विवादमा धनगढीको प्लटिङ मापदण्ड, मेयरको निर्णय विरुद्ध कार्यपालिकामा गठबन्धन – Nepal Press

विवादमा धनगढीको प्लटिङ मापदण्ड, मेयरको निर्णय विरुद्ध कार्यपालिकामा गठबन्धन

कैलाली । धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गर्नको लागि गरेको नयाँ मापदण्ड विवादित बनेको छ ।

धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले पारित गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० खारेज गर्न कार्यपालिका सदस्यहरूले मेयर गोपाल हमाल विरुद्ध गठबन्धन गरेका छन् ।

मंगलवार धनगढीको एक होटेलमा जम्मा भएका धनगढी उपमहानगरपालिकाका वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले तत्काल उक्त निर्णय खारेज गर्नको लागि दबाब दिने निर्णय गरेका छन् ।

कार्यपालिका ज्येष्ठ सदस्य मानबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले नगर प्रमुख गोपाल हमालको एकल निर्णयबाट राजपत्रमा प्रकाशित सो कार्यविधि खारेजी गराउने निर्णय गरेका हुन् ।

‘धनगढी उपमहानगरपालिकाको २९ औँ कार्यपालिका बैठकमा छलफलका लागि प्रवेश भएको कार्यविधि पारित नहुँदै नगर प्रमुख हमालको एकल निर्णयमा राजपत्रमा प्रकाशित भयो’ निर्णयमा भनिएको छ ‘उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिकाको सदस्यज्यूको पूर्ण असन्तुष्टि रहेको उक्त कार्यविधि खारेज गराउने सर्वसम्मत निर्णय गरियो ।’

यो पनि पढ्नुहाेस्- धनगढीमा प्लटिङको नयाँ मापदण्ड, मेयरले एकलौटी गरेको आरोप

अघिल्लो साता आइतबार बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको र सोमबार उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरिएको राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । तर, कार्यपालिका सदस्यहरूले भने सुरु वाटै उक्त कार्यविधिमा विरोध जनाउँदै आइरहेका थिए ।

उक्त कार्यविधि अनुसार अब जग्गा प्लटिङ गर्दा जग्गामा बाटोको चौडाइ कम्तीमा १० मिटरको हुनु पर्ने नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्ध व्यास बाटोको चौडाइ भन्दा २० प्रतिशतले बढी हुनुपर्ने जनाइएको छ ।

उक्त कार्यविधिमा जग्गा प्लटिङको इजाजत सम्बन्धी निर्णय गर्न समिति गठन गर्ने उल्लेख गरिएको छ ।

नगर प्रमुख संयोजक रहने उक्त समितिमा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास समिति संयोजक, सहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख, कानुन शाखा प्रमुख सदस्य रहने उल्लेख गरिएको छ ।

उक्त समितिमा सम्बन्धित काम गर्न खटाएको इन्जिनियर सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

कार्यपालिका सदस्यहरूले थप छलफल र परामर्श पछि मात्रै उक्त कार्यविधि पारित गर्ने नगर्ने भन्ने विषयमा पुग्ने बताएका छन् । मंगलवार जम्मा भएका वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले उक्त कार्य विधि खारेज नहुँदा सम्म आफूहरू एक भएर प्रतिवाद गर्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर