रोकिएन सुन तस्करी- नियन्त्रण गर्न सरकारले काम गरिरहेको अर्थमन्त्रीको दाबी – Nepal Press

रोकिएन सुन तस्करी- नियन्त्रण गर्न सरकारले काम गरिरहेको अर्थमन्त्रीको दाबी

काठमाडौं । नेपाल पछिल्लो समय सुन तस्करीको हब नै बनेको छ । ठूलो परिमाणमा भन्सार र भन्सार पास भएपछि सुन पक्राउ परिरहेको छ ।

सरकारलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेपछि टाउको दुःखाइको विषय बनेको छ । अहिलेसम्मकै ठूलो परिमाणमा एकै पटक ६० केजीभन्दा धेरै सुन तस्करी भएर आएको थियो । भन्सारले पनि पहिलो पटक १४ केजी सुन पक्राउ गरेको थियो ।

अर्थ मन्त्रालयमा देशको आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ पत्रकारहरुले अर्थ मन्त्रालयले कडाइ नगरेको कारणले सुन तस्करी बढेको हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा अर्थमन्त्री महतले सुन तस्करी रोक्न सरकारले कदम चालेको बताए ।

उनले भने, ‘सुन तस्करी रोक्न सरकारले काम गरिरहेको छ । हामीले सुन तस्करी भएर आउने देशमै नेपालको कानून यस्तो छ, कानूनले तोकेकोमात्रै सुन लैजान पाइन्छ भन्ने जानकारी गराएका छौं । विदेशबाट नेपाल आउने यात्रुले स्वघोषणा गर्ने व्यवस्था गरेका छौं ।’

दुबई र कतारबाट धेरै सुन तस्करी भएर नेपाल आएको अर्थमन्त्री महतले जानकारी दिए । ‘अब ती देशसँग पनि कुरा हुन्छ । सुन तस्करी भएर आउने जहाजहरुसँग पनि कुरा गरेका छौं’, उनले भने, ‘फेरि पनि सुन तस्करी भएर आयो भने ती जहाजहरुलाई पनि कारबाही गर्नेबारे छलफल भइसेको छ ।’

मंसिर १९ गते न्युरोडबाट ७ केजी सुन प्रहरीले पक्राउ गरेको थियो । पसलमा बरामद भएको सुनको बिल देखाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । मंसिर २१ गते दुई ठाउँबाट गरी १६ किलो सुन नियन्त्रणमा लिइएको थियो । भन्सारले सोही दिन १४ केजी सुन नियन्त्रणमा लियो । सो सुन गोरखाका चन्द्र घलेले दुबईबाड तस्करी गरेर ल्याएका थिए ।

भन्सारले पहिले नै सूचना भएर घलेको रेकी गरेर १४ केजी सुन नियन्त्रण गरेको थियो । भन्सारले अहिलेसम्मको सबैभन्दा ठूलो परिमाणमा सो सुन बरामद गरेको हो । मंसिर २१ गते नै रसुवा नाका भएर आएको गाडीबाट नागढुङ्गामा प्रहरीले अवैध २ केजी सुन पक्राउ गरेको थियो ।

त्यस्तै मंसिर २३ गते भन्सारबाट पास भएर त्रिभुवन विमानस्थलको प्रहरीले साढे ६ केजी सुन पक्राउ गरेको थियो ।

नेपालमा सबैभन्दा ठूलो परिमाणमा भने गत साउन २ गते राजस्व अनुसन्धानले ६१ केजी सुन पक्राउ गरेको थियो । सो सुन चीनबाट ब्रेक शुमा हालेर ल्याइएको थियो । भन्सार पास भएको उक्त सुन सिनामंगलबाट नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर