दीक्षान्त समारोह : त्रिविलाई ‘अन द स्पट’ विश्व कीर्तिमानको प्रमाणपत्र – Nepal Press

दीक्षान्त समारोह : त्रिविलाई ‘अन द स्पट’ विश्व कीर्तिमानको प्रमाणपत्र

१२ हजार विद्यार्थीले एकैपटक दीक्षान्त समारोहमा भाग लिए

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भाैतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्वकिर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी सहभागी भए ।

त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे ।

त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने उनको भनाइ छ ।

‘ओडब्लूआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ,’ भुसालले नेपाल प्रेससँग भने ।

ओडब्लुआरका दिल्लीस्थित प्रतिनिधि र काठमाडौंस्थित प्रतिनिधिले दीक्षान्त समारोहमा आएर प्रत्यक्ष अवलोकन गरेका थिए । उनले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्वकीर्तिमान प्रमाणित गरेको डा. भुसालले बताए ।

गिनिजमा यसअघि यस्तो विधामा कुनै पनि कीर्तिमान लेखिएको छैन । त्यसैले त्रिवि पहिलो प्रयासमै सफल भएको हो । २६ हजारभन्दा बढीले दिक्षान्तका लागि फारम भरेकोमा लगभग त्यति नै संख्यामा उपस्थिति देखिएको त्रिविले जनाएको छ । यस वर्ष ७३ हजारभन्दा बढी विद्यार्थीहरु त्रिविबाट ग्राजुयट भएका थिए ।

प्रमाणपत्रमा २६ हजारभन्दा बढी विद्यार्थी अभिभावक तथा अतिथिहरु दीक्षान्त समाराेहमा उपस्थित भएकाे उल्लेख छ । उनीहरुमध्ये विद्यार्थी मात्रै १२ हजारभन्दा बढी थिए ।

त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै भएको भुसालको भनाइ छ ।

उनले भने, ‘योभन्दा अगाडि ७४ हजारसम्मले एकैपटक ग्राजुयसन गरेको रेकर्ड छ । तर, दीक्षान्त समारोहमा यति ठूलो भौतिक उपस्थिति देखिएको थिएन । हामीले दाबी पनि गरेका थिएनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर