धनगढीका मेयरले एकलौटी गरेको भन्दै कार्यपालिका सदस्यहरूको विरोध – Nepal Press

धनगढीका मेयरले एकलौटी गरेको भन्दै कार्यपालिका सदस्यहरूको विरोध

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी निर्णय गरेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन् । आइतबार उपमहानगरपालिका पत्रकार सम्मेलन गर्दै उपस्थित वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्डमा मेयर हमालले एकलौटी गरेको आरोप लगाए ।

मङ्सिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयरले एजेन्डा बिना धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० को प्रस्ताव प्रवेश गराएको वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले बताए ।उनले उक्त प्रस्तावमा आफूहरूलाई पर्याप्त छलफल नै गर्न नदिएर राजपत्रमा प्रकाशित गरेको आरोप लगाए ।

‘बहुमत सदस्यहरूले पारित गरेपछि मात्रै उक्त कार्यविधि पारित हुनुपर्ने हो । हामीले त्यस दिन यसमा थप छलफल आवश्यक छ भनेका थियौँ’, उनले भने, ‘हामीले पारित नै नगरेको कार्यविधि मेयरले एकलौटी गरेर राजपत्रमा प्रकाशित गर्नु भयो ।’

उनले पैतृक सम्पत्तिमा के गर्ने,२० फिटको सडकका विषयमा के गर्ने, भन्ने विषयमा विवाद भएको हुँदा अर्को बैठकमा छलफल गर्ने सहमति हुँदाहुँदै राजपत्रमा प्रकाशित गरेको भन्दै मेयरको विरोध गरे । उनले पछिल्लो समय मेयर हमालबाट एकलौटी हुँदै गरेको भन्दै आफूहरू पनि जन निर्वाचित भएको स्मरण गराएका थिए ।

‘हामीलाई पनि धनगढी राम्रो बनाउनु छ । मेयर एक्लैले धनगढी राम्रो बनाउने होइन । हामीलाई पनि जनताले जिताएर यहाँ पठाएका हुन्’ उनले भने ‘हामीले उहाँलाई कहिल्यै बाधा पुराएका छैनौँ तर, हामीले जनताको पक्षमा बेल्दा त उहाँले सम्बोधन गरिदिनु प¥यो । ’

एक साता बढी समय देखी आफूहरूले उक्त कार्यविधिमा विरोध जनाउँदा पनि मेयरले चासो नदिएको उनको गुनासो थियो ।

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले आफूहरूलाई मेयर हमालले कार्यपालिका बैठकमा बोल्न समेत नदिने गरेको गुनासो गरे । लामो समय देखी मेयरलाई समस्या समाधान गर्न बोलाउँदा पनि आलटाल गर्ने गरेको उनले गुनासो पोखे ।

वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीले कार्यपालिका बैठकको निर्णय सोही दिन लेख्नु पर्ने माग गरे ।

‘आज निर्णय गरेर दुई्चार दिन पछि लेख्ने कुरा हुँदैन’ उनले भने ‘आज निर्णय भएपछि आजै लेख्नु पर्छ ।’ धनगढीमा भने मेयरले दुई चार दिन पछि निर्णय लेख्ने र आफूहरूलाई त्यस विषयमा जानकारी नगराउने गरेको उनले गुनासो पोखे ।

११ नम्बरका अध्यक्ष रुप बहादुर कुँवरले मेयर हमालले एकपक्षीय रूपमा कार्यविधि कार्यपालिका बैठकमा ल्याएको आरोप लगाए । उनले एजेन्डा विना कार्यपालिका बैठकमा प्रस्ताव ल्याएर मेयरले एकलौटी गरेको बताए ।

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुड्भरीले जग्गा सम्बन्धी कार्यविधि २०८० प्रक्रिया नै नपुराएर राजपत्रमा प्रकाशित गरिएको आरोप लगाए । ‘ऐन कानुन नियमावली र कार्यविधि कि सर्वसम्मत कि बहुमतबाट पारित भएपछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ’ उनले भने ‘यहाँ त्यो भएकै छैन मेयरले हतारमा राजपत्रमा प्रकाशित गर्नु भयो ।’

आफूहरूले कुनै पनि बुँदामा राम्ररी अध्ययन गर्न नपाएको उनले गुनासो गरे । विधान मस्यौदा समितिमार्फत कार्यविधि आउनु पर्नेमा मेयरले एजेन्डामै नराखेर कार्यविधि ल्याएको र पारित नहुँदै राजपत्रमा प्रकाशित गरेको उनको आरोप थियो ।उनी उक्त कार्य विरुद्ध सशक्त विरोध गर्ने जनाए ।

मङ्सिर २५ गते राजपत्रमा प्रकाशित भएको कार्यविधिबारे सुरुबाटै विरोध भइरहेको छ । यस विषयमा केही दिन पहिले बहुमत कार्यपालिका सदस्यहरूले खारेजीको प्रस्ताव पनि दर्ता गराएका छन् । तर, त्यसपछि बैठक भने बस्ने सकेको छैन ।

जग्गा सम्बन्धी कार्यविधि २०८० खारेजीको लागि कार्यपालिका सदस्यहरूले निर्णय गरेकै साँझ मेयर हमालले भने आफू उक्त कदमबाट पछि नहट्ने बरु राजीनामा दिन तयार हुने अभिव्यक्ति भिडियो सन्देश मार्फत दिएका थिए ।

सबैबीच उक्त जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट समेत परिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर