काठमाडौंमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी – Nepal Press

काठमाडौंमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी

यातायात प्रणाली सुधार गर्न ट्राफिक प्रहरी कार्यालयसँग अन्तरक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ ।

यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।

२९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरी बीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए ।

अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौँ । अधिकारीको भनाइ थियो । काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ ।

अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरु आधिकारिक निकायले मात्र राख्नु पर्ने, अध्ययन गरेर मात्र राख्नु पर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो ।

‘यस्ता चिन्हरु देखिने हुनुपर्छ । स्पष्ट हुनुपर्छ । बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ ।’ श्रेष्ठले भने, प्रणाली सुधार गर्न धेरै काम गर्नु पर्नेछ । यस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट््याएर काम भइरहेको छ ।’

अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरुले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर