‘मायाका रंगहरु’ मा अभिनेता पल शाह अनुबन्धित – Nepal Press

‘मायाका रंगहरु’ मा अभिनेता पल शाह अनुबन्धित

काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय फिल्म ‘मायाका रंगहरु कलर्स अफ लभ’को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भूमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् ।

यो इन्डो-नेपाली सिनेमाको छायांकन पल शाहले ‘पुजार सार्की’ सकेपछि भारतको सिक्किमबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डीओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन प्रवर्द्धनको लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने यो सिनेमामा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टीमको छ ।

नेपाली र हिन्दीमा छायांकन गरिने सिनेमामा पल शाहबाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टीमले जानकारी दिएको छ । यो सिनेमाले नेपाल र भारतको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर