महिलावाद र पार्टीको एजेण्डा बाहिरको दुनियाबारे अनेमसंघलाई विज्ञले दिए यस्तो सुझाव – Nepal Press

महिलावाद र पार्टीको एजेण्डा बाहिरको दुनियाबारे अनेमसंघलाई विज्ञले दिए यस्तो सुझाव

काठमाडौं । महिला र मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञले पार्टीका निर्देशन मात्र पालना गर्ने नभई समग्र महिलाका समस्या उठाउन सुझाव दिएका छन् । एमालेनिकट अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले मंगलबार काठमाडौंमा गरेको अनेमसंघको नीति कार्यक्रम भावी रणनीतिवारे विज्ञहरूसँग छलफलमा उनीहरुले आलोचनात्मक सुझाव दिएका हुन् ।

छलफलमा सहभागीले अनेमसंघले पार्टीका एजेण्डा बोक्ने मात्र हो वा समग्र महिलाका मुद्दा बोक्ने हो त्यसमा स्पष्ट हुनुपर्ने बताए । उनीहरुले महिलावादका विषयमा अनेमसंघको बुझाइ के हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

अनेमसंघको सरकार, सदन, सडक र जनतासंग प्रत्यक्ष संलग्नता भएकाले संघले उठाएका मुद्दाहरुले विशेष अर्थ राख्ने उनीहरुको भनाई थियो ।

अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी भएका विज्ञहरुले सरकारले उलपब्ध गराएको तथ्याकं विश्वास गर्न लायक नभएको भन्दै मन्त्रालयका सचिवहरू नै विज्ञ नभएकाले यस्तो समस्या आएको बताए ।

उनीहरूले मन्त्रालयमै पुन:संरचना आवश्यक भएको भन्दै अनेमसंघलाई त्यसको अगुवाइ गर्न सुझाव दिएका छन् ।

कृषि र खाद्य सुरक्षा विज्ञ यमुना घलेले जुम्लाको स्थानीय स्याउ विस्थापन गर्न विदेशमा तयार पारिएको स्याउको विरुवा वितरण गरिएको भन्दै स्थानीय विउ बिजनको विनाशले महिला कमजोर हुने बताइन् ।

घलेले स्थानीय स्याउवाट महिलाहरूले सुकुटी र वाइन बनाएर आम्दानी गरिरहेका थिए भन्दै अहिले विदेशी विउको बिरुवावाट तयार भएको स्याउवाट सुकुटी नबन्ने भएकाले महिलाको आम्दानी बन्द हुने बताइन् ।

सामाजिक अभियन्ता पुर्णशोभा चित्रकारले अनेमसंघले अब आफ्ना मुद्दा परिस्कृत गर्नुपर्ने सुझाव दिइन् । महिलाले गरेका उदाहरणीय कामको प्रचार प्रसारसमेत नभएको भन्दै मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलले अरु महिलालाई प्रोत्साहन दिन पनि त्यस्ता कामको प्रचार हुनुपर्ने बताए ।

प्रवासन विज्ञ सरु जोशीले वैदेशिक राजगारीमा जाने महिलाका विषय राष्ट्रिय मुद्दा बनाउन आग्रह गरिन् । वैदेशिक राजगारीमा गएका पुरुषको निधन हुँदा परिवारका सदस्यले क्षतिपूर्तिवापत २०, २२ लाख रूपैयाँ पाउने तर महिलाको मृत्यु हुँदा कुनै ब्यवस्था नभएको उनको भनाइ थियो ।

शिक्षण अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रक्षा श्रेष्ठ र स्वास्थ्यकर्मी तारा पोख्रेलले पनि महिला स्वास्थ्यप्रति सरकार उदासिन भएको भन्दै अनेमसंघलाई सरकार प्रति दबाब बढाउने कामको नेतृत्व गर्न सुझाव दिए ।

महिला अधिकारकर्मी शान्ता लक्ष्मी श्रेष्ठ, मञ्जु गुरुङ, लता प्याकुरेललगायतले पनि अनेमसंघलाई पार्टीका मात्र मुद्दा बोकेर समग्र महिलाको समस्या अनेमसंघले सम्बोधन गर्न नसक्ने सुझाव दिएका थिए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य विन्दा पाण्डेको पनि सहभागीता थियो ।

कार्यक्रममा अनेमसंघका उपाध्यक्ष शर्मिला कार्की र डा विमला राईले अनेमसंघको महिला अधिकारका सवालमा अनेमसंघको प्राथमिकताका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए ।

अनेमसंघका महासचिव पेम्बा लामाले सहभागी विज्ञहरुवाट आएका सुझावलाई संघको सचिवालय बैठकमा प्रस्तुत गरी त्यसवाट आफ्नो धारणा बनाउने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर