सुदूरपश्चिम प्रदेशसभा अस्तव्यस्त, सभामुखसहित लेखा समिति सदस्य भ्रमणमा मस्त – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा अस्तव्यस्त, सभामुखसहित लेखा समिति सदस्य भ्रमणमा मस्त

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समिति एक सातको लागि भ्रमणमा निस्किएको छ । सभामुख भीम भण्डारी सहित भ्रमणमा निस्किएको समितिले मधेस प्रदेश र कोशी प्रदेशको निरीक्षण गर्ने जनाइएको छ ।

भ्रमण टोलीमा सभामुख भण्डारी सहित समितिको ज्येष्ठ सदस्य विक्रम धामी, सदस्यहरू सन्तोष कुमारी थापा,टिका थापा, मधुदेवी भारती, बेलबहादुर रानामगर,गीता कुमारी चौधरी, खेमादेवी विष्ट र अक्कल रावल छन् ।

समितिका सदस्यहरू मध्ये मानबहादुर धामी र वीर बहादुर थापा पाताल भ्रमणमा गएनन् ।

सभामुख, समितिका ज्येष्ठ सदस्य सदस्य चालक, स्वकीय सचिव निजी सुरक्षाकर्मी सहित करिब २ दर्जन एक साताको लागि भ्रमणमा निस्किएका हुन् ।

‘हामी मधेश प्रदेश र कोशी प्रदेशका सार्वजनिक लेखा समितिले कसरी काम गरिरहेको छ भन्ने हेर्न निस्किएका हौँ ’ ज्येष्ठ सदस्यले भने ‘यो हाम्रो भ्रमण उपलब्धि पूर्ण हुने अपेक्षा गरेका छौँ ।’

ज्येष्ठ सदस्यले भ्रमण उपलब्धि पूर्ण हुने दाबी गरे पनि अहिले उनीहरूको भ्रमणका विषयमा विभिन्न टिका टिप्पणी सुरु हुन थालेको छ ।

प्रदेशसभा बैठक तीन महिना देखी अवरुद्ध छ । समितिले नेतृत्व पाउन सकेको छैन । अहिले सम्म यहाँका चार वटा विषयगत समितिको कार्यालय समेत तयार भएको छैन ।

अहिले आफ्नै कार्यालय नहुँदा भिडियो कन्फ्रेन्स रुममा समितिका बैठकहरू बसिरहेका छन् । एउटा बैठक बस्दा अर्को समितिले पालो कुर्नु पर्ने बाध्यता रहेको छ यस्तो अवस्थामा लाखौँ खर्च गरेर निस्किएको भ्रमणको आलोचना सुरु भएको हो ।

उसो त भ्रमण टोलीले एउटा शीर्षकमा भएको रकम नपुगेर अर्को शीर्षकबाट पनि रकम पेस्की लिएर गएको प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ । सार्वजनिक लेखा समितिको अन्तर प्रदेश भ्रमण शीर्षकमा ५ लाख बजेट विनियोजन गरिएको छ ।

भ्रमण टोलीले ६ लाख २० हजार पेस्की लिएर भ्रमण निस्किएको जनाइएको छ । अन्य रकम भने अनुगमन मूल्याङ्कन तथा भ्रमणबाट व्यवस्थापन गरिएको छ ।

प्रदेश सभा सदस्य देखी कर्मचारी सम्मले घुम्न गएको पनि भत्ता पाउने छन् । सभामुख सहितका सांसदले दैनिक २ हजार ५ सय दैनिक तथा भ्रमण भत्ता बुझ्ने छन् भने अधिकृत स्तरका कर्मचारीले १ हजार ६ सय, सहायक स्तरका कर्मचारीले १ हजार २ सय तथा कार्यालय सहयोगी र चालकले भ्रमण जाँदा १ हजार भत्ता बुझ्ने छन् ।

तीन महिना देखी प्रदेश सभा चल्न नसकिरहेको बेला जम्बो भ्रमण टोलीले ६ लाख भन्दा बढी राज्य कोष खर्च गर्ने छ । ज्येष्ठ सदस्य धामी भने प्रदेश सभा बैठक नभएकै भएर अहिले भ्रमण निस्किएको बताउँछन् ।

उनी भन्छन्, ‘प्रदेश सभा बैठक सुरु भएपछि त हामी व्यस्त भइहाल्छौ नि अनुभव आदान प्रदान गर्न अहिले खालि भएको बेला भ्रमण निस्किएका हौँ ।’ सार्वजनिक लेखा समितिको भ्रमण भनिए पनि यहाँ उक्त समिति भन्दा बाहिरका कर्मचारीहरू पनि समेटिएका छन् । जसका कारण भ्रमण खर्चिलो हुने बताइएको छ ।

यस अघि पनि प्रदेश सभामा रहेका विभिन्न समितिहरू भ्रमणमा गइरहेका छन् । भ्रमणबाट फर्किएर आएपछि अन्य प्रदेशमा देखेको भोगेका विषयबाट सुदूरपश्चिम प्रदेशमा अझै अझै नयाँ कामहरू भने हुन सकेको छैन ।

समिति सदस्यकै विरोध

सार्वजनिक लेखा समितिको भ्रमण प्रति लेखा समितिकै सदस्यले विरोध जनाएका छन् । सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका माओवादीका प्रमुख सचेतक मान बहादुर धामीले बताए । उनले अहिले भ्रमणको औचित्य र आवश्यकता नभएको बताए ।

‘अहिले काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो भएको छ । समितिलाई सक्रिय बनाउनु छैन, सभापति चयन गर्नु छैन, विधेयक ल्याउनु छैन । यस्तो बेला भ्रमण उपयुक्त होइन’ उनले भने । महालेखाको प्रतिवेदनहरूमाथिको छलफल नै नगरेर लेखा समिति भ्रमणमा निस्किएको विषयमा उनले विरोध जनाए ।

तीन वटा आर्थिक वर्षको महालेखाको प्रतिवेदनहरूमाथिको छलफल बाँकी रहेको भन्दै उनले विगतको लेखा समिति र अहिलेको लेखा समिति बिच फरक नरहेको टिप्पणी व्यक्त गरेका हुन् ।

‘त्यो बेला नेपाली कांग्रेसले नेतृत्व गरेको थियो अहिले पनि उहाँहरूले गरिरहनु भएको छ’ उनले भने ‘कुनै उपलब्धि देखिएको छैन उस्तै उस्तै देखिएको छ ।’

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई लिनु पर्ने भन्दै उनले भने, ‘त्यसमा फेरी साँठगाँठ गरेर यिनीहरू चाहिँ गठबन्धन भित्रै वा कुनै कमजोर पात्रलाई ल्याएर आफ्नो दुनो सोझाउन प्रदेश सरकार र संसद्मा उपस्थित दलहरू लागिरहेका छन् । त्यसमा हाम्रो दलको तर्फबाट सहमति हुँदैन पनि हामीले भनिसकेका छौँ।’

उनले संसदीय सिकाइको लागि भ्रमण जाने कुरा सकारात्मक भए पनि अहिले समिति आफ्नो जिम्मेवारीबाट पन्छिरहेको उनले आरोप लगाए ।
भ्रमण टोलीमा सहभागी नभएका अर्का सांसद वीर बहादुर थापाले पनि अहिले भ्रमलाई प्राथमिकता दिनु पर्ने समय नभएको जनाए ।

‘अन्तिममा मलाई भ्रमण जानुहुन्छ भनेर सोध्नु भयो म भ्रमण जाने गरी फुर्सदमा थिएन ’ उनले भने ‘तर, अहिले थुप्रै कामहरूलाई थाती राखेर भ्रमण जानु पर्ने बेला भने होइन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर