अधिकांश सांसदको बैठक स्थगित गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित – Nepal Press

अधिकांश सांसदको बैठक स्थगित गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन माग गरेपछि आगामी पुष १६ गते ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो ।

अर्को बैठक बोलाउन समितिका सभापतिलाई आग्रह गरेपछि समितिका सभापति बिमला सुवेदीले आइतबारको बैठक स्थगित गरेकी हुन् । सभापति सुवेदीले ६२ जना संशोधनकर्तामध्ये ५६ जना सांसदलाई फोन सम्पर्क गरेर नै बोलाएकोमा १९ जनाले मात्र आउने प्रतिवद्धता जनाएको बताए । आगामी दिनमा संशोधनकर्तालाई पनि मोवाइलमा म्यासेज पनि पठाउने बताए ।

बैठकको सुरुमा नेकपा एमालेका सांसद रघुजी पन्तले सबै संशोधनकर्तालाई बोलाए मात्रै आउने भनेकोले यस अघिका बैठकमा सहभागि नभएको बताए । त्यसैले पनि अर्को बैठकमा सबै संशोधनकर्तालाई बोलाएर मात्रै छलफल गरेर अघि बढ्नुपर्ने भन्दै बैठक स्थिगितको माग गरे । बनाएको कानूनमा प्रश्न उठ्न नहुने र प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए ।

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले केहि संशोधनकर्तालाई मात्रै बैठकमा बोलाएर विधेयक पारित गराउनु बदनियतपुर्ण भएको बताए । त्यसैले सबै संशोधनकर्तालाई बोलाउन र नआउने भए नआउनेको गल्ती हुने बताए । तर, आउनेलाई त बोलाउनुपर्ने उनको भनाई छ । आजको बैठक स्थगित गर्न सहि प्रक्रियाबाट अघि बढ्न आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कम्तिमा हप्ता दिनको समय मागेर ५५ जनालाई नै बोलाएर आजको बैठक स्थगित गर्नका लागि अनुरोध गरे । नेकपा एमालेका प्रतिक्षा तिवारीले सबै संशोधनकर्तालाई बोलाएर अर्को बैठक बोलाउन र आजको बैठक स्थिगित गर्न माग गरिन् ।

नेपाली कांग्रेसका सांसद रमेश लेखकले एउटै बैठकमा सबैलाई बोलाउदा असहज हुने भएकाले छुट्टा छुट्टै समूहसंग पनि छलफल गर्न सकिने बताए । तर, अधिकांश सांसदको माग पनि अर्को दिन सबै सदस्यलाई बोलाएर गर्दा राम्रो हुने भएकाले त्यसै अनुसार गर्न समिति सभापतिलाई सुझाव दिए । जनता समाजवादी पार्टी (जसपा)का सांसद रञ्जु झाले जति जना आउन सक्छन् सबै जना संशोधनकर्तालाई बोलाएर छलफल गर्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर