एमाले अभियानका सन्देशहरू – Nepal Press

एमाले अभियानका सन्देशहरू

विषय प्रवेश

नेकपा एमालेको आयोजनामा गत महिनाको मङ्सिर १४ गतेबाट सुरु भएको मध्य पहाडी राजमार्गको पूर्व पश्चिम अभियान सम्पन्न भएको छ ।

मुलुकको एक प्रमुख राजनैतिक पार्टीले मुलुकमा व्यवस्थाका विरुद्धमा समेत आवाजहरू उठी रहेका बेला मुलुकको धेरै भूभागलाई समेट्ने गरी सम्पन्न गरेको अभियानको राजनैतिक र सामाजिक अर्थ छ ।

हामी अभियानलाई सफल बनाउनका लागि सुदूरपश्चिम प्रदेश कमिटी र मातहतका पार्टी कमिटीहरूका विभिन्न चरणमा छलफल र बैठकहरू सम्पन्न भएका थिए । पार्टीको निर्णय अनुसार हामी पनि कैलालीबाट झुलाघाटका लागि प्रस्थान गर्‍यौँ ।

हामी टीकापुरबाट पूर्व नगरप्रमुख तपेन्द्र रावल, एमालेका नेता तथा २०७९ को स्थानीय निर्वाचनमा टीकापुरबाट एमालेका मेयरका उम्मेदवार श्याम खत्री, एमाले कैलालीका सदस्य तथा टीकापुर नगर पालिका वार्ड नं.१ का वडाध्यक्ष मोहन विक र म लगाएको टिम थियो ।

पार्टीको अभियानमा सहभागी भइरहँदा मध्य पहाडी क्षेत्रमा आफू सहभागी भएका जिल्लाहरूमा देखिएका केही समस्या र सम्भावनाहरूलाई यो आलेखमा समेट्ने प्रयास गर्ने छु ।

अथाह सम्भावना बोकेको मध्यहाडी क्षेत्र

हामी डडेल्धुरा भएर बैतडीको झुलाघाट तर्फको यात्रामा लम्किरहँदा बाटोमा देखिएका केही रोचक प्रसङ्गहरूको अध्ययन गर्दै अगाडी बढ्यौँ । मध्य पहाड अपार सम्भावनाको खानी हो तर राज्यले लगानीका लागि वातावरण नबनाएका कारण अहिले उजाड छ ।

मानिसहरू सम्भावनाको खोजी गर्दै केही विदेश र केही सहर र सदरमुकाम केन्द्रित भएका कारण बस्तीहरू रित्ता देखिन्छ । धरै राम्रो प्राकृतिक सौन्दर्य अवलोकन गर्ने मानिसको अभाव देखिन्छ ।

हामी झुलाघाट तर्फको बाटो तताइरहँदा बैतडीको सतबाँझबाट अगाडी मुसेचौर भन्ने एक ठाउँ रहेछ । त्यहाँ सुदूरपश्चिम प्रदेश सरकारले ओखर र अङ्गुर लगाएको नमुना खेती गरेको रहेछ ।

जम्मा २९ हेक्टर जङ्गलको खाली ठाउँमा व्यवस्थित रुपमा स्याउ, नास्पत, आरु, आरुबखडा, खुर्पानी, ओखर, चुच्चे ओखर, कटुस, हलुवावेद, कागती बदाम, हेजलनट, लप्सी, जैतुन, किवि, आफ्नै फलफूल नर्सरी लगाएको एक नमुना प्रयास गरेको देखियो ।

मैले यो नमुना फलफूल खेतीलाई मध्य पहाड भरी फैलाउन सकिने प्रचुर सम्भावना देखेँ । मध्य पहाडका सामुदायिक वनहरूका खाली ठाउँमा हजारौँ हेक्टर जमिनमा यसरी फलफूल खेती गर्न सकेमा यसले छिमेक मै रहेका दुई मुलुकहरू भारत र चीनको करिब ३ अरब जनसङ्ख्या हाम्रो उपभोक्ता हुन सक्ने ठूलो सम्भावना छ ।

पहाडलाई फलफूलको केन्द्रका रूपमा विकास गर्नका लागि सरकारले नीति बनाउने हो भने अर्ग्यानिक फलफूल उत्पादनको नेपाल ठूलो केन्द्रका रूपमा विकास गर्न सकिने र यसले लाखौँ रोजगारी सिर्जना गर्नुका साथै मुलुकको आफ्नो उत्पादनको अहिले अवस्थाबाट मुलुकलाई फलफूल उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ ।

अहिले पहाडका जङ्गलबाट बेचिने काठ र जडीबुटीको कर मात्रै मध्य पहाडी क्षेत्रमा यस्ता उत्पादनमूलक आयोजनामा लगानी गर्ने सरकारले नीति बनाउने हो भने यसले फलफूलका क्षेत्रमा एक क्रान्ति नै ल्याउने देखिन्छ ।

परम्परागत अन्नको बजारीकरण

मध्य पहाडमा केही रैथाने जातका अन्नहरू छन् , जसलाई अर्ग्यानिक उत्पादनको विकास गरेर अन्तर्राष्ट्रिय बजारीकरण गर्न सक्ने प्रचुर सम्भावना देखिन्छ । उदाहरणका लागि पहाडमा कोदो लगाउनका लागि कुनै रासायनिक मलको प्रयोग गर्नु पर्दैन । पहाडका प्राय सबै जमिनमा कोदोको खेतीले राम्रो उत्पादन हुन्छ ।

अहिले पहाडका अधिकांश खेतबारीहरू बाँझो देखिन्छ । यसलाई त्यहाँको रैथाने जातको सजिलो खेती प्रणालीको विकास गरेर सरकारले प्रविधि र बजार दिन सक्ने हो भने यसले स्थानीयको आयआर्जन बढ्ने मात्र होइन, नेपाली अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय बजार समेत बढ्ने देखिन्छ ।

यस्तै जङ्गलमा पाइने प्राकृतिक जडीबुटीहरूको समेत सामुदायिक वनहरूले खेती गर्न सक्ने सम्भावना छ । जस्तै पहाडका जङ्गलहरूमा टिमुरको खेती गर्न सक्ने सम्भावना हुन्छ । जङ्गलको केही भागमा ठूलो मात्रामा टिमुर खेती गर्न सकिए यसले राम्रो आम्दानी दिन सक्छ ।

राजनैतिक र विकासको सन्देश

विशेष गरी वर्तमान गठबन्धन सरकार बनी सकेपछि मुलुक आर्थिक रूपमा कमजोर हुने क्रम बढ्दो छ । मुलुकको अर्थतन्त्रले दबाब खेपी रहेका बेला जनतामा निराशा बढ्न थालेको छ । सङ्घीय सरकार र सबै प्रदेशमा गठबन्धनका नाममा सरकार बनेको छ र एमाले सबै तिर प्रतिपक्षमा छ ।

सरकारले जनताका समस्या समाधान गर्न सकेको छैन । एमाले सरकारका पालामा कोरिएका समृद्धिका गोरेटाहरू भत्काउन वर्तमान सरकार उद्धत देखिन्छ ।

यसको मौका छोपेर व्यवस्थाका विरुद्धमा नै प्रतिगामीहरू जुरमुराउन थालेका छन् । सरकार मूक दर्शक बनेर बसेको छ । यस्तो कठिन अवस्थामा नेकपा एमाले समृद्धिको सपना लिएर जनताका बिचमा जानु उसको दायित्व हुन्छ ।

यसै क्रममा पश्चिमको झुलाघाट देखि पूर्वको चिवाभञ्ज्याङ सम्म एमालेको पूरै केन्द्रीय नेतृत्व सहित जानु र जनतासँग प्रत्यक्ष भेटघाट गरेर वर्तमान सरकारका अकर्मण्यताहरूका बारेमा जनतालाई सचेत गराउने र व्यवस्था विरोधीहरुको स्याल हुइयालाई चिर्ने काम समेत एमालेको अभियानले गरेको छ ।

यस्तै एमालेको यो अभियानले समृद्धिका लागि एमालेको नेतृत्व अनिवार्य रहेको कुरा जनतालाई बुझाउन समेत सफल भएको छ । विभिन्न ठाउँमा भएका जनसभाहरू र त्यहाँको उपस्थितिलाई हेर्दा जनताले आगामी निर्वाचनमा एमाले नेतृत्व स्थापित गर्ने गरी मतदान गर्न आतुर छन् भन्ने समेत देखाएको छ ।

निष्कर्ष

अहिले देश गम्भीर आर्थिक सङ्कटको निकट देखिन्छ । सरकारले अर्थतन्त्रलाई सम्हाल्न सकेन भने मुलुकमा थप समस्यामा समेत जान सक्छ । नेपालमा भूभागको ठूलो हिस्सा ओगटेको पहाडी क्षेत्रमा बसोबास गर्ने जनताका समस्यालाई बुझ्नु र आफू भविष्यमा सरकारमा जाँदा त्यसलाई हल गर्ने गरी योजना बनाउनु तथा जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन एमालेको अभियान सफल रह्यो । मध्य पहाडको प्रमुख समस्या बसाई सराई हो । जसले गाउँहरु रित्तिने क्रम जारी छ । यस्तै अर्को समस्या भनेको रोजगारी हो ।

मानिसहरू रोजगारीका लागि विदेश र सहर तिर जान थाले पछि अहिले गाउँहरु बालबालिका र वृद्धि वृद्धाको गाउँ हुन थालेको छ । अर्को व्यवस्थित बसाइको अभावमा छरिएर रहेका बस्तीहरू छन् । ती बस्तीहरूमा सरकारले सडक, बत्ती, बिजुली, स्वास्थ्य सेवा, शिक्षा लगायतका सेवाहरू पुर्‍याउन ठूलो लगानी गर्नु परेको छ ।यो पनि अर्को समस्या हो ।

मध्य पहाडी राजमार्ग बनिसकेपछि सो क्षेत्र समृद्धिको बाटोमा अगाडी बढ्ने अपेक्षा गरिएको थियो तर सरकारले तद्अनुरुपका कार्यक्रमहरू नल्याउँदा निराशा बढ्न थालेको देखिन्छ । एमाले जस्तो जिम्मेवार प्रतिपक्षले सम्पन्न गरेको अभियान पछि पार्टीले यसको राम्रो समीक्षा गर्ने छ र सरकारलाई ध्यानाकर्षण गर्ने छ । एमाले फेरी जनताबाट बहुमतले निर्वाचित भएर सरकारमा जाँदा यी सबै समस्याको समाधानका लागि योजना र कार्यक्रम ल्याउने छ भनेर उसले आफ्नो अभियान मार्फत जनतालाई स्वास्थ्य पारेको देखिन्छ ।

(लेखक नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य हुन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *