विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले ल्यायो बोर्ड अफ ट्रष्टीको अवधारणा (पूर्णपाठ) – Nepal Press

विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले ल्यायो बोर्ड अफ ट्रष्टीको अवधारणा (पूर्णपाठ)

काठमाडौं । विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न नेकपा एमाले निटक अनेरास्ववियुले बोर्ड अफ ट्रष्टीको अवधारणा अघि सारेको छ।अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालयमा राजनीतिक व्यक्तित्व नेतृत्व रहँदा राजनीतिकरणले ग्रस्त भएको भन्दै बोर्ड अफ ट्रष्टीको अवधारणा  ल्याइएको बताएका छन् ।

सरकार प्रमुखले विश्वविद्यालयको नेतृत्वको हुँदा कयौ रणनीतिक महत्वका निर्णयहरु हुन नसकेको अवधारणापत्रमा उल्लेख छ।

‘सरकार प्रमुख सदैव राजनैतिक व्यक्तित्व हुन्छ तसर्थ, राजनैतिक व्यक्तित्व विश्वविद्यालयहरुको नेतृत्व रहने हुँदा विश्वविद्यालयहरु राजनीतिकरणले ग्रस्त छन् । विश्वविद्यालयका पदाधिकारीहरु राजनैतिक रुपमा नियुक्त हुन्छन्, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनैतिक रुपमा विभक्त छन् र उनीहरुको राजनैतिक पक्षधरताको आधारमा नै कार्यसम्पादन मुल्याङ्कन हुने अवस्थाको सृजना भएको छ’ अवधारणा पत्रमा उल्लेख छ।

पार्टीको कार्यकर्ता विश्विद्यालयको नेतृत्वमा रहने, पार्टीकै कार्यकर्ताहरु विभिन्न तह र तप्कामा नियुक्त गरिने र पार्टीको पक्षधरताको आधारमा सरुवा र बढुवा हुने प्रचलनले विश्वविद्यालयहरु ग्रस्त बनेको अनेरास्ववियुको निष्कर्ष छ।

विश्वविद्यालयमा सरकार प्रमुख मुल नेतृत्वमा रहने हुँदा नेपालजस्तो अस्थिर राजनितिले ग्रस्त मुलुकमा सरकार परिवर्तनसँगै विश्वविद्यालयको नेतृत्व पनि परिवर्तन हुने संक्रमण देखिएको उल्लेख छ।

अवधारणा पत्रमा भनिएको छ, ‘विश्वविद्यालयमा स्थिर संचालन रणनीतिको अभाव रहने, लहडको भरमा विश्विद्यालय संचालन हुने र राम्रो र नराम्रो परिणामको जस र उपजसको जिम्मेवार कोही नहुने अवस्थाको सिर्जना भएको छ। नेपालका विश्वविद्यालयहरुलाई विश्वस्तरका विश्वविद्यालयहरुसँग प्रतिस्पर्धी बनाउन तथा विश्वविद्यालयबाट दिक्षित विद्यार्थीहरुलाई उचित अवसरहरुको सिर्जना गर्न विश्वविद्यालयहरुमा अत्यन्त क्षमतावान र प्राज्ञिक नेतृत्वको आवश्यकता खड्किएको छ ।’

निष्पक्ष छनौट प्रक्रियाबाट क्षमता, योग्यता तथा अनुभवको आधारमा नियुक्त नेतृत्वले मात्र असान्दर्भिक बन्दै गएका र अस्तित्व रक्षाको अवस्थामा पुगेका विश्वविद्यालयको प्राण रक्षा गर्न सक्ने अनेरास्ववियुको बुझाइ छ।

‘मानार्थ व्यक्ति विश्वविद्यालयको मुल नेतृत्व हुने व्यवस्थाबाट विश्वविद्यालयको मुल नेतृत्व बोर्ड आफ ट्रष्टिले निष्पक्ष आधारमा क्षमतावान व्यक्ति छनौट गर्ने व्यवस्था स्थापित गर्न सवै पक्षबाट सरकारलाई दबाब सर्जना गर्नु पर्ने देखिन्छ’ अवधारणा पत्रमा भनिएको छ। अनेरास्ववियुले सुरु गरेको बोर्ड आफ ट्रष्टि मार्फत विश्वविद्यालय संचालन गर्ने संघर्षमा साथ दिन आह्वान समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर