गंगा दाहाल र न्यायाधीशबाट काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा जाहेरी – Nepal Press

गंगा दाहाल र न्यायाधीशबाट काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । अदालतमा परेका मुद्दा र जग्गा विवाद मिलाइदिने भन्दै विभिन्न झगडीयासँग करोडौं रकम उठाएर काम नगरेपछि नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध पीडितले प्रहरी गुहारेका छन् ।

प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जनाएको छ । चौलागाईविरुद्ध पछिल्लोपटक घरजग्गा व्यवसायी सानुभाइ थापाले जाहेरी दिएका छन् ।

रामेछापमा कांग्रेस महासमिति सदस्य चुनावमा प्रत्यासी रहेका चौलागाईविरुद्ध ठगी र बैंकिङ कसूरका मुद्दा परेपछि उनी अहिले फरार छन् । उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । जिल्लाका प्रभावशाली नेता चौलागाईले केही वर्षयता चुनाव लड्ने तयारीसहित विभिन्न विद्यालयमा पैसा र मसललन्द समेत बाँड्ने गरेका थिए । तर, सो रकम अदालतबाट मुद्दा मिलाइदिने भनेर विभिन्न झगडियासँग लिने गरेको खुलेको छ ।

गोपाल पराजुली प्रधान न्यायाधीश हुने बेलासम्म ठूला मुद्दाहरू मिलाएर पैसा कमाएका चौलागाईको पछिल्लो समय अदालतमा चल्न छाडेपछि पैसा लिने तर काम नहुने भएकाले पीडितको संख्या थपिएको हो ।

अहिलेसम्म प्रहरी र पीडितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको हिसाब गर्दा उनले ३५ करोडभन्दा बढी रकम उठाएर नदिएको र कतिपयलाई दिएका चेक बाउन्स भएको पाइएको छ ।

केही ठूला व्यापारिक घरानाको समेत उनले अदालतमा मुद्दा मिलाइदिने भनेर लिएको पैसा फिर्ता नभएको प्रहरीले जनाएको छ । ती घरानाका व्यक्तिको गोपनीयता राख्न प्रहरीले चाहेको छ । प्रहरी स्रोतकाअनुसार चौलागाईबाट कांग्रेस नेता तथा कोशी प्रदेशका सांसद अमृत अर्यालसमेत ८ करोड ठगिएका छन् । विष्णु बर्देवाको १ करोड र तरुण दलका केन्द्रीयसमेत समेत रहेका रामेछापकै कांग्रेस नेता सौरभ केसीको समेत डेढ करोड फसेको छ । उनले केसीलाई सीजीको डिलर मिलाइदिने भनेर रकम लिएका थिए । पार्टी नेताहरूको आग्रहमा उनीहरु भने अहिले प्रहरीमा गइसकेका छैनन् ।

चौलागाईले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका संचालकको मुद्दा मिलाउन ११ करोड लिए पनि काम नभएपछि अहिले ताकेता गरिरहेका छन् । उनले तीनजना उच्च सरकारी अधिकारीको समेत सर्बोच्चमा विचाराधीन मुद्दा जिताउने भनेर ९ करोड लिए पनि गोप्य राखेका छन् ।

घरजग्गा व्यवसायी सानुभाइ थापाले भने बाउन्स चेकसहित आफूले दिएको रकम उठाउन प्रहरी गुहारेका हुन् । थापाले ८० लाख चेक बाउन्सको उजुरी दर्ता गरे पनि थप ३ करोड १२ लाखको चेक बाउन्सको उजुरी भने प्रहरीले दर्ता गरिसकेको छैन ।

चौलागाईले चाँगुनारायणको जग्गाको मोही र तहलसिंह विवाद मिलाउने भनेर थापासँग ३ करोड ९२ लाख रुपैया लिएका थिए । प्रधानमन्त्रीपुत्री गंगा दाहालमार्फत मन्त्रिपरिषदबाट निर्णय गराउने भनेर उनले सो रकम लिएको थापाले बताएका छन् ।

थापाले भने, ‘गंगा दाहालले चेकमा पैसा लिन मान्दिनन् । क्यास दिनुपर्छ भनेर उनको ड्राइभर पठाएपछि मैले सो रकम दिएको हुँ । गंगा दाहालको नाममात्र लिएको हो कि पैसा दिएको हो मलाई थाहा छैन । तर, उसले काम नभएपछि मलाई ८० लाखको चेक दिएको त्यो क्यास भएन । अरु पैसा मैले उसलाई पटकपटक चेक काटेर दिएको प्रमाण छन् ।’

चौलागाईबाट धेरै रकम ठगिएकाहरूमा हाइ प्रोफाइल र सार्वजनिक ओहोदाका व्यक्तिहरु नै भएकाले उनीहरु मुद्दा मामिला गर्नबाट हच्किएका र पैसा फिर्ता लिने उपायको खोजीमा आफूहरुको सहयोग माग्न आइरहेको प्रहरी अधिकारीले बताए ।


प्रतिक्रिया

2 thoughts on “गंगा दाहाल र न्यायाधीशबाट काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा जाहेरी

  1. काँग्रेस रहेछ । काँग्रेस हुन चाहिने योग्यतामध्ये एक त यस्ता काम पनि हुन क्यार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर