अन्तिम खेलमा बराबरीमा रोकिएको पीएसजीको संकट हेड टु हेडबाट टर्‍यो – Nepal Press

अन्तिम खेलमा बराबरीमा रोकिएको पीएसजीको संकट हेड टु हेडबाट टर्‍यो

काठमाडौं । फ्रान्सको घरेलु लिग विजेता पेरिस सेन्ट जर्मन-पीएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुगेको छ ।

समूहगत चरणको अन्तिम खेलमा बुधवार राती बोरुस्सिया डर्टमुन्डसँग १-१ गोलको बराबरीमा रोकिएको पीएसजी समान अंक भएको एसि मिलानलाई हेड टु हेडमा पछि पार्दै अन्तिम १६ मा पुगेको हो ।

समूह एफमा पीएसजी ६ खेलबाट ८ अंक जोडेर उपविजेता बन्यो । ८ अंक नै भएको एसि मिलान तेस्रो स्थानमा रह्यो। ११ अंक भएको डर्टमुन्ड समूह विजेता बन्दै नकआउट चरण पुगेको छ ।

समूहमा पीएसजीले एसी मिलानसँग २-१ गोलको हार र ३-० गोलको जित हात पारेको थियो । डर्टमुन्डको मैदानमा भएको खेलमा पीएसजीले ५६ औँ मिनेटमा खेल बराबरीमा ल्याएको थियो । त्यसको ५ मिनेट अघि मात्र घरेलु टोलीले अग्रता लिएको थियो ।

प्रतियोगितामा बायर्न म्युनिख र एफसी कोपेनहेगन, आर्सनल र पीएसभी, रियल म्याड्रिड र नापोली, रियल सोसिडाड र इन्टर मिलान, एट्लेटिको म्याड्रिड र लाजियो, म्यानचेस्टर सिटी र आरबी लेइपजिग तथा बार्सिलोना र एफसी पोर्टो पनि आ-आफ्नो समूहको विजेता र उपविजेता बनेर नकआउट चरणमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर