महानगरका विद्यार्थीले क्रिसमसमा ‘सान्टा’ बन्नु नपर्ने, अभिभावकहरु बालेनसँग खुशी – Nepal Press

महानगरका विद्यार्थीले क्रिसमसमा ‘सान्टा’ बन्नु नपर्ने, अभिभावकहरु बालेनसँग खुशी

काठमाडौं महानगरले आइतबार विद्यालयहरुमा अनुगमन गर्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल इंग्लिस बोर्डिङ स्कुलको कक्षा ३ मा पढ्ने एन्जल दाहालले क्रिसमस आउन साता बाँकी हुँदै बाबालाई सान्टाको टोपी किनिदिन भनिसकेका छन् । पुस ९ गते क्रिसमसको अवसरमा स्कुल सार्वजनिक बिदा हुनाले ८ गते आइतबार सान्टाको टोपी र दाह्री लगाएर आउन स्कुलले उर्दी गरेको छ ।

स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि उनले बाबालाई गत बुधबार नै सान्टाको लुगा किनिदिन भनेका हुन् ।

अनामनगरको एक मन्टेश्वरीमा दुई छोरा पढाइरहेकी अञ्जना घिमिरेलाई गत वर्ष मन्टेश्वरीबाट नोटिस आयो । नोटिसमा क्रिसमसको अघिल्लो दिन दुबै छोरालाई सान्टाको लुगा लगाएर पठाइदिन भनिएको थियो । उनी स्कुलको नोटिस देखेर हैरान भइन् । उनले पूरै लुगा नसके पनि टोपी किनेर लगाइदिइन् ।

उनी भन्छिन्, ‘पोहोर साल त टोपीमात्र किनेर पठाइदिएको थिएँ । अरु साथीले पूरै सेटसहित गिफ्ट लिएर गएका रहेछन् । पछि छोराहरु स्कुलबाट आएपछि गुनासो गरे, हाम्रो त टोपीमात्र भयो, अरु सान्टा बनेर आएका थिए भनेर ।

उनका अनुसार चाडपर्वपिच्छे लुगा किनेर लगाइदिन सकिन्न । यस वर्ष पनि टिचरहरुले पूरै सेट कपडा र गिफ्ट पनि ल्याउ है भनेका छन् । उनी के गर्ने, कसो गर्ने दोधारमा छिन् । चाडपर्वको बहाना बनाएर विद्यालय पोशाकभन्दा फरक कपडा किन्न बाध्य बनाउने गरेको उनको दुःखेसो छ ।

‘एक त निजी विद्यालयको पढाइ शुल्क नै महँगो, त्यहीमाथि सबै चाडपर्वमा छुट्टै कपडा किनिदिनुपर्ने’, अञ्जना गुनासो गर्छिन् ।

उनी जस्तै पीडित छन् काठमाडौंको मूलपानीकी आराधना सापकोटा । उनको ४ वर्षकी छोरी आराध्या नर्सरीमा पढ्छिन् । उनलाई आइतबार सान्टाको टोपी लगाएर स्कुलमा आउनु भनेको छ । चाडपर्वपिच्छे विद्यार्थीलाई फरक लुगा किन्न स्कुलले निर्देशन दिने गरेको छ ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । निजी विद्यालयमा चाडपर्वको नाममा थरिथरि लुगा किन्न लगाउने प्रवृत्ति बढ्दो छ । अझ मन्टेश्वरीमा पढ्ने विद्यार्थीहरुलाई त घरबाट कपडा किनेर नपठाइएमा स्कुल आफैंले कपडा किनेर बिल बच्चालाई भिडाइदिने गरिएको छ । यस्तो प्रवृत्तिबाट अभिभावकहरु वाक्कदिक्क भएका छन् ।

क्रिश्चियन धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमस आउन केही दिनमात्रै बाँकी छ । छठ पर्व सकिएलगत्तै काठमाडौंका सपिङ मल, मुख्य बजारहरुमा क्रिसमस लक्षित झिलिमिली, सान्टा क्लजको पहिरनसँगै गिफ्ट राख्न थालिएको थियो । पछिल्लो एक सातायता मुख्य शहरबजारमा क्रिसमसको चहलपहल बढेको छ ।

केही वर्षअघिसम्म क्रिसमसका कपडाहरु बजारमा खासै ब्रिकी हुँदैन थियो । तर, पछिल्ला वर्षहरुमा भने बजार ह्वात्तै बढेको छ । ७-८ दिनदेखि नै बजारमा सान्टाका कपडाहरुको माग बढ्नुको कारण निजी स्कुल र मन्टेश्वरीहरुले विद्यार्थीहरुलाई अनिवार्य गराउनु हो । सामुदायिक विद्यालयले क्रिसमस लक्षित कपडाहरु लगाउन दबाब दिने गरेका छैनन् ।

तर, अधिकांश निजी विद्यालयबाट भने ती कपडाहरु क्रिसमस आउनु एक साताअघि नै किन्न निर्देशन आएको छ । अझ निजी विद्यालयका साना विद्यार्थीहरुलाई सान्टाको लुगा नलगाइ विद्यालय नै नपठाउन अभिभावकलाई नोटिस पठाइन्छ ।

तर, यस पटक काठमाडौं महानगरपालिकाभित्र छोराछोरी पढाउने अभिभावकले राहत महसुस गरेका छन् । काठमाडौं महानगरपालिकाले शुक्रबार चेतावनीसहितको सूचना जारी गरेपछि अभिभावकहरुले राहत महसुस गरेका हुन् ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा चाडपर्वका नाममा थरिथरि पोशाक किन्न नलगाउन विद्यालयहरुलाई आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानूनबमोजिम दण्ड सजाय हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।’

महानगरले फरक कपडा किन्न लगाउने स्कुललाई कारबाही गर्ने चेतावनी दिएपछि खुशी लागेको अभिभावक दीपक बस्नेत बताउँछन् ।

उनले भने, ‘यो निर्णयले हामी अभिभावकहरुलाई थोरै भए पनि राहत भएको छ । अब त स्कुलले लुगा किन्न दबाब नदेला कि !’

नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरीले काठमाडौं महानगरपालिकाले गरेको निर्णय एकदमै सान्दर्भिक भएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरले चालेको कदम सान्दर्भिक र गर्नैपर्ने कुरा थियो । बालबालिकालाई रमाइलोको नाममा नयाँ कपडा लगाएर जानुपर्ने कुरा धर्म-संस्कृतिको नाउँमा विकृति हो । यो निजी स्कुलहरुकाे अभिभावकलाई थप भार बोकाउने काम पनि हो ।’

चाडपर्वको नाममा यसरी कपडा किन्न लगाएर स्कुलले कमाइ खाने भाडो बनाएको उनको आरोप छ ।

अध्यक्ष पुरी भन्छन्, ‘स्कुलहरुले हिजो हाम्रो धर्म-संस्कृति कसरी अघि बढेको थियो भनेर बुझ्नु र बुझाउनुपर्ने ठाउँमा कमाइ खाने भाँडो बनाएका छन् विद्यार्थीहरुलाई ।’

यस्तै नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी विद्यालयमा धर्म-संस्कृति चिनाउन र बुझाउन पाइए पनि यो वा त्यो वस्तु किन्नू भनेर दबाब दिन नहुने बताउँछन् ।

‘महानगरपालिकाको निर्णय एकदमै राम्रो हो । स्कुलले एउटा पोशाक तोकेको हुन्छ । त्योदेखि बाहेक अरु व्यापार गर्न पाइएन । अरु चिज भनेको ऐच्छिक हो’, उनले भने ।

भण्डारी जाेड दिन्छन्, ‘धर्म-संस्कृति, रीतिरिवाज चिनाउन पाइन्छ । त्यसका लागि सामानहरु किनाउन पाइएन । स्कुलको काम भनेको पढाउने हो, सामान किनाउने होइन ।’

काठमाडौं महानगरपालिकाले मात्र होइन देशका ७५३ वटै स्थानीय तहले यस्तो किसिमको निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

प्याब्सन पनि सकारात्मक

निजी विद्यालयहरुको संस्था प्याब्सनमन केन्द्रीय प्रमुख सल्लाहकार टीकाराम पुरी पनि अनावश्यक पोशाकहरु अनिवार्य गराउन नहुने बताउँछन् । महानगरको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ ।

‘स्कुलको ड्रेस दुई खालको हुन्छ । एउटा सामान्य भइहाल्यो, अर्को अतिरिक्त क्रियाकलाप गर्दा लगाउने । त्यो पहिलेदेखि नै चलिआएको चलन हो । तर, विभिन्न कार्यक्रमपिच्छे कपडा किन्न लगाउँदा विद्यार्थी र अभिभावकलाई बढी भार भयो । यो अनिवार्य गराउनुहुँदैन भन्ने कुरा स्वाभाविक हो । यसलाई हामीले अन्यथा लिनुपर्दैन’, उनले भने ।

महानगरले जारी गरेको नोटिसलाई लिएर स्कुलहरुले अन्यथा लिन नहुने उनको तर्क छ ।

‘अन्यथा लिनुपर्ने आवश्यकता छैन । स्कुलहरुले नमान्ने भन्ने प्रश्नै आउँदैन । किनभने स्कुलहरु आफैं नै अभिभावकप्रति जवाफदेही छन्’, उनले थपे ।

क्रिसमस लक्षितमात्र होइन: काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइरालाले आइतबारदेखि विद्यालयहरुमा अनुगमन सुरु गरिने बताए । महानगरले कुनै एउटामात्रै चाडलाई लक्षित गरी नभनेको उनको भनाइ छ ।

‘सबै चाडपर्वको लागि भनेको हो । कुनै एउटा चाडलाई मात्र लक्षित गरेर भनेको होइन । हामी आइतबार विशेष निगरानी गर्छौं’, उनले भने ।

यदि पोशाक किन्न बाध्य पारेको पाइएमा स्कुल र शिक्षक कारबाहीमा पर्ने कोइराला बताउँछन् ।


प्रतिक्रिया

One thought on “महानगरका विद्यार्थीले क्रिसमसमा ‘सान्टा’ बन्नु नपर्ने, अभिभावकहरु बालेनसँग खुशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *