रूपन्देहीमा खुल्दै पहिलो चार तारे चेन होटल: पूर्वाधारमा मात्रै ५२ करोड लगानी – Nepal Press

रूपन्देहीमा खुल्दै पहिलो चार तारे चेन होटल: पूर्वाधारमा मात्रै ५२ करोड लगानी

रुपन्देही । रुपन्देहीमा करिब ५२ करोडको पूर्वाधार लगानीमा चारतारे होटल निर्माण भइरहेको छ । ३८ मुलुकमा १६० वटा होटल सञ्चालन गरिरहेको लुभर होटल्स ग्रुपले रुपन्देहीको ओमसतिया गाउँपालिका कोटिहवामा चार तारे सानिभा इन बुटिक होटल एण्ड स्पा निर्माण गरिरहेको हो ।

गुणस्तरीय सेवासहित चेन होटल विस्तार तीब्र पारेको लुभर होटल्स ग्रुपले गोल्डेन टुलिप ब्रान्डमा सरोवर होटल एण्ड रिसोट्र्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालन गर्ने सम्झौता गरेको हो ।

मुलुकमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सीईयो सन्तोषकुमार केसी र सरोवर होटल एण्ड रिसोट्र्सका प्रबन्ध निर्देशक अशोककुमार बकायाले व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेका छज् । एक वर्षभित्र सञ्चालन हुने गरी पूर्वाधार तयार भइरहेको सुनिभाका सीईयो केसीले बताए ।

‘फागुन २०७९ मा काम सुरु भएको थियो’, उनले भने, ‘अबको एक वर्षमा होटल सञ्चालन गर्ने तयारी छ ।’

भैरहवामा सबैभन्दा लक्जरी होटलका रुपमा चिनिने गरी पूर्वाधार तयार गर्न लागेको उनले बताए । उनका अनुसार होटलमा जिङज्याङ कम्पनीको १३ करोड लोयल्टी मेम्बर छन् । यो मेम्बरलाई लक्षित गरी रणनीति बनाएको उनले बताए ।

होटलमा ५२ वटा रुमबाट सेवा शुरु गर्ने लक्ष्य रहेको सीईओ केसीले बताए । उनका अनुसार विज्ञ समूहसहितको टीमको सहयोगमा काम अघि बढ्ने छ ।

जग्गा छोडेर ५० करोड रुपैयाँ लागत रहेको होटलमा स्थानीयलाई रोजगारमा प्राथमिकता दिइने उनले सुनाए । होटलमा रुफटप बार, स्विमिङ पुलसहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्ष रहनेछन् । जसले होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमको लागि एक आदर्श विकल्प बनाउने उनको दाबी छ ।

‘होटलमा मनोरञ्जन क्षेत्र र क्यासिनोसमेत सञ्चालन गर्ने योजना रहेको छ’, सीईओ केसीले भने ।

नेपालमा सरोवर समूहका होटलहरू पाइपलाइनमा छन् । जसमध्ये सरोवर पोर्टिको वीरगञ्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोवर पोर्टिको काठमाडौंमा सन् २०२४-२५ सम्म खोल्ने तालिका रहेको छ ।

सरोवर होटल्स एण्ड रिसोट्र्स भारतमा सबैभन्दा तीब्र रुपमा अघि बढेको होटल समूह हो । गोल्डेन टुलिप भैरहवा सरोवर होटल्स एण्ड रिसोर्टको बढ्दो पोर्टफोलियोमा १२औं तथा नेपालमा पहिलो गोल्डेन टुलिप हुने सीईओ केसी बताउँछन् ।

सन् २०२४ मेसम्ममा पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको सानिभा होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर टाढा छ । यसमा आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएका ५२ वटा विशिष्ट र सुसज्जित कोठा हुनेछन् ।

सरोवर होटल्स पेरिसमा मुख्यालय रहेको विश्वव्यापी आतिथ्य उद्योगको ग्रुप डु लुभ्रीको एक हिस्सा हो, जसको पोर्टफोलियोमा अहिले ६० देशका १ हजार ७०० होटल समावेश छन् । सरोवरले आफ्नै ब्रान्डको साथमा ग्रुप डु लुभ्रीको ऐतिहासिक ब्रान्डहरू (गोल्डेन टुलिप, रोयल टुलिप, टुलिप इन)का ३ देखि ५ तारेसम्मको पूर्ण होटलहरु सञ्चालन गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर