अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अशोभनीय: नेता महर – Nepal Press

अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अशोभनीय: नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथि रहेका नेता महरले जनताको म्यान्डेटबाट चुनिएर संसदमा गएका नेता र मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए ।

‘सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो । वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनुभएको छ । यो स्वीकार्य हुँदैन’, उनले भने ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझै गति लिन नसकेको महरको टिप्पणी छ ।

‘सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो । त्यो हुन सकेको छैन । युवाहरूमा निराशा बढ्दो छ । दिनहुँ एयरपोर्टमा विदेसिने युवाको लर्को थपिँदो छ । सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ’, उनले भने ।

नेपाली कांग्रेस गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उनले औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर