२०८० सालमा नयाँ ग्रेडिङ प्रणालीअनुसार एसईई हुन्छ, भ्रममा नपरौं: अध्यक्ष डा. शर्मा – Nepal Press

२०८० सालमा नयाँ ग्रेडिङ प्रणालीअनुसार एसईई हुन्छ, भ्रममा नपरौं: अध्यक्ष डा. शर्मा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले २०८० सालको विद्यालय शिक्षा परीक्षा (एसईई) नयाँ ग्रेडिङ प्रणालीअनुसार हुने बताएका छन् । धेरैलाई अब एसईई हुँदैन कि भन्ने भ्रम रहेको भन्दै उनले नयाँ ग्रेडिङ प्रणालीअनुसार कम्तीमा ३५ प्रतिशत ल्याउनैपर्ने जानकारी दिए ।

नेसनल प्याव्सन भक्तपुरले २०८० सालको एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयका कक्षा १० का विद्यार्थीहरु लक्षित गरेर आयोजना गरेको परीक्षा मार्गनिर्देशन अभिमुखीकरणमा अध्यक्ष डा. शर्माले भने, ‘२०८० सालको एसईई परीक्षा हुन्छ । कोही पनि भ्रममा नपर्नुहोला । नयाँ ग्रेडिङ प्रणालीअनुसार कम्तीमा ३५ प्रतिशत ल्याउनैपर्छ ।’

उनले विद्यार्थीलाई निरन्तर अभ्यास गर्दै जान सुझावसमेत दिए ।

अभिमुखीकरणमा उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवन नै भविष्य बनाउने समय भएको औंल्याए । ‘शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुन्छ । त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सही सदुपयोग गर्नुपर्छ’, उनले भने ।

उनले पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर नफाल्न आग्रह गरे ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कोभिड १९ पछि विद्यार्थीहरुको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालीन अक्षराकंन प्रणालीको कारण नपढे नि उत्तीर्ण भइन्छ भन्ने भ्रम विद्यार्थी र अभिभावकहरुमा रहेकाले त्यसलाई चिर्न अभिमुखीकरण गरिएको बताए ।

विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष तयारी एवं सिकाइमा सहभागी बनाउन यस्ता अभिमुखीकरण गर्दै जाने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *