राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी अध्यक्षविरुद्ध आन्दोलनमा, माफी नमागे कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने (भिडिओ) – Nepal Press

राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी अध्यक्षविरुद्ध आन्दोलनमा, माफी नमागे कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफू अनुकूलका व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका सदस्यहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका सदस्यहरुले आचार्यले आफू अनुकुलका व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाइ कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

उनीहरुले सुदूरपश्चिम प्रदेशको बारेमा पछिल्लो निर्णय बिना शर्त फिर्ता लिन र वैधानिक र नीतिगत व्यवस्था विपरित एकलौटी निर्णय नगर्न आग्रह गरेका छन् । उनीहरुले संस्थागत नियमभित्र रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तिको अभियानमा एकजुट हुनको लागि आफूले गरेका गल्तीहरु सुधार गरी माफी माग्न दिउँसो २ बजेसम्मको समय दिएका छन् ।

आइतबार (आज) अपरान्हसम्म पनि अध्यक्ष आचार्यले सार्वजनिक माफी नमागे राजीनामा माग्दै आजैबाट राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यालय अनिश्चितकालिन तालाबन्दी गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघीय कार्यसमिति उपाध्यक्ष अनिता घिमिरेले तत्काल माग सम्बोधन नभए क्रमशः सबै प्रदेश कार्यालय समेत बन्द गरी माग पूरा नभएसम्म संघर्ष समिति गठन गरी आन्दोलन गर्ने चेतावनी दिए ।

उनले आन्दोलनमा सहभागी हुन अपाङ्गता अभियानकर्मी, राजनैतिक दलका अपाङ्गता सम्बन्धि भ्रातृ संघ, संस्थाहरु, प्रदेश तथा संघीय कार्यसमिति, अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाज, अपाङ्गता राष्ट्रिय निर्देशक समिति, मानवधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् लगायत यस अपाङ्गता क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण क्षेत्र निकाय तथा व्यक्तिहरुलाई आग्रह गरे ।

यस्तो छ उनको भनाइ

नेतृत्व लिने प्रमुख नेतृत्वकर्ता नै जिम्मेवार हुनु जरुरी छ । महासंघको प्रमुख नेतृत्वबाट यस्ता प्रकारका हर्कतहरु पटक–पटक भइरहेको अवस्थामा अब नेतृत्व सुधार हुने वा नेतृत्वको बारेमा विकल्प खोज्ने अवस्था देखिएको छ ।

त्यसैले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसम्पादन समितिले सुदूरपश्चिम प्रदेशको बारेमा पछिल्लो निर्णय बिना शर्त फिर्ता लिन र आज उप्रान्त विधिको शासनमा रहेर वैधानिक र नीतिगत व्यवस्था विपरित यसरी एकलौटी निरंकुश र गुण्डागर्दी शैली पूर्णरुपमा बन्द गरी संस्थागत नियमभित्र रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तिको अभियानको एकजुट हुनको लागि आफूले गरेका गल्तिहरु सुधार गरी आगामी दिनमा नदोहोर्याउनको लागि सबै प्रदेशमा विधानले दिएको अधिकार बमोजिम स्वतन्त्रतापूर्वक कार्य गर्ने उचित वातावरण बनाउने प्रतिवद्धता गर्ने र आफूले हालसम्म गरिएको गल्तिप्रति सदस्य संस्थाका प्रतिनिधिप्रति सार्वजनिक रुपमा माफी माग गरेको विज्ञप्ति आज मिति २०८०/०९/०८ गते दिउँसो २ बजेभित्र संघीय अध्यक्षको तर्फबाट जारी नभए यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय समितिको अध्यक्षको राजीनामाको समेत माग राखि दिउँसो ३ बजे भित्र राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यालय अनिश्चितकालिन तालाबन्दी गर्ने र तत्काल माग सम्बोधन नभए क्रमशः सबै प्रदेश कार्यालय समेत बन्द गरी माग पूरा नभएसम्म संघर्ष समिति गठन गरी निरन्तर आन्दोलन गरिने व्यहोरा यो प्रेस विज्ञप्तिमार्फत संघीय अध्यक्षलाई ध्यानाकर्षण गराइएको छ ।

यस अभियानमासाथ सहयोको लागि सम्पूर्ण अपाङ्गता अभियानकर्मी, राजनैतिक दलका अपाङ्गता सम्बन्धि भ्रातृ संघ, संस्थाहरु, प्रदेश तथा संघीय कार्यसमिति, अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाज, अपाङ्गता राष्ट्रिय निर्देशक समिति, मानवधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् लगायत यस अपाङ्गता क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण क्षेत्र निकाय तथा व्यक्तिहरुमा यस आन्दोलनमा साथ सहयोग तथा ऐक्यवद्धताको लागि समेत हार्दिक अनुरोध गर्दछाैं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *