प्रधानमन्त्रीलाई कोशीका मुख्यमन्त्रीको चेतावनी- संविधान प्रदत्त अधिकार हस्तान्तरण नगरे संघर्षमा उत्रन्छु – Nepal Press

प्रधानमन्त्रीलाई कोशीका मुख्यमन्त्रीको चेतावनी- संविधान प्रदत्त अधिकार हस्तान्तरण नगरे संघर्षमा उत्रन्छु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

सुनसरीको भोक्राहा नरसिंगमा निर्माण गरिएको ४०० केभीएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटनमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीज्यूलाई आग्रह छ’, उनले भने, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’

मुख्यमन्त्री कार्कीले विद्युतकै सन्दर्भमा प्रदेशले अधिकार नपाएको गुनासो गरे ।

‘संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ । त्यो हामीले पाउनु पर्नेछ’, उनले भने, ‘त्यसका लागि संघीय सरकार र संघीय संसदसँग सहकार्य र संघर्ष दुबै गर्नु पर्नेछ ।’

सबस्टेसन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए ।

निजी क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सकिएमा विकासको गति बढ्ने उनको भनाइ छ ।

संघीय सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको सबस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर