त्रिभुवन विमानस्थललाई प्रश्न: ३ महिना सुरक्षित राख्नुपर्ने सीसीटीभी फुटेज किन २१ दिनमात्रै ? – Nepal Press

त्रिभुवन विमानस्थललाई प्रश्न: ३ महिना सुरक्षित राख्नुपर्ने सीसीटीभी फुटेज किन २१ दिनमात्रै ?

काठमाडौं । सरकारी निकायले नै सरकारको नियम नमान्दा मंसिर २१ गते तस्करी भएर आएको १४ केजी सुनको अनुसन्धानमा केही बाधा पुगेको छ । सुन तस्करी गरेर ल्याउनेहरुको खोजी गर्ने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सुन तस्करी गर्नेहरुको अध्ययन गर्न भनेर ३ महिनाको सीसीटीभी फुटेज माग्दा जम्मा २१ दिनको मात्रै पाएको थियो ।

सरकारी कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, तस्करीको अखडा जस्तै देखिएको विमानस्थलमा जम्मा २१ दिनको मात्रै फुटेज रहने गरेको पाइएकाे छ ।

सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ संशोधन तथा परिमार्जनअनुसार सीसीटीभी फुटेज ३ महिना सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला सीसीटीभी फुटेज ३ महिना नरहेको भन्दै प्रहरीले सबै सरकारी निकायलाई ३ महिना फुटेज सुरक्षित राख्न सर्कुलर गरेको थियो । २०७९ साउन १० गते गृह मन्त्रालयले सबै सरकारी निकायलाई कार्यालयको सीसीटीभी फुटेज ३ महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको थियाे । सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको थियाे । तर, गृह मन्त्रालयले गरेको निर्देशन त्रिभुवन विमानस्थलले नमानेको देखिएकाे छ ।

मंसिर २१ गते दुबईबाट तस्करी भएकाे १४ केजी सुनको विषयमा छानबिन बनेको समितिले त्रिभुवन विमानस्थलसँग ३ महिनाको सीसीटीभी फुटेज माग्दा २१ दिनको मात्रै दिएको थियो । समितिका संयोजक तथा प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले २१ दिनको मात्रै सीसीटीभी फुटेज प्राप्त भएको बताए ।

सरकारी कार्यालयले ३ महिना फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था भएकाेबारे नेपालप्रेसकाे प्रश्नको जवाफमा पौडेलले भने, ‘हामीले ३ महिनाको माग्दा विमानस्थलले २१ दिनको मात्रै फुटेज रहने गरेको जवाफ दिएको हो । हामीले ३ महिनाको नै चाहियोभन्दा पनि २१ दिनको भन्दा धेरै फुटेज नरहने जानकारी गरायो ।’

३ महिनाको सीसीटीभी फुटेज नभएकाले अनुसन्धानमा नै केही समस्यासमेत भएकाे उनले बताए ।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले डेढ महिना अघिसम्म २१ दिनको मात्रै सीसीटीभी फुटेज रहने गरेको बताए । सरकारी व्यवस्थाअनुसार नै ३ महिना सुरक्षित राख्नु पर्ने व्यवस्था छ नि भनेर प्रश्न गर्दा उनले पहिले बजेट नभएर राख्न नसकिएको बताए ।

उनले भने, ‘कानुनी व्यवस्था भए पनि बजेट थिएन । ३ महिना फुटेज रहने सीसीटीभी जोडेको डेढ महिना भएको छ । विमानस्थलमा करिब ५ सय सीसीटीभी रहेको छ । सबैको अब ३ महिना फुटेज रहनेछ । पहिलाको धेरै कुरा नगरौं । अब कानूनी व्यवस्थाअनुसार नै भएको छ ।’


प्रतिक्रिया

One thought on “त्रिभुवन विमानस्थललाई प्रश्न: ३ महिना सुरक्षित राख्नुपर्ने सीसीटीभी फुटेज किन २१ दिनमात्रै ?

  1. विमानस्थल प्रशासनको मिलेमतो नभई तस्करी नै हुँदैन । त्याहाका सबैको संलग्नता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर