मधेस सरकारका प्रतिनिधि बालुवाटारमा- अल्टिमेटम सकिएको भन्दै दिए संघर्ष थाल्ने चेतावनी – Nepal Press

मधेस सरकारका प्रतिनिधि बालुवाटारमा- अल्टिमेटम सकिएको भन्दै दिए संघर्ष थाल्ने चेतावनी

प्रधानमन्त्रीको जवाफ- संघीयताको जन्मदाता माओवादी भएकाले कानून निर्माणमा गम्भीरतापूर्वक लागेका छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानूनहरू निर्माणको विषयमा छलफल भएको हो ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टीमले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

भेटमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई दिएको अल्टिमेटम पूरा भएको भन्दै आफूहरू संघर्षमा जाने चेतावनी दिए । जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानूनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए ।

उनले भने, ‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । संघीयताको पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईँहरूले देख्नुभएकै छ । अहिले पनि संघीय कानूनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु । तपाईँहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ । तपाईँहरूले आ-आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाऊँ ।’

सरकारले संघीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको बताउँदै अन्तिम फैसला संसदले गर्नुपर्ने बताए । छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर