वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयोः विष्णु पौडेल (भिडिओ) – Nepal Press

वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयोः विष्णु पौडेल (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे ।

मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले काँगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनेर प्रश्न पनि गरे ।

उनले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याए ।

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे ।

उपाध्यक्ष पौडेलकाे भनाइ :

यो सरकार चाँही सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ । देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो । यो सरकार जति दिन बस्छ, देशले त्यति दुःख पाउने हो । त्यतिधेरै देश ओरालो लाग्ने हो । यो सरकार असफल सरकार हो । यस्तो प्रकारको सरकार बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना होइन । नेपाली जनताको जनादेश पनि यो होइन । यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन । तर अव के छ भने संसदको अंक गणितले यही सरकार बन्यो । यो खिचडी सरकारले देशलाई अगाडि लैजान सक्दैन ।

यसको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन । बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन । यो असफल सरकार हो । सरकार त असफल भयो । तर सरकार फेर्नका लागि, सरकार बदल्नका लागि संसदको अंक गणितले साथ दिनु पर्छ । त्यो संसदको अंक गणितले साथ दिन्छ कि दिँदैन भन्ने कुरा चाँही एमालेको इच्छाले मात्रै तय गर्दैन । हामी देखिराखेका छौं–सरकारमा सहभागी दलहरु र त्यसका नेताहरुले भनिराखेका छन–यो सरकार असफल भयो । यसलाईं नम्बर दिनुपर्‍यो भने १० प्रतिशत नम्बर दिन्छु भनिराखेका छन साथीहरु । १० प्रतिशत नम्बर पनि दिने, सरकार पनि बोकेर हिँडने पनि देखेका छौं हामी फेरी ।

त्यसकारणले प्रश्न के छ भन्दाखेरी यो सरकार असफल भयो भन्ने कुरा स्वयम् सत्तारुढ दलका नेताहरुले पनि भनिरहनु भएको छ । असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन ? प्रश्न यो हो । तर के छ भन्दाखेरी फेरि पनि नेकपा एमाले जनमतको हिसावले देशको पहिलो पार्टी हो । संसदको सिट संख्याको हिसावले हाराहारीको तर दोस्रो सिट संख्यामा छौं । हाम्रो संख्या सरकार बनाउनका निम्ति र सरकार फेर्नका निम्ति पुग्दैन । पर्याप्त छैन ।

त्यसले गर्दा यो सरकार कतिसम्म रहन्छ वा रहँदैन भन्ने कुरा संसद भित्रको अंकगणितले तय गर्ने कुरा भयो । तर आम नेपालीले यो क्षेत्र वा त्यो क्षेत्र भन्ने छोडौं । निजी क्षेत्रको कुरा गर्नुस् । युवा विद्यार्थीको कुरा गर्नुस् । बुद्धिजीविको कुरा गर्नुस् । पेशा कर्मीको कुरा गर्नुस् । मजदुर, किसानको कुरा गर्नुस् । सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छन । असहमत छ । र, यो सरकारले देशलाई रसातलतर्फ लगिरहेको छ । यो सरकार सम्पूर्ण रुपमा असफल रह्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर