हालान्ड, एमबाप्पे र लेवान्डोस्कीलाई उछिनिरहेका केन – Nepal Press

हालान्ड, एमबाप्पे र लेवान्डोस्कीलाई उछिनिरहेका केन

काठमाडौं । विश्वको सबैभन्दा ठूलो घरेलु लिग फुटबल मानिने इङ्लिस प्रिमियर लिग छाडेर जर्मन क्लब बायर्न म्युनिखमा पुगेका इङ्लिस टोलीका कप्तान हेरी केन यतिबेला स्तरीय प्रदर्शन गरिरहेका छन् ।

यही सिजनको सुरुवातमा बायर्नमा सम्झौता भएकै दिन उनी क्लबका लागि मैदान उत्रिएका थिए, जसमा बायर्न ३-० गोलले पराजित भएको थियो । तर, त्यसयता केनले पछाडि फर्किएर हेर्नुपरेको छैन । उनी युरोपका शीर्ष ५ घरेलु लिग फुटबलमध्ये यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । केनले १४ खेलमा २० गोल गरेका छन् ।

गत सिजन सर्वाधिक गोल गरेर युरोपियन गोल्डेन बुट जितेका इङ्लिस क्लब म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यो सिजन घरेलु लिगमा १७ खेल खेल्दै १४ गोल गरेका छन् । उनी जारी सिजन इङ्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन् । म्यान सिटी तालिकाको दोस्रो स्थानमा छ ।

स्पेनिस ला लिगामा रियल म्याड्रिडका जुड बेलिङ्घम १३ गोलसहित शीर्ष स्थानमा छन् । यो सिजन रियल म्याड्रिडले घरेलु लिगमा १७ खेल खेलिसकेको छ । रियल म्याड्रिड तालिकाको पहिलो स्थानमा छ । इटालियन सिरी एमा इन्टर मिलानका लौतारो मार्टिनेज १५ गोलसहित शीर्ष स्थानमा छन् । इन्टर मिलान जारी सिजन घरेलु लिगमा १६ खेल खेलेको छ । इन्टर मिलान पनि तालिकाको शीर्ष स्थानमा छ ।

फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एमबाप्पे १६ गोलसहित शीर्षस्थानमा छन् । १६ खेल खेलेको पीएसजी तालिकाको पहिलो स्थानमा छ । युरोपका घरेलु लिगमा सिजनभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट केनले हालसम्म जित्न सकेका छैनन् । गत सिजन हालान्डले ३६ गोलसहित यो अवार्ड हात पारेका थिए ।

त्यसभन्दा अघिका लगातार दुई सिजन लेवान्डोस्की विजेता बनेका थिए । विश्वकपमा एक पटक उपाधि र एक पटक फाइनलसम्मको यात्रा तय गर्नुका साथै दुवैमा सर्वाधिक गोलकर्ता भएबापत गोल्डेन बुट जितेका एमबाप्पेले अझै पनि युरोपियन गोल्डेन बुट जित्न बाँकी छ । सन् २००८ यता क्रिस्टियानो रोनाल्डोले ४, लियोनल मेस्सीले ६, लुइस स्वारेजले २ र सिरो इममोबिलले एक पटक युरोपियन गोल्डेन बुट जितेका छन् ।

३० वर्षीय केनले आफ्नो करियरको अधिकांश समय प्रिमियर लिग क्बल टोट्टनहाममा बिताएका छन् । उनी सन् २०१० देखि १३ वर्षसम्म टोट्टनहाममा रहेका थिए । टोट्टनहाम र इङ्ल्यान्ड दुवैका सर्वकालीन सर्वाधिक गोलकर्ता केनले मुख्य प्रतियोगिताका उपाधि भने जित्न सकेका छैनन् । सन् २०१८-२०१९ सिजन युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नु र सन् २०२० मा युरो कपको पनि फाइनलसम्म पुग्दा उनले टीमका रुपमा प्राप्त गरेका मुख्य सफलता हुन् ।

तीन पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका उनले सन् २०१८ को विश्वकपमा पनि उक्त अवार्ड जितेका थिए । उनमा टीम उपाधिको अधिक भोक देखिन्छ । केनले हालसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । बायर्न म्युनिखसँगको आबद्धताले च्याम्पियन्स लिग उपाधि जित्ने सपना पूरा गर्न उनी आँतुर रहेको देखाउँछ । च्याम्पियन्स लिगमा ६ पटक विजेता बनेको बायर्न पछिल्लो एक दशकमा मात्र २ पटक च्याम्पियन बनेको छ ।

बायर्नले बुन्डेस लिगाका पछिल्ला लगातार ११ संस्करण जितेको छ । बुन्डेस लिगामा केन गतिलो छाप छाड्दैछन् । उनी यो प्रतियोगितामा सबैभन्दा कम खेलमा २० गोल पूरा गर्ने खेलाडी बनेका छन् । उनलाई २० गोल पूरा गर्न केवल १४ खेलमात्र लागेको छ।

यसअघि २१ खेलको कीर्तिमान थियो । पछिल्लो समयका होनाहार मानिने हालान्डले २२ खेलमा २० गोल पूरा गरेका थिए । केनले इङ्लिस प्रिमियर लिगमा उच्च लयमा रहेकै बेला बुन्डेस लिगामा स्थानान्तरण भएका हुन् । गत सिजन उनले घरेलु लिगमा ३० गोल गरेका थिए ।

सन् २०१४२०१५ देखि चर्चामा आउन थालेका केनले आफ्नो करियरमा दुई पटक ३० गोलको (सिजनभर घरेलु लिगमा) कोसेढुंगा छोएका छन् । यस्तै ४ पटक कम्तीमा २५ गोल र ६ पटक कम्तीमा २० गोल गरेका छन् । हालान्ड र एमबाप्पेको युग सुरु हुन लागेको अनुमानबीच केनले अझै पनि आफ्नो समय बाँकी रहेको सन्देश दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर