गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास – Nepal Press

गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गाउँपालिका–१ ग्वाल्टारमा करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरेका छन् ।

सिन्धुलीका ९ स्थानीय तहमध्ये ८ वटाले आफ्नै प्रशासनिक भवन निर्णाण गरी सेवा प्रवाह गरिसकेका छन् । तर, गोलन्जोररले आफ्नै भवन बनाउन सकेको थिएन ।

गाउँपालिका बनेदेखि नै घर भाडामा लिएर सेवा दिँदै आएको पालिकाले अब भने प्रशासनिक भवन बनाउने भएको छ । पालिकाका अनुसार पार्किङसहितको ४ तलामा ३८ वटा कोठाको भवन ६ करोड ११ लाख ११ हजार २५७ रुपैयाँ लागतमा निर्माण हुनेछ ।

भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पाइनस कन्ट्रक्सन प्रालि काठमाडौंसँग गत भदौ १२ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर सुशील काफ्लेले बताए ।

भवन शिलान्यास गर्दै अध्यक्ष बरालले भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद दाहालले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *