एमाले ‘संकल्प यात्रा’का ५ सन्देश – Nepal Press

एमाले ‘संकल्प यात्रा’का ५ सन्देश

मध्यपहाड नेपालीको मुख्य बसोवासको क्षेत्र हो । देशभित्रका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौ ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरुको मुख्य वासस्थान पनि यही क्षेत्र हो । यी सात वटा जातिको बीचमा अन्तरघुलन गर्न र नेपालमा ऐतिहासिक ढंगले ठूलो जनसंख्या बसोवास गर्ने यो क्षेत्रका जनताको जीवनस्तर र आर्थिक परिवर्तनमा भएको विलम्बका बारेमा एकल वा समूहगत छलफल गर्न नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ शुरु गर्‍यो । २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको हीरक वर्षको अवसर पारेर पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाममा नामकरण गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पश्चिम विन्दुबाट शुरु गरिएको संकल्प यात्रा १८ दिनपछि पाँचथर जिल्लाको चिवा भञ्ज्याङमा १ हजार ८७९ किलोमिटरको यात्रापछि आइतबार टुंगिएको छ ।

२०७३ साल फागुन २१ गते महेन्द्र राजमार्गमा मेची-महाकाली यात्रा गरेको एमालेले सात वर्षपछि पुष्पलाल लोकमार्गमार्फत मध्यपहाडका २६ वटा जिल्लामा पार्टी नेतृत्व भौतिक रुपमै पुगेर यस क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै यात्रा सम्पन्न गरेको हो । ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ नेपालको आञ्चलिक राजनीतिमा एक नवीनतम प्रयोगमात्रै होइन, विकासका साझेदारहरुको ध्यान केन्द्रित गर्ने बहुआयामिक रणनीति पनि हो । संघ र सात वटै प्रदेशमा प्रमुख प्रतिपक्ष बनेको एमालेले सबैलाई एक पटक सोच्न बाध्य पार्ने गरी आयोजना गरेको यात्राले लिएका लक्ष्य, उद्देश्य र मध्यपहाडमा छोडेका सन्देशका बारेमा अहिले थुप्रै प्रकारका चर्चा परिचर्चा भैरहेका छन् ।

यात्राका क्रममा एमाले नेतृत्वले पहाडी क्षेत्रको विकास निर्माणमा आएको सुस्तता, त्यहाँबाट शहरी क्षेत्रमा बढ्दो बसाइसराइ, आर्थिक मन्दीको चरम मारमा परेर पछिल्लो समय ठप्प भएको आर्थिक चलायमान, बेरोजगारका कारण काला पहाड धाउनुपर्ने विवशताका विषयमा स्थानीय राजनीतिक कार्यकर्ता, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट र संवाद गरेको छ । यसबाट पार्टीको भावी रणनीति र आधिकारिक धारण निर्माण गर्न वेटिङ गभर्मेन्टका रुपमा हेरिएको एमालेको यो यात्रा राष्ट्रिय विकासको मूल प्रवाहमा समाहीकरण नभएको मध्यपहाडका नागरिकमा दलहरुप्रतिको आकर्षणलाई पुनरावृत्ति गर्नेदेखि थुप्रै प्रकारका सन्देश छोडेको छ । त्यसमध्ये मध्यपहाड क्षेत्रका नागरिकले अनुभूति गरेका यात्राका केही सन्देशलाई उल्लेख गर्ने प्रयास यस लेखमा गरिएको छ ।

नागरिकमा आशा छर्नु

देशका तीनै तहमा प्रमुख प्रतिपक्ष दल बनेको एमालेले सञ्चालन गरेको ‘संकल्प यात्रा’को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मध्यपहाडका नागरिकमा आशा छर्नु हो । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्मका २६ जिल्लाका प्रमुख केन्द्रहरुमा पुगेर ३ दर्जन बढी आमसभा र १०० भन्दा बढी भेटघाटले त्यस क्षेत्रका नागरिकमा ठूलो आशाको सन्देश प्रवाह गर्न यो यात्रा सफल भएको छ ।

२०७३ साल फागुन २१ गते महेन्द्र राजमार्गमा मेची-महाकाली यात्रा गरेको एमालेले सात वर्षपछि पुष्पलाल लोकमार्गमार्फत मध्यपहाडका २६ वटा जिल्लामा पार्टी नेतृत्व भौतिक रुपमै पुगेर यस क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै यात्रा सम्पन्न गरेको हो ।

२०७२ सालको संविधानले तीन तहको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था दियो । तर, व्यवहारिक रुपमा मध्यपहाडलगायत ग्रामीण क्षेत्रका नागरिकले यसको अनुभूति अझै गर्न पाएनन् । कागजमा गाउँ आएका काठमाडौंका सिंहदरबारले ल्याएको हुकुमी शासन, आर्थिक अनियमितता, विकासमा अग्रीम कमिसन, बेथिति, योजनामा दलालीले तुलनात्मक रुपमा मध्यपहाडका बासिन्दा बढी निराश हुनुपर्‍यो । राज्यले यस क्षेत्रमा ठूलो राष्ट्रिय गौरवका आयोजना सूचारु गर्न नसक्नु वा गरेका आयोजनाको काम विलम्ब हुनु, ठूला उद्योग स्थापना नहुँदा हातमुख एक पार्न र शरीरमा एकसरो कपडा फेर्न काला पहाडको भरपर्नु जस्ता समस्याबाट थला पर्दै गएका मध्यपहाडका नागरिकको जीवनमा असन्तुष्टि र निराशाको मात्रा दिन दुगुना रात चौगुनाका हिसाबले वृद्धि भएको थियो । तर, एमालेले सञ्चालन गरेको ‘संकल्प यात्रा’का क्रममा ७२ वर्षीय पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो हेडक्वाटरको अभूतपूर्व सक्रियता र समृद्ध देश निर्माणको निर्विकल्प अठोटले यस क्षेत्रका नाबालकदेखि ज्येष्ठ नागरिकसम्ममा एक पटक फेरि समृद्ध नेपालको आकांक्षा हाम्रै पालामा सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ ।

विकासका मुद्दामा दलीय एकता

२०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्पष्ट दुई ध्रुवमा विभाजित राजनीतिक दलहरुबीचको तिक्तता गाउँ तहमा समेत यथावतै छ । हरेक विषयमा सत्ता गठबन्धन र प्रतिपक्षको केन्द्रीय छायाँमा ३६ बनेका मध्यपहाडमा भएका राजनीतिक दलहरुलाई एमाले यात्राले स्थानीय विकासका मुद्दामा ६३ बनाएको छ । सत्तापक्ष र प्रतिपक्षकै रुपले खिचातानीमा अल्झिएका यस क्षेत्रका राजनीतिक दलहरुलाई स्थानीय विकासका एजेण्डामा एकता कायम गराउन यो ‘संकल्प यात्रा’ सफल भएको छ ।

डडेल्धुरामा पुगेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमाले अध्यक्ष ओलीको टेलिफोन संवादबाट शुरु भएको दलीय सद्भाव दैलेखमा गएर सर्वदलीय एवम् सर्वपक्षीय भेटघाटमा परिणत भयो । दैलेखको जिल्ला समन्वय समिति र सात राजनीतिक दल (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र नेकपा)ले जिल्लाको विकासका बारेमा गरेको सर्वपक्षीय छलफलपश्चात विभिन्न ८ बुँदे माग राख्दै एमाले अध्यक्ष ओलीलाई लिखित ध्यानाकर्षणपत्र समेत बुझाए । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका ३ को रामीडाँडा केन्द्र विन्दु भएर गएको विनाशकारी भूकम्पले थिलथिलो बनेको जाजरकोट र रुकुमको राहत तथा पुनर्निर्माणका विषयमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहलगायत दुवै जिल्लाका राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु सहभागी भएर एकताबद्ध रुपमा आफ्ना माग पेश गरे ।

राज्यले यस क्षेत्रमा ठूलो राष्ट्रिय गौरवका आयोजना सूचारु गर्न नसक्नु वा गरेका आयोजनाको काम विलम्ब हुनु, ठूला उद्योग स्थापना नहुँदा हातमुख एक पार्न र शरीरमा एकसरो कपडा फेर्न काला पहाडको भरपर्नु जस्ता समस्याबाट थला पर्दै गएका मध्यपहाडका नागरिकको जीवनमा असन्तुष्टि र निराशाको मात्रा दिन दुगुना रात चौगुनाका हिसाबले वृद्धि भएको थियो ।

यसैगरी यात्राले ७२२ किलोमिटर पार गरेपछि रुकुमकोटमा पनि सर्वदलीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय राजनीतिक दलहरुले जिल्लाको समग्र विकासका बारेमा एमाले र अध्यक्ष ओलीको ध्यानाकर्षण गराए । जुन अस्थिर नेपाली राजनीतिका लागि निकै सुखद पक्ष हो । वेटिङ गभर्मेन्टका रुपमा हेरिने प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्रीसहितको एमाले हेडक्वाटर यात्राका क्रममा जिल्ला आएको बेला आफ्ना स्थानीय विकासका एजेण्डामा एकताबद्ध भएर छलफल गरिनु, एमाले अध्यक्ष ओलीलाई सर्वदलीय एवम् सर्वपक्षीय रुपमा ध्यानाकर्षणपत्र नै पेश गरिनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्वपूर्ण उपलब्धि हो र मान्नु पनि पर्छ ।

अर्थतन्त्र चलायमान

देशको ओरालोलाग्दो अर्थतन्त्रको ठूलो मारमा मध्यपहाड छ । विकासका योजनामा काम गरेर कमाएको रकमले चलायमान हुने मध्यपहाडको अर्थतन्त्र विगत दुई वर्षयता प्रायः ठप्प छ । आर्थिक वर्षको अन्तिममा हुने असारे विकासले केही सीमित पहुँचवाला दलका नेताहरुका आफन्तका लागि मात्रै फाइदा पुर्‍याउन थालेपछि यस क्षेत्रको अर्थतन्त्र ठाडो नउठ्ने गरी शिथिल बन्दै गएको थियो । स्थानीय नागरिकसँग नून, तेल, खाद्यान्न जस्ता अत्यावश्यकीय वस्तुहरुको खरिद गर्न पनि निकै धौधौ परेको अवस्थामा होटेल र पसलहरुको व्यापार व्यवसायको चलायमान नगण्य मात्रामा थियो । तर, भर्खरै सम्पन्न एमालेको तीन साता लामो ‘संकल्प यात्रा’ले यस मध्यपहाडको सुतेको अर्थतन्त्रलाई उठाएकोमात्रै छैन, छोटो अवधिका लागि गतिशील गराउन सफल भयो । यात्राका लागि एमाले अध्यक्ष ओलीसँगै सिङ्गो हेडक्वाटर, सयौं केन्द्रीय सदस्य र हजारौं कार्यकर्ताको आवतजावतले मध्यपहाडको यातायातदेखि होटेल र पसल व्यवसायमा हरियो बत्ती बल्यो ।

यात्राको पहिलो दिन अर्थात मंसिर १४ गते बैतडी जिल्लाको सदरमुकाम गोठालापानी र साहीलेक गरेरमा झण्डै २५० को क्षमता भएका होटेलहरुमा एक हजार ५ सय बढी एमाले नेता तथा कार्यकर्ताको भीडलाई बास बसाल्न र खाना खुवाउन निकै हम्मेहम्मे भयो । ग्राहक नभएपछि माकुराले जालो लागेका होटेलका काउण्टरमा बेड राखेर व्यवस्था गर्दा पनि नपुगेपछि कन्फरेन्स हल र निजी घरमा व्यवस्थापन गर्न होटेलहरु बाध्य भए । झण्डै दुई वर्षयता थलिएका होटेलले एक बासमै थेगिनसक्नु बिजनेस पाएको शाहीलेकस्थित सूर्य होटेलका सञ्चालक प्रकाश भट्टले बताउनुभयो । शुरुदेखि नै २०० वटाभन्दा बढी सवारीसाधन र एक हजार ५०० भन्दा बढी एमाले नेता तथा कार्यकर्ता सम्मिलित यात्राको बास बस्ने स्थानमा मात्रै ७० देखि ९० लाखसम्मको कारोबार भएको अनुमान मध्यपहाडी क्षेत्रमा पर्ने जिल्लाका स्थानीय उद्योग वाणिज्य संघले गरेका छन् ।

यात्राका क्रममा केन्द्रीय टोलीको स्वागतको तयारी, स्वागत र बिदाइ गरेर झण्डै दुई साता लामो चहलपहलले झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मका मुख्य केन्द्रहरुको अर्थतन्त्रलाई सीमित अवधिका लागि भए पनि चलायमान गराउन योे ‘संकल्प यात्रा’ सफल भएको ठहर तेह्रथुमको वसन्तपुरका हिक्मतबहादुर खड्काको छ ।

यात्राको चौथो दिन बिहानको खानादेखि पाँचौं दिन बिहानको खानासम्म विभिन्न स्थानको अवलोकन र संवादमा अल्झिएको एमाले टोलीका कारण कर्णाली प्रदेशको दैलेख जिल्लामा मात्रै एक करोड ५० लाख बढीको कारोबार भएको दैलेख उद्योग वाणिज्य संघका सल्लाहकार एवं पूर्वअध्यक्ष शान्तिप्रसाद शर्माले बताउनुभयो । दैलेखको राकम कर्णाली, सदरमुकाम दुल्लु, गुराँसेलगायतका क्षेत्रमा गरिएको खाना, नास्ता, आवास, यात्रामा प्रयोग भएका सवारीसाधनहरुको इन्धन र अन्य सबै व्यवस्थापन गरेर एक करोड ५० लाखभन्दा बढी कारोबार भएको उहाँको भनाइ छ । मंसिर १७ गते दैलेख जिल्लाको राकम कर्णालीमा भएको बृहत आमसभा हेर्न आएका स्थानीयले आठबीस नगरपालिका- ५ का सुन्तला व्यापारी सुरेन्द्र कार्कीको एक दिनमै ६ लाखको कारोबार भएको शर्माको उक्त भनाइले पुष्टि गर्छ ।

यात्राका क्रममा केन्द्रीय टोलीको स्वागतको तयारी, स्वागत र बिदाइ गरेर झण्डै दुई साता लामो चहलपहलले झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मका मुख्य केन्द्रहरुको अर्थतन्त्रलाई सीमित अवधिका लागि भए पनि चलायमान गराउन योे ‘संकल्प यात्रा’ सफल भएको ठहर तेह्रथुमको वसन्तपुरका हिक्मतबहादुर खड्काको छ । यात्राले समुद्री सतहदेखि २ हजार २८८ मिटरको उचाइमा रहेको वसन्तपुरको थला परेको अर्थतन्त्रलाई एक सातामै ह्वात्तै बढाएको बताएका खड्काका अनुसार मध्यपहाडका सबै केन्द्रको बजारको अर्थतन्त्र निकै राम्रोसँग चलायमान भएको सन्देश प्रवाह भएको छ ।

दलप्रति नागरिक समर्थन कायमै

२०७९ वैशाख ३० को स्थानीय तह, मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामपश्चात देशमा दलहरुप्रति नागरिकको साथ घट्दै गएका चर्चा र टिप्पणी हुँदै गरेको बेला एमालेको ‘संकल्प यात्रा’ले दलहरु विशेष गरेर पुरानाप्रति नागरिकको साथ अझै कायमै रहेको सन्देश प्रवाह गरेको छ । यात्राको शुभारम्भ गर्न मंसिर १३ गते पार्टीका नेताहरुसहित सुदूरपश्चिम पुगेका एमाले अध्यक्ष ओली र अन्य केन्द्रीय नेताहरुको स्वागत र भेटका लागि हतारिएका स्थानीय नागरिकको लावालस्करले पनि यस कुरालाई प्रमाणित गरेको छ । झुलाघाटबाट स्थल मार्ग हुँदै चिवा भञ्ज्याङ पुगेको एमाले नेताहरुलाई स्वागत गर्न राजनीतिक आस्था नभनी स्थानीय पहिरन र पहिचानसहितका झाँकी, लोक संस्कृतिले सजिएका नागरिक हातमा फूलका माला लिएर बिहानदेखि राति अबेरसम्म घण्टौं कुरेको लर्कोले पनि नेपालका पुराना राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा फैलिएको छ भन्ने पछिल्लो शहरिया भाष्यलाई उदाङ्गो पारिदिएको छ ।

सूचना र प्रविधिको अधिकतम प्रयोगले पुराना दलहरुप्रति शहरिया जनमत भाँडिएका संकेतहरु देखिएका चर्चा गरिए पनि मध्यपहाडी क्षेत्रको जनविश्वास पुराना र ठूला दलहरुप्रति कायमै रहेको सन्देश एमाले ‘संकल्प यात्रा’ले दिएको अर्को महत्वपूर्ण सन्देश हो ।

सूचना र प्रविधिको अधिकतम प्रयोगले पुराना दलहरुप्रति शहरिया जनमत भाँडिएका संकेतहरु देखिएका चर्चा गरिए पनि मध्यपहाडी क्षेत्रको जनविश्वास पुराना र ठूला दलहरुप्रति कायमै रहेको सन्देश एमाले ‘संकल्प यात्रा’ले दिएको अर्को महत्वपूर्ण सन्देश हो । आफूले लिएको नीतिलाई दुर्गम बस्तीसम्म कार्यक्रमिक हिसाबले पुर्‍याउन नसके पनि देशका ठूला र पुराना राजनीतिक दलहरुप्रतिको आशा र भरोसा मध्यपहाडी क्षेत्रका नागरिकमा नगुमेको भनाइ अछामको चौरपाटी नगरपालिका- ५ स्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयका शिक्षक चेतबहादुर खड्काको छ । पछिल्लो समय ठूला राजनीतिक दलहरुले नागरिकसमक्ष पुग्न चुनावदेखि चुनावै कुर्नुपर्ने भएका कारण बढेको असन्तुष्टिलाई तीन साता लामो एमालेको ‘संकल्प यात्रा’ले पूर्णविराम लगाउँदै दलहरुप्रतिको पुरानो भरोसा कायम रहेको सन्देश छोडेको छ ।

मध्यपहाडमा बढ्दो ‘ओली क्रेज’

मध्यपहाडी यात्राका क्रममा बालकदेखि वृद्धासम्म, राउटेदेखि गुम्बाका बौद्ध भिक्षु हुँदै मन्दिरका पुजारीसम्मको केन्द्रविन्दुमा एमाले अध्यक्ष केपी शर्मा ओली नै रहन सफल हुनुभयो । यात्रा शुभारम्भ हुने अघिल्लो दिन अर्थात मंसिर १३ गते बैतडीको पाटनमा आयोजित सभादेखि निंगलासैनी मन्दिरका पुजारी हुँदै दैलेखको गुराँसेमा लोपोन्मुख राउटे वा लुम्बिनीका बौद्ध भिक्षुहरुको आकर्षक व्यक्तिका रुपमा पनि एमाले अध्यक्ष ओली नै रहनुभयो । यात्राका क्रममा तोतेबोली बोल्ने नाबालकदेखि सेतो कपाल फुलेका, दाँत झरेर स्पष्ट बोली निकाल्न नसक्ने ज्येष्ठ नागरिकको मानसपटलमा ‘ओली ब्राण्ड’लाई राम्ररी स्थापित गर्न यो ‘संकल्प यात्रा’ सफल भएको छ । देशको केन्द्रीय नेतृत्वकै आवागमनले भूगोल र जातिगत आधारमा नेपालकै महत्वपूर्ण क्षेत्र भए पनि राष्ट्रिय राजनीति र विकासको प्राथमिकतामा नपरेको यस क्षेत्रको समृद्धि, यहाँको दीर्घकालीन विकास, बढ्दो बसाइसराइलाई रोकथाम गर्न रोजगारी सृजनाका सम्भावनालाई अन्तर्राष्ट्रियस्तरको बहसको विषय बनाउने एमालेको ‘संकल्प यात्रा’को सर्वोच्च कमाण्डर ओलीप्रति यहाँका नागरिकको सम्मानको ग्राफ ह्वात्तै बढेको देखिन्छ ।

संविधान जारी गर्दा भारतले लगाएको अघोषित नाकाबन्दी होस् वा नेपाली भूभाग समेटेर कर्तलध्वनिका साथ प्रतिनिधिसभाबाट चुच्चे नक्सा जारी गर्दा गरेको नेतृत्वबाट मध्यपहाडका नागरिकले कण्ठ पारेको ‘ओली’ शब्दलाई विश्वको ध्यान केन्द्रित पार्ने गरेर शुरु भएको ‘संकल्प यात्रा’ले कहिल्यै नमेटिने गरेर छाप छोडेर गएको छ । प्रतिकूल स्वास्थ्यका वावजुद ७२ वर्षको पाको उमेरमा समेत थकान, पीडा, क्रोध र निराशामुक्त ओलीले त्यसको नेतृत्व गरेर सिंगो पार्टी पंक्तिलाई नै स्थलगत रुपमा उतारेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट देखेका, सुनेका र पढेका मध्यपहाडका नागरिकबीच एमालेको ‘संकल्प यात्रा’ले अध्यक्ष ओलीको ब्राण्डलाई राम्रैसँग स्थापित गरिदिएको छ ।

अन्तमा,

लोकतान्त्रिक गणतन्त्रमा पनि जनप्रतिनिधिको निर्वाचन खर्चको हिसाब मिलान गर्ने ध्याउन्नमा विकास किन्ने प्रवृत्तिले राजनीतिक दलहरुमा संस्थागत रुप धारण गर्न थालेको नेपालको रैथाने अभ्यास चलिरहेको बेला ‘संकल्प यात्रा’ नेतालाई जनतासमक्ष जवाफदेही बनाउने नयाँ माध्यम बनेको छ । आफू राजकीय शासनमा पुग्न जनतालाई भर्‍याङका रुपमा प्रयोग गर्ने, भेटघाट र संवादको थलो आफूमै केन्द्रित गर्ने नेपाली राजनीतिको पुरातनवादी शैलीलाई चुनौती दिँदै नागरिकले भोगेका पीडाको अध्ययन गर्न नेता र कार्यकर्ता परिचालन गर्ने एमाले ‘संकल्प यात्रा’ले थुप्रै प्रभाव र सन्देश छोडेको छ । यात्राले छोडेका मध्यकालीन र दीर्घकालीन सन्देशको आँकलन स्वयम् एमालेले भोलिका दिनमा मध्यपहाड क्षेत्रप्रति गर्ने व्यवहारले नै निर्क्योल गर्नेछ । यद्यपि यात्राले यस क्षेत्रमा छोडेका अल्पकालीन सन्देशहरुले नागरिकलाई भने उत्साहित अवश्य गरेको छ ।

(महतारा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *