ल्हारक्यालले थाले लुम्बिनीमा कोभिडपछि रोकिएको विश्वशान्ति धाम निर्माणको काम – Nepal Press

ल्हारक्यालले थाले लुम्बिनीमा कोभिडपछि रोकिएको विश्वशान्ति धाम निर्माणको काम

रुपन्देही । कोरोना महामारीअघि बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण थालेर रोकिएको विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरुवात भएको छ ।

विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले शनिवार ढुंगा बिच्छाएर धाम निर्माणको पुन सुरुवात गरेका हुन् । उनीहरुले सुरुवात गरेपछि कार्यक्रममा सहभागीले पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

कार्यक्रममा गुरु रिन्पोछेले कोभिडअघि निर्माण सुरु गरेको रोकिएको काम पुनः सुरुवात गरिएको र यसले विश्वभरका शान्ति चाहनेलाई लुम्बिनी आउने र यहाँ लगानी गर्ने प्रेरणा दिने बताए । नेपाल भौतिक रुपमा कमजोर भएपनि संसारको सबै भन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायित भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने उनले बताए । उनले विश्वमा बढ्दै गएको अशान्तिले पनि बुद्ध दर्शनको महत्व बढ्दै गएकाले शान्तिको स्रोतका रुपमा यसलाई विकास गर्नुपर्ने धारणा राखेका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालको लागि अमेरिकन राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्र्राष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

३४ सय वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ति धाम ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *