लुम्बिनी कर्पोरेट क्रिकेट: सेमिफाइनल समीकरण पूरा – Nepal Press

लुम्बिनी कर्पोरेट क्रिकेट: सेमिफाइनल समीकरण पूरा

रुपन्देही । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको पहिलो दिन भएका खेलमा समूह (क) बाट एके ग्राफिक्स भैरहवा र बैंकर्स क्लब भैरहवा सेमिफाइल प्रवेश गरेका छन् । समूह (ख) बाट न्यु सिटीपी प्वाइन्ट बुटवल र सीता मेडिकल हल रोहिणी सेमिफाइनल पुगेका छन् । मंगलबार सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

सिद्धार्थनगर- ९ गोनहियास्थित मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बैंकर्स क्लबले उद्योग व्यापार संगठन रुपन्देहीलाई ३४ रनले पराजित गर्‍यो । निर्धारित ५ ओभरको खेलमा बैंकर्सले ९२ रन बनायो । उसका लागि ध्रुव पन्थीले ३२ र सुरेन्द्र यादवले १९ रन जोडे ।

बलिङतर्फ संगठनका सचिन रोक्का र प्रियाबन्धु न्यौपानेले १-१ विकेट लिए । जवाफमा संगठन ५८ रनमै समेटियो । उसका लागि प्रियाबन्धु न्यौपानेले १९ र प्रनिल श्रेष्ठले १६ रन बनाए । बलिङमा बैंकर्सका चन्द्रिका केवटले १ विकेट लिए । बैंकर्सका ध्रुव पन्थी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

अर्को खेलमा सीता मेडिकल हलले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनचाँदी व्यवसायी संघ ४.१ ओभरमा सबै विकेट गुमाउँदै २८ रनमै समेटिएको थियो । उसका लागि दीपेन्द्र लाम्गादेले सर्वाधिक १० रन जोडे ।

बलिङमा सीता मेडिकलका राजमन चाईले २ विकेट लिए । सामान्य लक्ष्य पछ्याएको सीताले १.४ ओभरमा जित निकाल्यो । उसका लागि म्यान अफ द म्याच भएका राजमन चाईले नटआउट १८ रन जोडे ।

अर्को खेलमा लुम्बिनी प्रेस क्लबले सिद्धार्थ उद्योग वाणिज्य संघलाई ५ विकेटले पराजित गर्‍यो । टस हारेर ब्याटिङ गरेको उद्योग वाणिज्य संघले निर्धारित खेलमा ३ विकेटको क्षतिमा ५४ रन बनायो । उसका लागि अप्रित अग्रवालले सर्वाधिक २१ रन बनाए ।

बलिङमा लुम्बिनी प्रेस क्लबका जयकेश हरिजन र राधेश्याम विश्वकर्माले समान १-१ विकेट लिए । जवाफमा प्रेस क्लबले ३.१ ओभरमा लक्ष्य भेट्टाउँदै जीत निकाल्यो । उसका लागि सचिन चौधरी र भुवन पाण्डेले नटआउट क्रमशः २५ र १५ रन जोडे । सचिन चौधरी म्यान अफ द म्याच भए ।

अर्को खेलमा एके ग्राफिक्सले लुम्बिनी प्रेस क्लबलाई ३४ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङ गरेको एकेले निर्धारित खेलमा ९८ रन बनायो । उसका लागि हृदेश हरिजनले नटआउट ५७ र मोहम्मद रफिकले १६ रन जोडे ।

बलिङमा प्रेस क्लबका भुवन पाण्डेले २ र भीम भण्डारीले १ विकेट लिए । जवाफमा प्रेस क्लब १ विकेटको क्षतिमा ६४ रनमात्रै बनाउन सक्यो । उसका लागि सचिन चौधरीले नटआउट २८ र भीम भण्डारीले नटआउट १७ रन बनाए ।

अर्को खेलमा न्यु सिटीपी प्वाइन्टले नेपथ्य कलेजलाई ५ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको नेपथ्य ४ ओभरमा ३६ रन बनाउँदै अलआउट भयो । उसका लागि रेजल ढकालले सर्वाधिक १२ रन बनाए । बलिङमा न्यु सिटीपीका सुशील रिजालले २ विकेट लिए ।

जवाफमा न्यु सिटीपीले २।४ ओभरमा लक्ष्य भेट्टायो । उसका लागि श्रीधर केसी र पवन पौडेलले नटआउट क्रमशः २४ र १४ रन बनाए । न्यु सिटीपीका सुशील रिजाल म्यान अफ द म्याच भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *