नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानबारे देशव्यापी विचार गोष्ठी हुने – Nepal Press

नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानबारे देशव्यापी विचार गोष्ठी हुने

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दी वर्षका अवसरमा सात वटै प्रदेशमा विचार गोष्ठी गरिने भएको छ ।

पुष्पलालका विविध विषय र क्षेत्रमा रहेका विशिष्ट योगदानको स्मरण गर्ने हिसाबले देशव्यापी विचार गोष्ठी गर्न लागिएको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए । जसअनुसार लुम्बिनी प्रदेशमा मंसिर ३० गते विचार गोष्ठी हुने उनले बताए ।

पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्रलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । पहिलो पटक नेपाली समाजको वर्ग विश्लेषण गरेको, नेपालको इतिहासलाई मार्क्सवादी दृष्टिकोणले प्रस्तुत गर्ने कामको प्रारम्भ गरेर इतिहास लेखनको जग बसालेकाले उनको योगदानलाई उजागर गर्न विचार गोष्ठी आयोजना गर्न लागिएको घिमिरेले बताए ।

त्यस्तै पुष्पलालको जीवनसँग प्रत्यक्ष संलग्न भएर काम गरेका कार्यकर्ताहरुको संक्षिप्त परिचयात्मक विवरण, देशव्यापी रुपमा पुष्पलालका नामबाट स्थापित सम्पूर्ण भौतिक सम्पदाहरुको परिचय, पुष्पलालको जीवनमा प्रत्यक्ष संलग्न कार्यकर्ताहरुलाई सम्मान गर्ने, आगामी असार १५ गते मूल समारोहमार्फत् पुष्पलाल जन्म शताब्दी स्मृति ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘दर्शनका विषयमा पुष्पलालका योगदानहरु’ विषयक गोष्ठीको आयोजना नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले गर्नेछ भने विषय प्रस्तुति ‘पुष्पलाल जन्म शताब्दी समारोह आयोजक समिति’को हुनेछ ।

गोष्ठीमा पुष्पलाल जन्म शताब्दी समारोह आयोजक समितिका सदस्य तथा प्रकाशन समिति संयोजक गोपीरमण उपाध्यायले ‘दर्शनका विषयमा पुष्पलालका योगदानहरु” विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । सो कार्यपत्रमाथि वामपन्थी चिन्तक, लेखक तथा नेताहरु क्रमशः कमल श्रेष्ठ, एकराज पाण्डे, बसन्त श्रेष्ठ, दिल साहनी, ऋषिराम भुसाल, निर्मल जीसीले टिप्पणी गर्नेछन् ।

समितिले आयोजना गर्ने अन्य कार्यक्रमहरुमा पुष्पलाल जन्म शताब्दी स्मृति ग्रन्थ प्रकाशन, नेपालका सबै कम्युनिष्ट घटकहरुले पुष्पलालको सम्बन्धमा राखेका अवधारणहरु, देशभरिका विचार गोष्ठीहरुबाट प्राप्त कार्यपत्र, कार्यपत्रमाथिका पूरक विचार एवं गोष्ठीका विवरणहरु रहेका छन् ।

आगामी २०८१ मा पुष्पलालको जन्म शताब्दी वर्ष रहेको छ । बिहीबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रकाशन समितिका संयोजक गोपीरमण उपाध्यक्ष, सदस्य राधा ज्ञवाली, एमाले केन्द्रीय अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थी, एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेलगायतले आआफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर