अष्ट्रेलियामा बस्ने नेपालीको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला – Nepal Press

अष्ट्रेलियामा बस्ने नेपालीको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला

६ महिनामै सकियो पहिलो चरणको काम, स्थानीय खेल प्रेमी दंग

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा व्यक्तिगत रूपमा लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन थालेको ६ महिनामा पहिलो चरणको काम पूरा भएपछि स्थानीय मात्रै होइन सबै खेलकुद प्रेमी दंग परेका छन् ।

अष्ट्रेलियामा बस्ने गुल्मीका विनोद कुँवरले तिलोत्तमा १७ पूर्व दरखसवामा साढे ५ विगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाउन थालेका हुन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम राखिएको यो काम पूरा गर्न उनी दुई महिनायता कर्मभूमि छाडेर नियमित रूपमा मैदानमा क्रियाशील रहेका छन् ।

यो मैदानका लागि जग्गाबाहेक ४० करोड लगानी लाग्नेछ । यो लगानी चरणवद्ध रूपमा लगाउने र समयमै पूरा गर्ने कुँवरले जनाएका छन् ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानको ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए । दुई वर्षअघि जग्गा खरिद प्रक्रिया शुरु गरिएको थियो ।

कुँवरले फागुन १ गतेबाट मैदान खेल्न सकिने र यसमा गुणस्तरमा कुनै कमी उनले दाबी गरे । नेपालमा क्रिकेट खेल्नका लागि पूर्वाधारको कमी आफूले देखेकै कारण यसरी लगानी गरेको उनले बताए ।

यो मैदान नेपालमा अहिले भएका सबै क्रिकेट मैदानभन्दा आधुनिक र प्रविधिमैत्री हुने र यसमा आन्तरिक प्रशिक्षणलाई समेत सामेल गरेर लैजाने योजना रहेको कुँवरको भनाइ छ ।

मैदानको दिगोपनाका लागि आफूहरू एकेडेमी सञ्चालन गरेर आर्थिक पाटोलाई व्यवस्थापन गर्ने सोच रहेको उनले बताए ।

भारतको जोडिएको सीमा क्षेत्रका कारण पनि यहाँ व्यावसायिक रूपमा एकेडेमी चलाउने योजना रहेको उनको योजना छ ।

लामो समय अष्ट्रेलियामा बसेका कुँवरले क्रिकेटमा त्यहाँको उदाहरण दिँदै जति धेरै क्रिकेट मैदान तयार भयो त्यति धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताए ।

असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्म्याइएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ ।

मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाइएको छ । साइड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।

माघबाट दोस्रो चरणको काम शुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिने छ । चैतबाट साइडको सानो मैदानको काम पनि शुरु हुनेछ । जहाँ प्रशिक्षण गर्न मिल्नेछ ।

अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
एक्स्ट्राटेक ओभलका चिफ अप्रेटर सुदिक्षा गौतम, मैदान निर्माणको अपरेसन पक्षको जिम्मा सूर्य कुँवरले गरेका छन् ।

युएईमा लामोसमय बसेर आबुधावीको शेख जायेद अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सात वटा पिच तयार भएको र पिचलाई ७० मिटरको बाउण्डरी दिन सकिने गरी तयार भएको बताए । पिचको गुणस्तर निक्कै उत्कृष्ट भएको उनको भनाइ छ ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा एक्ट्राकेटका ब्राण्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर सञ्चालन हुने जनाए । रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने र टेष्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताए ।

काठमाडौं बाहिर दुई वटा अन्तर्राष्ट्रिय मैदान रहेको रुपन्देही भएकोले यो जिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सक्ने उनको भनाइ छ । खेलको पूर्वाधार विकास गर्न सके धेरै उत्कृष्ट खेलाडी उत्पादनमा बल पुग्ने भएकाले सबै प्रदेशमा यस प्रकारका मैदान तयारी गर्नुपर्ने गौचनको सुझाव छ ।

रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले पूर्वाधार विकासको आधार तयार भइरहेको बताए । पछिल्लोसमय पिएम कप पहिलो पटक काठमाडौँ बाहिर आयोजना गर्ने अवसर पाएको भन्दै यो प्रतियोगिताको १० खेलमा केही खेल यहाँ राख्न सकिने बताए । क्यानका निवर्तमान सचिव प्रशान्तविक्रम मल्लले खेल क्षेत्रमा सबैको समन्वयलाई जोड दिनुपर्ने सुझाव दिँदै पूर्वाधार विकासमा प्रकियागत कारण नै काममा ढिलाइ हुने गरेको दुःखेसो गरे ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले निजी क्षेत्रबाट क्रिकेटको विकासमा भएको लगानीले उत्साह थपेको बताए । खेल विकासको आधार नीति नियम, पूर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रूपमा रहेको बताउँदै उनले कुनै एउटा पक्ष बिना विकास अघि बढ्न नसक्ने धारणा व्यक्त गरे ।

उनले निजीस्तरबाट लगानी गरेर निर्माण गरेर सरकारलाई ठूलो सहयोग भएकाले प्रदेशबाट गरिने प्रतियोगिताको लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने र अब हुने प्रतियोगिता यहीँ मैदानमा गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *