नगरपालिकाका उपमेयर लागे करोडौँ लगानी गरेर पर्यटन व्यवसायमा – Nepal Press

नगरपालिकाका उपमेयर लागे करोडौँ लगानी गरेर पर्यटन व्यवसायमा

रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका उपमेयर सूर्यप्रसाद दुवेले साथीहरूको साथमा करोडौँ लगानी गरेर पर्यटन व्यवसायमा हात हालेका छन् । राजनीति गर्नेले यसरी लगानी गरेर साथ दिएपछि उनका सहकर्मी पनि खुसी भएका छन् ।

दुवेले अन्य तीन जनाको सहकार्यमा रुपन्देहीको भैरहवामा ३० करोड लगानीमा होटल व्यवसाय सुरु गरेका हुन् ।

भैरहवा क्षेत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा सुधार आउने अपेक्षाले धमाधम होटल क्षेत्रमा लगानी बढिरहेको छ ।

पछिल्लो पटक सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभात पथमा ३० करोड लगानीमा होटल अल्ट्रा इन्टरनेशनल प्रालि सञ्चालनमा आएको छ ।

४ जनाको संयुक्त लगानीमा साढे ३ कट्ठा क्षेत्रफलमा होटल सञ्चालनमा आएको प्रबन्ध निर्देशक सूर्यप्रसाद दुवेले बताए ।

उनी नेकपा एमालेबाट पछिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरमा निर्वाचित भएका हुन् । त्यसो त उनी उपमेयर हुनु अगावै पनि होटल क्षेत्रमा लगानी गरिसकेका हुन् ।

आर्थिक केन्द्रको रूपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा होटल सञ्चालनमा आएको दुवेले बताए ।

‘भारतको सीमा नजिक रहेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको र होटल व्यवसाय सञ्चालन सफलतापूर्वक सञ्चालन हुने कुरालाई मध्यनजर गर्दै यहाँ सञ्चालनमा ल्याएका छौँ । पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने पनि हाम्रो उद्देश्य हो ’उनले भने ।

भैरहवाको होटलको सञ्चालकमा दुवेलाई भविश्वर दुवे, तिलकप्रसाद भण्डारी र बालकृष्ण देवकोटाले साथ दिएका छन् ।

दुवेले आफ्नो परिवारले २०५८ सालदेखि काठमाडौंको सुन्धारामा सुविधा गेष्ट हाउस सञ्चालन गर्दै आएको बताए ।

उनले केही समयपश्चात् होटलमा ग्रामीण पहाडी भेगको परम्परागत खाना उपलब्ध गराउने लक्ष्य रहेको बताए ।

उनले राज्यले व्यवसायलाई साथ दिन नसकेको जस्तो अनुभूति भएको बताए । उनले सरकारले व्यवसायीलाई संरक्षण गर्न नसके व्यवसायीहरू पलायन हुने अवस्था आउने सक्ने बताए ।

होटलमा स्वीट, सेमी-स्वीट, डिलक्स, सुपर-डिलक्स गरी ४० वटा कोठा, सेमिनार हल, बैंक्वेट हल, रेष्टुरेण्टलगायत सुविधा रहेको उनले जानकारी दिए ।

विशेष गरी स्थानीय औद्योगिक व्यावसायिक प्रतिष्ठानबाट आउने, लुम्बिनीमा आउने बुद्धिष्ट र भारतीय पर्यटकलाई लक्षित गरिएको उनको भनाइ छ ।

होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएको दुवेले बताए । होटल पूर्ण क्षमतामा सञ्चालन गर्न अझै एक/डेढ महिना लाग्ने र होटलमा ग्राहक आउने क्रम सुरु भइसकेको उनले बताए ।

होटलका महाप्रबन्धक रिजन सुवालले खाना र सेवालाई प्राथमिकता दिएको बताए । उनले होटलमा स्वादिलो र गुणस्तरीय खाना र नास्ता उपलब्ध गराइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर