अखिल गण्डकी अधिवेशन : नेताको गुटमा विभाजित हुँदैछन् विद्यार्थीहरू – Nepal Press

अखिल गण्डकी अधिवेशन : नेताको गुटमा विभाजित हुँदैछन् विद्यार्थीहरू

पोखरा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रथम गण्डकी प्रदेश कमिटीको अधिवेशन आउँदो पुस ६ र ७ गते पोखरामा हुँदैछ ।

अनेरास्ववियु गण्डकीको अधिवेशन गत असोज ९ र १० मै गर्ने तयारी भए पनि पार्टी प्रदेश कमिटीको अधिवेशन असोज १५ देखि तय भएपछि त्यति बेला स्थगित गरिएको थियो ।

अधिवेशनको मिति नजिकिएसँगै चुनावको माहोल बिस्तारै तातेको छ । अधिवेशनमा टिकट पाउन विद्यार्थी नेताहरू आफू नजिकका नेतालाई भेटेर रिझाउनेदेखि चुनाव जित्न विद्यार्थी भेट्नेसम्म गतिविधि बाक्लो बनेको छ । मिति नजिकिएसँगै अखिलको अधिवेशनमा पनि पार्टीको प्रदेश अधिवेशन जस्तै छुट्टाछुट्टै प्यानल बनाएर जाने सम्भावना बढेको गएको छ ।

हालसम्म हालका संयोजक तनहुँका रमाकान्त पोखरेल (आरके) र गोरखाका प्रबिन श्रेष्ठ अध्यक्षका बलिया दाबेदारका रूपमा देखिएका छन् । यीबाहेक हालका सहसंयोजक द्वय सुशन घिमिरे र सुरज सापकोटा, कास्कीका सञ्जय पौडेल वैरागी र स्याङ्जाका विश्वदर्शन पराजुलीको अध्यक्षमा चर्चा चलेको छ । केहीले दाबेदारी प्रस्तुत नै गरेका छन् भने केहीले पार्टी र समूहको निर्णय कुरिरहेका छन् ।

पार्टीको केन्द्रीय महाधिवेशनदेखि अखिलको केन्द्रीय महाधिवेशन र पार्टीको प्रदेश अधिवेशनमा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले अखिल गण्डकीको अधिवेशनमा पनि निर्वाचनबाटै नेतृत्व चुनिने सम्भावना धेरै छ । अर्कोतर्फ लोकतन्त्रमार्फत नेतृत्व चुन्ने भन्दै समूहहरू विभाजित भई आआफ्नो तयारी सुरु गरिसकेका छन् । गण्डकीमा पार्टीमा विशेष गरी पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह सक्रिय छन् । गत असोजमा भएको एमाले गण्डकी अधिवेशनमा पनि यी दुई समूहबिच प्रतिस्पर्धा भएको थियो ।

अखिल गण्डकीको अधिवेशनमा विद्यार्थीहरू पनि यी दुई समूहमा विभाजित हुने देखिएको छ । यी दुई समूहले भित्रभित्रै आआफ्नै प्यानल बनाउने खेल पनि खेलिरहेको कतिपय बताउँछन् । अधिवेशनमा आके र प्रबिनको नेतृत्वमा दुई प्यानल बनाएर जाने कसरत चलिरहेको छ ।

अध्यक्षमा चर्चा चलेका आरके एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ गण्डकी सरकारको अर्थमन्त्री हुँदा स्वकीय सचिव बनेका थिए । पार्टीको प्रदेश अधिवेशनमा किरणले खगराजलाई मौन समर्थन गरेपछि किरणसँग दूरी टाढिएका आरके पृथ्वीसुब्बा क्याम्पमै यथावत् छन् ।

अध्यक्षका दाबेदार प्रबिन अखिलको गत फागुनमा भएको महाधिवेशनमा स्थायी कमिटी सदस्यमा पराजित भएका थिए । पृथ्वीसुब्बा र खगराज दुवैसँग उत्तिकै नजिक रहेको प्रबिन यसपालि खगराज समूहबाट अध्यक्ष उम्मेदवार बन्ने सम्भावना अनेरास्ववियुका एक विद्यार्थी नेता बताउँछन् । अखिल गण्डकीको नेतृत्वमा सकेसम्म कास्कीकै वा पोखरा बस्ने व्यक्ति हुनुपर्नेमा दुवै समूहका कतिपय नेताको जोड छ ।

सञ्जय प्रतिनिधि सभा सदस्य दामोदर पौडेलका छोरा हुन् । दामोदर खगराजनिकट हुन् । बुवाले खगराजको पछि लागेर आफ्नो राजनीतिक भविष्य सकेको र आफूलाई पनि अखिलको गत अधिवेशनमा असहयोग गरेको भन्दै उनी खगराज समूहसँग असन्तुष्ट छन् ।

अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको आरकेले अधिवेशनका लागि मात्रै आफू अध्यक्ष नभएको बताए । ‘कि अधिवेशन गर्न मात्र नियुक्त गरेको भन्नुपर्‍यो । होइन भने म एक पटक अध्यक्ष भएर काम गर्न चाहन्छु । मैले दावाका साथ भन्छु । मैले जत्तिको संघीयतामा भिजेर काम गर्न सक्ने मान्छे छैन,’ उनले भने, ‘प्रदेशको कुन जिल्लामा समस्या के छन् भन्ने मलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘मैले संघीयता पनि राम्रोसँग बुझेको छु ।’

सर्वसम्मत नभएको खण्डमा अनेरास्ववियुका केन्द्रीय सचिव द्वय प्रकाश पौडेल र आशीर्वाद सुवेदीको भूमिका पनि महत्त्वपूर्ण हुनेछ । पौडेल पृथ्वीसुब्बा र आशीर्वाद खगराज समूहको अघोषित नेतृत्व गर्छन् । अधिवेशनमा कसलाई समर्थन गर्ने भन्नेबारे हालसम्म दुवैले मुख खोलेका छैनन् । ‘प्रकाश गण्डकीमा विद्यार्थीमाझ निकै लोकप्रिय छन् । उनको साथ कसलाई रहन्छ भन्नेले यो अधिवेशनमा निर्णायक अर्थ राख्छ,’ एक विद्यार्थी नेताले भने ।

ती नेताका अनुसार अहिले प्रबिनलाई सर्वसम्मतको कोसिस गरे पनि प्रकाशले अन्तिमसम्म उनलाई साथ नदिने सम्भावना छ ।

ती नेता भन्छन्, ‘प्रबिन प्रकाशको क्याम्पबाट केन्द्रीय महाधिवेशनमा स्थायी कमिटी लडेका थिए । पृथ्वीसुब्बा समूहको नभएकाले उनलाई अन्तिमसम्म साथ नदिने सम्भावना छ । दुई जनाबिच चुनाव हुने भयो भने प्रकाश मौन बस्न सक्छन् । पृथ्वीसुब्बा समूहकै भएकाले आरकेलाई छोड्दैनन् ।’

अध्यक्षमा चर्चा चलेका केही नेताहरू पदाधिकारीमा पनि उत्तिकै दाबी गरिरहेका छन् । आरके अध्यक्ष उम्मेदवार हुँदा उनको प्यानलबाट कास्कीका सुन्दर बराल ‘धड्कन’ उपाध्यक्ष र नवलपुरका सुरज सापकोटा सचिवको उम्मेदवार बन्नेछन् ।

प्रबिन अध्यक्ष उम्मेदवार बनेमा उनको प्यानलबाट स्याङ्जाका विश्वदर्शन पराजुलीलाई उपाध्यक्ष र कास्कीका सुशन घिमिरेलाई सचिवको उम्मेदवार बनाउने तयारी छ । सचिवमा हालका सहसंयोजक द्वय सापकोटा र घिमिरेबिच प्रतिस्पर्धा हुने प्राय निश्चित छ ।

अखिलको गण्डकी प्रदेश अधिवेशनमा करिब ३ सय जना प्रतिनिधि आउने अखिल गण्डकीका संयोजक रमाकान्त पोखरेल (आरके) ले जानकारी दिए । जिल्ला कमिटी, भूगोल कमिटी, क्याम्पस कमिटी, स्ववियु भएको क्याम्पसबाट प्रतिनिधि आउने व्यवस्था छ ।

अधिवेशनको उद्घाटन सत्र पोखराको पृथ्वीनारायण क्याम्पस र बन्द सत्रको टुंगो लागि नसकेको संयोजक पोखरेलले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर