‘कांग्रेसले प्रचण्डको विकल्प दिन चाहे एमाले तयार छ’ – Nepal Press

‘कांग्रेसले प्रचण्डको विकल्प दिन चाहे एमाले तयार छ’

एमाले सचेतक बर्तौँलाको विश्लेषण- प्रचण्ड सरकारले एक वर्ष त्यसै खेर फाल्यो, देशलाई दश वर्ष पछाडि धकेल्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । प्रचण्ड गत पुस १० मा एमालेको नेतृत्वको सात दलीय समर्थनबाट प्रधानमन्त्री बनेको थियो । एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री बनेका उनी राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा चुनावअघिको कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किए ।

सत्ता गठबन्धन फेरबदल गरेर प्रधानमन्त्री भएपछि प्रचण्डले तेस्रो कार्यकाल एक वर्ष पूरा गरे । तर, उनलाई सत्ता टिकाउन राजनीतिक दाउपेच र भागबन्डामात्रै केन्द्रित भएको आरोप लगाएको छ ।

एक वर्षे कार्यकालको समीक्षा गर्दै आगामी वर्ष थप सक्रिय हुने योजना प्रधानमन्त्रीले ल्याउँदैछन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार पूर्णरूपमा असफल भएको भन्दै विकल्प खोज्नुपर्ने पक्षमा उभिएको छ । त्यसो त प्रतिपक्षले मात्रै नभइ गठबन्धनमा आबद्ध रहेका घटकहरूले पनि सरकारको कार्यसम्पादनप्रति चित्त बुझाएका छैनन् । प्रचण्ड सरकारको एक वर्षे समीक्षाबारे एमालेका सचेतक महेश बर्तौलासँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानीः

– सरकार गठन भएको एक वर्ष पूरा भयो । यो अवधिलाई प्रमुख प्रतिपक्ष दलको रूपमा एमालेले कसरी हेरेको छ ?

यो सरकार सबै हिसाबले असफल रह्यो । प्रधानमन्त्री प्रचण्डले ठीक ढंगले सञ्चालन गर्न नसकेपछि देश देश वर्ष पछाडि धकेलियो । जनतामा निराशा बढ्यो, कुनै आशा गर्ने ठाउँ छैन । युवाहरूले विदेशिन अवस्था बनेको छ । किसानहरू खेतीपाती छाड्ने अवस्था बनेको छ । निर्माण व्यवसायीहरू सडक बनाउन छाडेर आन्दोलनमा आउने अवस्था बनेको छ । व्यवसायीहरू निराशा छन् ।

न शान्ति सुरक्षा र संविधान कार्यान्वयनको लागि आवश्यक बनाउने कुरा, न दण्डहीनतालाई अन्त्य गर्ने कुरालाई गर्ने सामर्थ्य राख्यो । यो सरकारले दण्डहीनतालाई प्रश्रय गर्ने काम गरेको छ । मान्छे मान्नेहरूलाई छाड्ने यता अदालतले सरकारको निर्णय उल्ट्याउँदा समेत नैतिक जिम्मेवारी लिन सक्दैन ।

राष्ट्रपति पनि विवादमा परिराख्नुभएको छ । राष्ट्रपतिलाई अगाडि ल्याएर भागबण्डा जोडिनुभएको छ । यस्ता घटनाहरू जस्तै, अहिले संसद् सचिवालयको महासचिवको नियुक्तिलाई अनुमोदन गर्नुभएको छैन । गठबन्धनको हर क्षेत्रमा अराजकता, अनुशासनहीनता, राजनीतिक द्वन्द्व सामाजिक सद्भाव बिथोलिएको अवस्था छ ।

सरकारका मन्त्री नै धार्मिकरूपमा देशलाई विभाजित गर्नतर्फ लागेका छन् । कुनै कोणबाट पनि नागरिकलाई आशा जगाउँने काम यो एक बर्षमा गर्न सकेन। सरकार मात्रै असफल रहेन देशलाई नै दश बर्ष पछाडि धकेल्ने अवस्था निर्माण भएको छ।

– एमाले यो सरकार चारैतिरबाट असफल भयो भन्छ तर किन विकल्प खोज्न सक्दैन ?

हामीले यसको निकास खोजेका हौं तर, संसद हामीसँग छैन । उहाँहरू गठबन्धन गरेर हिँडिराख्नुभएको छ । जुन गठबन्धन देशको लागि घातक बनिरहेको छ । राष्ट्रको हितको पक्षमा छैन । हामी त देशहितको लागि गठबन्धन भत्काउनुपर्छ भन्ने चाहन्छौं ।

तर, दुर्भाग्य गठबन्धनको यो सरकार नेपालको चार किल्लाबाट बनेको छैन । विदेशीहरूको इच्छाबाट बनेको छ । विदेशी इन्ट्रेस्ट बनेको यो गठबन्धन र सरकार एमालेलाई कमजोर बनाउने ध्यानमा छ । एमाले हाम्रो देशको स्वाभिमान, राष्ट्रिय एकता र सावैभौमतामाथि हामी सम्झौता गर्दैनौं । त्यसैले विदेशीहरूको लागि यो सरकार कम्फर्ट छ । त्यसैले यो अहिले भर्खर हामीले चाहेर भत्किहाल्ने स्थिति छैन । गणितमा हामी प्रमुख प्रतिपक्ष दल छौं । तर, यो सरकार तत्काल विघटन हुनु देश र जनताको लागि हितकर छ ।

– गठबन्धन भत्काउन एमालेले राष्ट्रियसभाको कार्ड कांग्रेसलाई फालेको भन्ने चर्चा छ नि ?

यो सरकार देश र जनताको हितको लागि भत्किनु आवश्यक छ । तर, संसदको गणितले जटिल मोडमा पुर्‍याएको छ । त्यसैले यो गठबन्धन फोड्न एमाले जे गर्न पनि तयार छ । त्यो देशको लागि हो ।

सरकारप्रति हाम्रो कुनै रुचि छैन । तर, यो नेतृत्व असफल भयो उहाँहरू असफल व्यक्तिहरु हुनुहुन्छ भन्ने इतिहासले पुष्टि गरेको कुरा हो । त्यस्ता व्यक्तिलाई देशको चाबी दिँदा देश असफल भयो । नागरिकहरूमा निराशा बढ्यो । देशको अर्थतन्त्र तहसनहस भयो । चालू खर्च थेग्नको सार्वजनिक ऋण असूल गर्नुपर्ने कुरा यो पाँच महिनामा एक खर्बको हाराहारीमा चालू खर्च थेग्न ऋण असूल गर्नुपर्ने अवस्था छ ।

राजस्व परिचालनको हालत उस्तै छ । अनि केका लागि यो सरकार ? के कारणले यो सरकार ठीक छ भन्ने ठाउँ छ त ? त्यसको निरन्तरता आवश्यक छ भन्ने ठाउँ कहाँ छ त ? त्यसैले यो सरकार विघटन आवश्यक छ ।

विदेशी शक्तिहरूको इसारामा गठबन्धन चलेको छ । यो गठबन्धनको असफलता जनतालाई बताउँदै नयाँ सरकार गठन आजको आवश्यकता हो भन्ने कुरामा एमाले प्रष्ट छ । तर, संसदको गणितले तत्काल केही हुन्छ भन्नसक्ने अवस्था छैन ।

प्रचण्ड सरकार ढालेर नयाँ सरकार बनाउन एमालेले कांग्रेससँग छलफल थालेको हो ?

हामीले अहिलेसम्म औपचारिक त्यस्तो कुनै संवाद गरेका छैनौं । राजनीतिमा सबै ढोका खुल्ला हुन्छ । एमाले पनि तयार छ । कांग्रेस देश निर्माणको तहमा ठीक ढंगबाट जाऔं भनेर आउँछ भने एमाले तयार छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस माओवादीको असिस्टेनमात्रै होइन मुख्य दलको हैसियतमा जिम्मेवार र भ्रमबाट मुक्त हुनुपर्छ । शेरबहादुर देउवाजीले म कांग्रेस सभापति हो माओवादीका अध्यक्ष प्रचण्डजीको असिस्टेन्ट होइन भन्ने ठान्नुपर्‍यो । त्यो ठानेर उहाँ नआएसम्म हुँदैन ।

कांग्रेसमा दृष्टिकोण, भिजन, नेतृत्वमा क्षमता रहेन तर, जनताले संसदमा दल ठूलो बनाएको छ । त्यो अनुभूति अनुसार हिँड्ने सामर्थ्य नराखेसम्म अहिलेको संकट निकास हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर