एलपीएलः भुवन कार्की एक्लैले लिए ८ विकेट, धनगढी सेमिफाइनलमा – Nepal Press

एलपीएलः भुवन कार्की एक्लैले लिए ८ विकेट, धनगढी सेमिफाइनलमा

कैलाली । भुवन कार्कीले आठ विकेट लिएपछि धनगढी स्पोर्टस क्लब लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको धनगढी स्पोर्टस क्लबले खप्तड इन्डोर स्पोर्टस ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गरेको हो ।

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा धनगढी स्पोर्टस क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९.३ ओभरमा अलआउट हुनुअघि ९६ रनमात्र बनाउन सक्यो । खप्तड इन्डोरले ७९ रनको स्थितिसम्म केवल एक विकेट गुमाएको थियो । तर, त्यसपछि थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुगेको थियो ।

उक्त खेलमा प्लेयर अफ दी म्याच घोषित धनगढीका बलर भुवन कार्की एक्लैले ८ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल १८ रन खर्चिएका थिए । भुवनले १५औं ओभरमा तीन र १७औं ओभरमा चार विकेट लिएका थिए ।

भुवनले तीनपटक लगातार दुई–दुई विकेट लिए पनि ह्याट्रिक भने हात पार्न सकेनन् । उनले तीन ब्याट्सम्यानलाई बोल्ड र पाँच ब्याट्सम्यानलाई क्याच आउट बनाएका थिए । टोलीका अर्का स्पिनर सुनिल धमलाले दुई विकेट लिएका थिए ।

खप्तडका ब्याट्सम्यान अभिषेक थापाले सर्वाधिक ४२ रन बनाएका थिए । प्रकाश पाण्डेले ३० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । धनगढीका लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान गरे । उनले ५० बलमा दुई छक्का र ५ चौका प्रहार गरेका थिए ।

कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ र अमरसिंह रौटेलाले अविजित १२ रन योगदान गरे । धमलाले दोस्रो विकेटको लागि भुवनसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासँग ५४ रनको साझेदारी गरेका थिए ।

खप्तडका बलर रवि बिष्ट र आर्यन बिष्टले दुई-दुई तथा वीरेन्द्र बमले एक विकेट लिए ।

धनगढी स्पोर्टस् प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली हो ।

यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको दुइटै सेमिफाइनल खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनल बिहान ९ बजे धनगढी स्पोर्टस क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दोस्रो सेमिफाइनल दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टीकापुरबीच खेलिनेछ । प्रतियोगिताको फाइनल खेल भने शनिबार हुनेछ ।

लिटल फ्लावर स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर