफामुखी अस्पतालमा रुपमा रुपन्देही उद्योग संघ र रोटरीहरुको आर्थिक सहयोगमा सञ्चालन भइरहेको अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको पनि कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर