तनावमात्रै बोकेर हिँडिरहनु हुन्छ ? सम्झनुस्, ठूलो गल्ती गर्दै हुनुहुन्छ (भिडिओ) – Nepal Press

तनावमात्रै बोकेर हिँडिरहनु हुन्छ ? सम्झनुस्, ठूलो गल्ती गर्दै हुनुहुन्छ (भिडिओ)

कुनै समय मनोविज्ञानकी एक महिला प्रोफेसरले तनाव व्यवस्थापनका तरिकाहरु सिकाउँदै थिइन् । उनको कक्षामा दर्जनौं विद्यार्थी भरिभराउ थिए ।

कक्षा लिने क्रममा उनले पोडियमबाट आधा पानी भएको गिलास टिपिन् र विद्यार्थीहरुसामु देखाइन् । विद्यार्थीहरुले सोचे, अब प्रोफेसरको प्रश्न हुनेछ, ‘आधा खाली वा आधा भरिएको गिलास हो यो ?

तर, सबै अनुमानलाई माथ खुवाउँदै प्रोफेसरले विद्यार्थीहरुतिर प्रश्न तेर्स्याइन्, ‘यो पानीको गिलास कति गह्रौं छ ?’

सबै विद्यार्थीले ५० ग्रामदेखि आधा किलोसम्मको अनुमान लगाए ।

सबै विद्यार्थीले पालैपालो अनुमान लगाइसकेपछि प्राध्यापकले मुस्कुराउँदै बोलिन्, ‘यो गिलासको तौल कति छ, त्यसले कुनै फरक पार्दैन । यसको तौल त मैले कति लामो समयसम्म हातमा राख्छु, त्यसमा भर पर्नेछ । मैले जम्मा एक वा दुई मिनेटका लागि मात्रै समातें भने यो गिलास एकदमै हल्का छ । यदि मैले एक घण्टासम्म समातें भने यसको तौलले हात अलिकति दुःख्छ । यदि मैले एक दिन यस गिलासलाई समातिरहें भने मेरो पाखुरा कक्रक्क पर्नसक्छ । पक्षघात भए जस्तो महसुस गर्न सक्छु । त्यस्तो अवस्थामा मैले गिलासलाई भुईंमा खसाल्न बाध्य हुनुपर्नेछ । त्यसैले म जस्तोसुकै अवस्थामा रहे पनि गिलासको तौल परिवर्तन हुन सक्दैन । तर, यसलाई जति लामो समयसम्म हातमा राख्नेछु, क्रमिक रुपमा यो उत्तिकै गह्रौं हुँदै जानेछ ।’

कक्षामा विद्यार्थीहरु शान्त थिए । अनि प्रोफेसरले थप भनिन्, ‘हाम्रो जीवनको तमाम तनाव र अप्ठेरा पनि यो आधा भरिएको गिलास जस्तै हुन्छन् । केही पलका लागि तिनका बारेमा सोच्यौं भने हामीलाई केही पनि असर गर्दैन । अलि लामो समयसम्म सोच्यौं भने थोरै पीडा महसुस हुन्छ । तर, दिनभर सोच्यौं भने हामी पूर्ण रुपमा थकित हुनेछौं र ती तनाव अनि अप्ठेरालाई छाडेर नहिँडेसम्म हामी नयाँ काम गर्न नै सक्दैनौं । अब त्यस्ता सानातिना समस्यालाई कतिञ्जेल बोकेर हिँड्ने, हामी आफैंले सोच्ने कुरा हो ।’

यसको सन्देश होः

हामीले तनाव र चिन्तालाई छाडेर हिँड्न सक्नुपर्छ । दिनमा हाम्रो जीवनमा जतिसुकै घटना घटून्, हरेक साँझ तिनलाई पन्छाएर नयाँ दिनको प्रतीक्षामा निदाउने गर्नुपर्छ । तनावलाई रातभर दिमागमा राखेर अर्को दिन पनि सँगै बोकेर हिँड्यौं भने हामीले केही नयाँ गर्न सक्दैनौं । यदि हामी हिजोको तनाव आज पनि महसुस गरिरहेका छौं भने हामीले यो बुझ्नुपर्छ कि अब तनावको गिलासलाई टेबलमा राख्ने समय आयो, हातमा बोकेर हिँहिरहने होइन । बरु आफैंलाई उत्प्रेरित गरिरहने हो, अनि सपना पूरा गर्नतर्फ लाग्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर