हरिबोल भन्छन्- मैले उठाएको नीतिगत कुरालाई ओझेलमा पार्न राष्ट्रियसभाको चर्चा गर्दैछन् – Nepal Press

हरिबोल भन्छन्- मैले उठाएको नीतिगत कुरालाई ओझेलमा पार्न राष्ट्रियसभाको चर्चा गर्दैछन्

‘प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टिको कारणले राजीनामा दिएको होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको एक साता बितिसक्यो । उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए ।

तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको खबर बालुवाटारबाट आएको छैन । राजीनामा स्वीकृतको प्रतीक्षामा रहेका गजुरेलले राजीनामा दिनुको ठोस कारण अहिलेसम्म खुलाएका छैनन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेलल भन्छन्, ‘अब पुस ३ गतेलाई पदाधिकारी बैठक राखेको छ । मैले मेरो राजीनामाबारे कुरा त्यहीँ भन्छु । अहिलेसम्म राजीनामा स्वीकृत भएको खबर बालुवाटारबाट आएको छैन ।’

उनले प्रधानमन्त्रीसँगको असन्तुष्टिको कारणले राजीनामा नदिएको प्रष्ट पारे ।

गजुरेलले भने, ‘मैले नीतिगत कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

उनले सरकारले पहिला राम्रो काम गरेपनि पछिल्ला गतिविधिप्रति असन्तुष्ट भएको संकेत गरेको बताइएको छ ।

सचिवालयमा काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको चर्चा छ नी ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो होइन । काम गर्ने वातावरण थियो । अहिलेसम्म पनि गरेकै हो ।’

गजुरेलले सचिवालयबाट राजीनामा दिएर राष्ट्रियसभामा जान खोजेको माओवादी वृद्धमा चर्चा छ । त्यसबारे उनी भन्छन्, ‘मैले उठाएको नीतिगत विषयलाई विषयान्तर गर्न खोजेको हो । मैले उठाएको विषयलाई राष्ट्रियसभाको चर्चा गरेर ओझेल पार्न खोज्दैछन् ।’

उनले पार्टीभित्रै एकथरी मान्छेहरूले आफूले उठाएको विषय ओझेलमा परोस् भन्ने चाहेको टिप्पणी गरे ।’

नेता गजुरेलले थपे, ‘यो पनि अरुजस्तो लोभी हो स्वार्थको लागि हिँडेको हो भन्ने पार्न खोज्दैछन् । राष्ट्रियसभामा जानेबारे केही कुरा भएको छैन अहिलेसम्म ।’

राजीनामापछि प्रधानमन्त्रीसँग आफ्नो कुराकानी नभएको उनको भनाइ छ । उनलाई प्रधानमन्त्रीले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, प्रचण्डसँग नेता गजुरेलको चित्त दुखाई यो पहिलो पटक भने होइन ।

सिन्धुली २ मा राजन दाहाललाई टिकट दिएपछि उनी सन्तुष्ट थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो । त्यसबेला पनि गजुरेल ओलीतिर ढल्किएका थिए । तर, अन्तिम समयमा पार्टी नै अलग हुने परिस्थिति बनेपछि प्रचण्डको कित्तामा उभिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर