कांग्रेस सरकारमा भएपनि तीनै तहका नागरिकमा निराश बढ्यो : गगन थापा – Nepal Press

कांग्रेस सरकारमा भएपनि तीनै तहका नागरिकमा निराश बढ्यो : गगन थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको बताएका छन् ।

‘सिंहदरबारको कुर्सीमा म नभएर जनताले दुःख पाएका हुन् भन्ने पाइएला, तर कांग्रेसले यतिबेला केही भन्न पाउने अवस्थामा छैन । जनता रिसाएका छन् उनीहरुलाई फकाउने जिम्मा कांग्रेसको हो’ उनले भने । जनतालाई जहिले पनि झुक्काउने काम गर्न नहुने बताउँदै उनले अब जनतालाई जवाफ दिनुपर्ने समय आएको बताए ।

शनिबार कांग्रेस पाल्पाको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली जनतालाई झुक्काउने मात्र काम भएकाले निराशा छाएकाले अब सुशासन र भ्रष्टाचार न्यूनिकरण गरेको देखाउनुपर्ने बेला आएको धारणा राखेका छन् । नेपाली जनताले १४ वर्षसम्म धैर्यता राख्ने जनतालाई भरोसा दिलाउन नसकिएको उनको भनाइ छ ।

महामन्त्री थापाले २०६२/६३ को आन्दोलनपछि संविधानसभाको निर्वाचन, संविधान जारी र २०७४ को निर्वाचनसम्म जनताले धैर्यता गर्दागर्दै त्यसपछि पनि आशा लाग्ने काम हुन नसकेको बताए । ‘नेपाली जनताले २०७४ को नेपाल कम्युनिष्ट पार्टीको सरकारप्रति जुन आशा र भरोसा राखेका थिए,त्यो अनुसारको काम गर्न नेकपाको सरकारले सकेन । पटकपटक संसद विघटन गर्दा जनतामा थप निरासा उत्पन्न हुँदै गयो’ उनले भने ।

‘देखेको कुरा बोल्नुपर्छ र कांग्रेस सम्मिलित सरकारले राम्रो काम गर्नुपर्छ,’ उनले भने, ‘जनताको मत लिएर गएको सरकारले सही काम गर्नुपर्छ । सरकारले सही काम गरे स्यावासी र गलत गरे खबरदारी गर्नुपर्छ ।’ जनताको मत लिएर आएको सरकारले सही ढंगले काम गर्नुपर्ने महामन्त्री थापाले बताए ।

२०४६ सालपछि बनेका सरकार, उच्च प्रशासकहरुको सम्पत्ती उच्चस्तरीय छानविन समिति बनाएर उसको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए । ‘छानबिन गर्ने मात्र होइन, गलत ढंगले कमाएको सम्पत्ति समितिले दिएको प्रतिवेदन अनुसार नै कारबाही गर्नुपर्छ,’ उनले भने, ‘केही मान्छेले गल्ती गर्दा सबै कांग्रेसलाई दोष दिन पाइदैन ।’

महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने उनले बताए । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदेम्बेले जनता र कार्यकर्ताको मन जितेर कांग्रेसलाई अघि बढाउनुपर्ने अवस्था आएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले अब जनताले के चाहेका छन् भन्ने बुझ्न जरुरी रहेको बताए ।

केन्द्रीय सदस्य रुपा विकले जनताको विचार बुझेर कांग्रेसले काम गर्नुपर्नेमा जोड दिइन् । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वकेन्द्रीय सदस्यहरु राजनप्रसाद पन्त, हरिप्रसाद नेपाल, लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर राना, प्यूठानका सभापति विष्णु गिरी, कांग्रेसका पाल्पा सभापति हिमालदत्त श्रेष्ठ लगायतले जिल्ला सम्मेलनले पार्टीलाई थप बलियो बनाउन सक्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर